बैसाख २२, २०८३ मंगलबार May 5, 2026

सत्ताको उन्मादमा कानुन र विधान मिचेर कारबाही गर्छु भन्नुको कुनै अर्थ छैन ।- भीम रावल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

केन्द्रीय कमिटी बैठकमार्फत पार्टी अध्यक्ष केपी ओलीलाई थप अधिकार दिइएको छ, यसमा तपाईंहरूको प्रतिक्रिया के छ ?

नेकपा एमालेको विधान मिचेर केपी ओलीले केहीलाई केन्द्रीय समितिमा राख्ने, केही व्यक्तिको जिम्मेवारी थप्ने र केही व्यक्तिको जिम्मेवारी खोस्ने जुन निर्णय गर्नुभयो, त्यो स्वेच्छाचारी छ । अवैध व्यक्तिलाई राखेर निर्णय गर्नुभएको छ, त्यो पनि स्वेच्छाचारी हो । नवौँ राष्ट्रिय महाधिवेशनले ७० वर्ष उमेर पुगेका व्यक्तिले अवकाश लिने भनेर निर्णय गरेको थियो । तर, उहाँले त्यो हटाएर केही समयअघि आफैँ युवालाई जिम्मेवारी दिन्छु भनेको कति नक्कली रहेछ भन्ने स्पष्ट भएको छ । उहाँले केन्द्रीय कमिटीको कथित बैठकबाट सम्पूर्ण अधिकार आफ्नो हातमा लिनुभएको छ । यसले उहाँ कति निरंकुश र कति स्वेच्छाचारी बन्न चाहनुहुन्छ भन्ने छर्लंग भएको छ । लोकतन्त्रमा यस्तो हर्कत निन्दनीय हुन्छ ।

गुटबन्दी गर्नुभयो भनेर तपाईंहरूमाथि स्पष्टीकरण सोध्ने निर्णय भएको छ, के जवाफ दिनुहुन्छ ?

राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रणा गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्दै प्रतिगमनको षड्यन्त्र गर्ने केपी ओलीजीले अवैध कमिटीको कथित बैठकबाट मसमेत नवौँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीका नेतालाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ । त्यस्तो निर्णयलाई म पूर्णतः अस्वीकार गर्दछु ।

आमनिर्वाचनमा जारी प्रतिबद्धताको कार्यान्वयन गर्नुको साटो राष्ट्रहितविपरीतका काम गर्ने, आफैँ हस्ताक्षर गरी कायम गरेको पार्टी एकता आफैँ फुटाउने, संविधान मिचेर प्रतिनिधिसभा विघटन गरी जनादेशको अपमान गर्दै प्रतिगमनकारी काम गर्ने, सर्वोच्च आदालतको फैसलाको अवज्ञा गरी नेकपा एमालेको विधान उल्लंघन गर्दै मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा ओलीजीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्छ । उहाँको शैलीले देशको स्वाभिमान र लोकतन्त्रलाई खतरामा पार्दै आएको छ । यसमा सबै देशभक्त लोकतान्त्रिक जनताले सचेत हुन जरुरी छ । थप त उहाँले के लेखेर पठाउनुहुन्छ त्यसमा भर पर्छ ।

स्पष्टीकरणमार्फत तपाईंहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाउन खोजेकोजस्तो पनि देखिन्छ, कारबाही भयो भने के हुन्छ ?

राजनीति जनताका लागि स्वेच्छाले गर्ने विषय हो । सत्ताको उन्मादमा कानुन र विधान मिचेर कारबाही गर्छु भन्नुको कुनै अर्थ छैन । देश र जनताप्रति कटिबद्ध र पार्टी सिद्धान्तनिष्ठ क्रियाशील होस् भन्ने मान्यता राख्ने व्यक्तिलाई यस्ता निर्णयले केही पनि फरक पर्दैन ।

अब तपाईंहरू कसरी अघि बढ्नुहुन्छ ?

सबभन्दा पहिले त नेकपा एमालेलाई विभाजन गर्नखोज्ने देशीविदेशी प्रतिक्रियावादीको षड्यन्त्रलाई केपी ओलीजीका कामले बल पु¥याइरहेका छन् । त्यसप्रति पार्टी कार्यकर्ता, आम जनता र स्वयं केपी गुटबाट कस्तो कदम चालिन्छ, त्यो सबै हेरेर भविष्यमा के गर्ने भन्ने तय हुन्छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया