असार २३, २०८२ सोमबार July 7, 2025

विप्लव नेता माइला लामासहित १० जना खाँदबारी कारागारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको भए पनि विप्लवका नेता कार्यकर्ता छुटेका छैनन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा एक बर्ष देखि जिल्ला कारागार खाँदबारीमा छन् । अदालतको आदेश नआउदाँ विप्लवका केन्द्रिय नेता लामा सहित १० कार्यकर्ता खाँदबारी कारागारमै छन् ।

विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफुकहाँ नआएको खाँदबारी कारगारका प्रमुख विनोद अधिकारीले बताए । प्रमुख अधिकारले भने ‘उहाँलाई छोड्न कतैबाट आदेश आएको छैन, चैनपुर जिल्ला अदालतले पनि कुनै आदेश गरेको छैन ।’ कतैबाट निर्देशन नआएको हुनाले अहिले छोड्ने प्रक्रिया अगाडि नबढाएको उनले बताए ।

खाँदबारी कारागारमा विप्लवका केन्द्रिय सदस्य लामा,संखुवासभा जिल्ला इन्चार्ज देव गुरुङ सहित १० नेता कार्यकर्ता रहेको कारागार प्रमुख अधिकारीले जानकारी दिए । चन्द नेतृत्वको नेकपा र नेपाल सरकारबीच वार्ता सफल भएपछि नेकपाका कार्यकर्ता छाड्न गृहको परिपत्र गरेको जनाएको थियो । विप्लवका केन्द्रिय नेता लामा २०७६ साउन ५ गते काठमाण्डौंबाट पक्राउ परेका थिए । विप्लवका नेता लामालाई विभिन्न जिल्ला हुुदै संखुवासभा ल्याइएको थियो । जिल्ला अदालत चैनपुरले संगठित रुपमा हातहतियार ओसारपसार,संचय तथा प्रयोग मुद्दामा २५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । २५ हजार धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत चैनपुर ०७६ फागुन ७ गते कारागार चलान गरेको हो ।

लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत थिए । तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए । माओवादी जनयुद्धको क्रममा उनका हातका केही औंलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ । उनले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन् । उनले संगीत दिएका धेरै गीतहरुमध्ये नेत्रविक्रम चन्द (विप्लव)को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित मानिन्छ । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया