असोज १२, २०८३ सोमबार September 28, 2026

दुर्गममा सेवा पुर्‍याउँदै टेलिकम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उक्तिलेसमेत चिनिने म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा पुगेको छ ।

सदरमुकाम बेनीदेखि २६ कोष पश्चिममा अवस्थित सो गाउँमा पुरानो भिस्याट प्रविधि प्रतिस्थापन गरी बिहीबारदेखि रेडियो लिङ्कमार्फत थ्रिजी सेवा शुरु गरिएको हो । यसअघि भिस्याटबाट चल्ने टुजी सेवा प्रभावहीन थियो । मोबाइलको भ्वाइस सेवा पनि स्तरीय थिएन । धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँका बासिन्दा भरपर्दो सञ्चार सेवाबाट वञ्चित थिए । नेपाल टेलिकमले रेडियो लिङ्क जडान गरेसँगै मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा पुगेको हो ।

पहिलोपटक इन्टरनेट चलाउन प्रयोग हुने थ्रिजी सेवा सञ्चालनमा आएपछि गुर्जावासी खुशी छन् । विसं २०७१ मा भिस्याट प्रविधिमार्फत मोबाइल सेवा पुगे पनि त्यसको क्षमता सीमित थियो । घाम लाग्दा मात्र नेटवर्क आउने स्थिति थियो । अब त्यो समस्या सधैँका लागि अन्त्य भएको छ ।

वडा नं ४ को बगरामा टावर राखेर रेडियो लिङ्कमार्फत गुर्जामा थ्रिजी सेवा पुर्‍याइएको टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए। बगराको रिपिटरलाई मालिका गाउँपालिका–३ को रुम गाउँमा रहेको बिटियस टावरमा लिङ्क गरिएको उनको भनाइ छ । माइक्रोवेभ रेडियो लिङ्क जडानपछि गुर्जा र बगरा गाउँका ५५० घरधुरी लाभान्वित भएका छन् । धौलागिरि आधार शिविर, सिनकुस, दुर्कोट, दोभान, धौलागिरि पदमार्गलगायतका क्षेत्रमा नेटवर्कको पहुँच विस्तार भएको छ । धौलागिरि पदमार्ग भएर आहोरदोहोर गर्ने पर्यटकले समेत सहजरुपमा इन्टरनेट सेवा पाउनेछन् ।

सेवा विस्तारको काममा गाउँपालिका र स्थानीयवासीले ठूलो सहयोग गरेको वरिष्ठ इञ्जिनीयर शर्माले बताए । टेलिकमका प्राविधिक विकट भूगोल र प्रतिकूल मौसमका बाबजुद एक हप्तासम्म गुर्जा र बगरामा खटिएका थिए । धौलागिरि गाउँपालिकाले पोल खरिद र ढुवानीका लागि रु डेढ लाख सहयोग गरेको थियो । गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले मोबाइल र तीव्र गतिको इन्टरनेट सेवाले दुर्गम गुर्जावासीको दैनिकी सहज बन्ने बताए । गाउँपालिकाभर गुणस्तरीय सञ्चार सेवा विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । वडाध्यक्ष झकबहादुर छन्त्यालले मोबाइलमा इन्टरनेट चलाउन पाउँदा गाउँले दङ्ग परेको बताए ।

“भिस्याट हुँदा मोबाइलले राम्रोसँग काम गर्दैनथ्यो, सीमित व्यक्तिमात्र कुराकानी गर्न मिल्थ्यो”, उनले भने, “अहिले सबैतिर सजिलै फोन लाग्छ, थ्रिजी सेवाले इन्टरनेट सेवा पनि भरपर्दो भएको छ ।” टेलिकमले पुरानो भिस्याट प्रविधिमार्फत मोबाइल सेवा सञ्चालनमा रहेका दुर्गम ठाउँमा माइक्रोवेभ रेडियो लिङ्क विस्तारलाई तीव्रता दिएको छ । जसका कारण मोबाइल प्रयोगकर्ताले ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा पाउन थालेका छन् । सेवा विस्तारसँगै भइरहेको सेवाको गुणस्तर बढाउने काममा टेलिकम केन्द्रित छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार