काठमाडौंः प्रेस चौतारी नेपालले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ ।
चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बिहिबार बसेको सचिवालय बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा अवाञ्छित र अनाधिकृत रुपमा अन्य पक्षसँग मिलेर सङ्गठनका मूलधारका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको जनाउँदै कारवाही गरेको हो ।
बैठकले वाग्मती प्रदेशका उपाध्यक्ष सुवेदी, सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष नरेन्द्र साउद र महासचिव राजेश राईलाई साधारण सदस्यता कायम रहने गरी पदमुक्त गरेको अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकले उपमहासचिव हीरामान लामालाई विधानबमोजिम कार्यवाहक महासचिवको जिम्मेवारी दिएको तथा आजको बैठकमा अनुपस्थित उपमहासचिव रामकुमार एलन, सचिव अमृतनाथ तिमिल्सना र सुरोजङ्ग पाण्डेलाई यही वैशाख ३ गतेको सचिवालयको बैठकमा अनिवार्यरुपमा उपस्थित हुन निर्देशन गरेको छ ।
यस्तै जिल्लास्तरमा गरिनुपर्ने कारवाही र सङ्गठन विस्तारका लागि सम्बन्धित प्रदेश समितिलाई अख्तियारी दिएको छ ।
यस्तो छ विज्ञप्तीको पूर्णपाठः
प्रेस बिज्ञप्ति
२०७८ बैशाख २ गते
हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपाल केन्द्रीय सचिवालयको बैठक आज मिति २०७८ साल बैशाख २ गते अध्यक्ष गणेश बस्नेतको अध्यक्षता र इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा काठमाडौंमा बस्यो । बैठकमा २०७७ चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको विषयमा गम्भीर समीक्षा गर्दै केही ठोश निर्णय लिएको छ । पत्रकार महासंघको निर्वाचनमा संगठनको निर्णयको पक्षमा दृढतापूर्वक उभिने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिँदै केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, एशोशियट र प्रतिष्ठानमा निर्वाचित प्रेस चौतारी नेपालका उम्मेदवारसहित महासंघमा निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई दिएको छ ।
बैठकले संगठनको हित र बिधानबिपरीत अनाधिकृत रुपमा गुटगत भेला तथा अन्य संगठनसँग साँठगाँठ गर्दै संगठनको अनुमतिबिना अनाधिकृत रुपमा हस्ताक्षर गर्ने, संगठनको बिधानबिपरित काम गर्ने र संगठनलाई कमजोर बनाउने गरी बिपक्षी संगठनसँग मिलेर अराजकतापुर्ण गतिविधि गरेको प्रमाणका आधारमा प्रेस चौतारी नेपालको विधान बमोजिम बागमती प्रदेश उपाध्यक्ष विश्वमणि सुवेदी, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष नरेन्द्र साउद र महासचिव राजेश राईलाई संगठनको साधारण सदस्य कायम रहने गरी पदबाट निष्काशन गरेको छ । यसैगरी आजको बैठकमा अनुपस्थित भएका उपमहासचिव रामकुमार एलन, सचिवद्वय शुरोजंग पाण्डे र अमृतनाथ तिमल्सिनालाई भोलि २०७८ बैशाख ३ गते बस्ने सचिवालयको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । बैठकले प्रेस चौतारी नेपालका नाममा थप अबाञ्छित गतिविधि नगर्न–नगराउन र संगठनको मुलधारमा रहिरहन निर्देश गर्नुका साथै आत्मसमीक्षा र आत्मालोचनासहित संगठनमा दृढतापूर्वक उभिन नेपाल पत्रकार महासंघमा निर्वाचित सवै पदाधिकारी, सदस्यसहित प्रेस चौतारी नेपालका सबै सदस्यहरुलाई अपिल गरेको छ । साथै, संगठनविरोधी गतिविधिमा संलग्न हुने सदस्यहरुलाई विधानले ब्यवस्था गरेबमोजिम आवश्यक कारबाही गर्न प्रदेश समितिलाई अख्तियारी प्रदान गरेको छ । साथै बैठकले प्रेस चौतारी नेपालको नाममा समानान्तर गतिबिधि क्षम्य नहुने निश्कर्षसहित त्यस्तो अराजकतापुर्ण काम नगर्न निर्देशित गरेको छ ।
बैठकले २०७७ पुस ५ गतेपछि निर्माण गरिएका सबै सांगठानिक संरचनालाई प्रेस चौतारी नेपालमा रुपान्तरण गर्ने निर्णय गरेको छ । साथै, संकटको बेला संगठनमा दृढतापूर्वक उभिनुभएका साबिक प्रेस संगठन नेपालका केन्द्रीय सदस्यहरुलाई प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य र आयोग सदस्यका रुपमा कायम गरिएको छ । यसैगरी बैठकले प्रेस चौतारी नेपाल को कार्यबहाक महासचिवको जिम्मेवारी उपमहासचिव हिरामान लामालाई प्रदान गरेको छ ।
साथै, बैठकले प्रेस चौतारी नेपाल, कपिलवस्तु शाखाका पूर्वअध्यक्ष नन्दराम पौडेलको २०७७ चैत ३१ गते मोटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएकोमा दुःख व्यक्त गर्दै हार्दिक श्रद्वाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
हार्दिक अभिवादनसहित !
गणेश बस्नेत
अध्यक्ष
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया