काठमाण्डौंः नेकपा विप्लवका प्रभावशाली नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन् । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच बुधबार र बिहिबार वार्ता भएर ३ बुँदे सहमति भएपछि सो पार्टीका नेता कार्यकर्ता रिहा हुन थालेका छन् ।
संगठित अपराध, आगजनी लगायतका मुद्दामा ११ दिन देखि सर्वोच्च अदालतबाट रिहा भएलगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला पनि शुक्रबार बिहान रिहा भएका छन् । परिवारका सदस्य, पार्टीका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । प्रहरीले सुरक्षासहित उनलाई काठमाडौं पठाएको छ ।
नेता बास्तोलाले राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताए । उनले कम्युनिस्ट पार्टीहरुबीच एकताको सम्भावना पनि भएको बताए । सर्वदलीय सरकारको कुरा उठेको छ नि भन्ने प्रश्नमा उनले सचिवालय बैठक बसेर यसबारे निर्णय गर्ने बताए ।
सरकारसँग भएको सहमतिपछि नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटिसकेको छ । विभिन्न कारागार र हिरासतमा रहेका नेकपाका कार्यकर्ता रिहा गर्ने र मुद्दा खारेजी गर्ने पनि सहमतिमा उल्लेख छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया