काठमाडौंः सरकार र थारु कल्याणकारी सभाबीच आज पनि वार्ता हुँदैछ । चैत १७ गते भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि आज दोस्रो चरणको वार्ता हुन लागेको हो ।
सरकारी वार्ता टोलीकी सदस्य भगवती चौधरीका अनुसार मंगलबारकै वार्ताको निरन्तरता स्वरुप आज पनि छलफल हुन लागेको हो । दिउँसो १ बजे वार्ता बस्ने तय भएपनि अलि ढिलो हुन सक्नेछ । पहिलो चरणको वार्ता सौहार्दपूर्ण र सकारात्मक रहेको सरकारी वार्ता टोलीले जनाएको थियो ।
थारु कल्याणकारिणी सभा, थारुवान-थरुहट संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा सरकारले चैत १६ गते तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद तथा एमाले नेतृ भगवती चौधरी रहेकी छन् ।
थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया