काठमाडौंः विश्व मिर्गाैला दिवस अवसरमा मृर्गौला प्रत्यारोपित तथा अङ्गदाता र चिकित्सकबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको छ ।
स्वास्थ्य अभियान नेपालको आयोजनामा ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको मैदानमा ‘मिर्गाैला रोग लागे पनि राम्ररी जिउँ’ भन्ने नाराका साथ भएको प्रतियोगितामा प्रत्यारोपित टोलीले अङ्गदाता टोलीलाई ४–१ गोलले हरायो ।
मिर्गौला प्रत्यारोपित झमकबहादुर श्रेष्ठलाई ट्रफी तथा उत्कृष्ट फुटबलर घोषित र विशेष आचार्यलाई नगद पुरस्कार प्रदान गरियो । मिर्गौला प्रत्यारोपित आचार्यले ह्याट्रिक गरेका थिए ।
उक्त कार्यक्रममा नेपालमा पहिलो पटक ११ वर्षअघि दोस्रो मिर्गौला प्रत्यारोपण गरेका धर्मराज पौडेल, पहिलो कलेजो प्रत्यारोपण गर्ने बलराम नागा, दुई परिवारबीच साटासाट गरी मिर्गौला प्रत्यारोपण गर्ने खेमराज निरौला र विष्णुबाबु श्रेष्ठ, अङ्गदानबाट मिर्गौला प्रत्यारोपण गर्ने मिलन श्रेष्ठ र गोविन्द तिमिल्सिना, उहाँहरुका अङ्गदाता र परिवारलाई विशेष सम्मान गरिएको प्रत्यारोपणविद् डा पुकार चन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले मिर्गौला प्रत्यारोपण गरेका पनि अन्य मानिस जस्तै स्वच्छ हुन्छन् र भेदभाव गर्न नहुने भन्ने सन्देश दिनका लागि प्रतियोगिता गरिएको जानकारी दिए । प्रत्यारोपणविद् डा श्रेष्ठले प्रत्यारोपित र अङ्गदाताको मनोबल उच्च राखी देशका सातवटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्नुपर्ने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया