काठमाडौंः चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले अवैध रूपमा अघि बढाइएको निजी मेडिकल कलेजलाई दिने सम्बन्धनको प्रक्रिया तत्काल नरोके अनसन बस्ने घोषणा गरेका छन्।
एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री तथा शिक्षामन्त्रीले चालेको कदम अवैध भएको भन्दै डाक्टर केसीले उक्त कदम नरोके आफू फेरि अनसन बस्ने चेतावनी दिएका हुन्।
‘चिकित्सा शिक्षा ऐन जारी भएर सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षा आयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध हो’, बिहीबार उनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ,‘प्रधानमन्त्री र शिक्षामन्त्रीले पछिल्लो समय जसरी पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा मात्र सम्बन्धन बाँड्ने प्रयास गरेका छन्, त्यसबाट उनीहरूले नैतिकता र इमान बेचिसकेको पुष्टि हुन्छ।’ उनले भनेका छन्,‘विश्वविद्यालयको उपकुलपति बनेर विश्वविद्यालयलाई नै अनियमितता र भ्रष्टाचारका अखडा बनाउने केयुका उपकुलपतिले तत्काल राजीनामा दिनुपर्छ। यी मागहरु पूरा नभएमा सत्याग्रहसहित आन्दोलनका कार्यक्रम सुरू गर्ने जानकारी गराउन चाहन्छौं।’
प्रतिक्रिया