काठमाण्डौंः १२औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । झापाको भद्रपुरस्थित मेची रंगशालामा बैशाख ३, ४ र ५ गते हुने प्रतियोगितामा विभिन्न ६ वटा विधाका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समितिका कार्यालय प्रमुख टहलदाश मैनालीले जानकारी दिए ।
राखेपले प्रत्येक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका मावि तहसम्म अध्ययन गर्ने १८ वर्षमुनीका विद्यार्थीहरुले मात्र भाग लिन पाउने छन् ।
स्थानीय तहस्तरीय छनौट प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने खेलाडी र टिमले जिल्लास्तरीय प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेलमा प्रतिष्पर्धा गर्नेछन् । झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाबाट छानिएर आएका खेलाडीले जिल्लाको छनोट प्रतियोगितामा भाग लिन पाउनेछन् ।
एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ विधाका प्रतिस्पर्धाबाट ७६ जना खेलाडी छनोट हुनेछन् । ६ वटै विधामा छात्र र छात्राको अलगअलग सहभागिता र प्रतिस्पर्धा रहनेछ । छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोटमा भाग लिन पाउने मैनाली जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा १३ इभेन्टस्, कराते, तेक्वान्दो र उसुमा चारचार इभेन्टस् हुनेछन् । जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडीले यही बैशाख १० र ११ गते प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने छन् । प्रदेशमा छानिएको खेलाडीले बैशाख २९ गतेबाट हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्नेछ ।
झापामा जिल्लास्तरीय छनोटमा खेलाडी, प्रशिक्षक र अफिसियल गरेर झन्डै एक हजार पाँच सयजना सहभागी रहने छन् । प्राविधिक, निर्णायक र रेफ्री मात्र १५० जना हुने समितिले जनाएको छ ।
झापामा एथ्लेटिक्सबाट ११-११ जना छात्रछात्रा, कबड्डी र भलिबलबाट ९÷९ जना छात्रछात्रा तथा कराते, तेक्वान्दो र उसुबाट ३-३ जना छात्रछात्रा गरी ७६ जना खेलाडी छनोट हुनेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया