मंग्सिर २३, २०८१ आइतबार December 8, 2024

तीन बालबालिका मृत्यु प्रकरण : निष्कर्षमा नपुग्दै रोकियो अनुसन्धान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रहरीले बेवास्ता गरेपछि भोजपुरका तीन बालबालिका मृत्यु प्रकरणको अनुसन्धान रोकिएको छ । स्थानीय तह निर्वाचनताका पूर्वी अरुण गाउँपालिका-३ प्याउलीका १४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयालको ‘शंकास्पद’ मृत्यु भएको थियो । ०७४ असार १० को साँझ अचानक हराएका तीनै बालबालिकाको शव १२ गते मरेङडाँडास्थित स्थानीय तोरन कार्कीको माछापोखरीमा फेला परेको थियो ।

अनुसन्धानमा मुख्य जिम्मेवार जिल्ला प्रहरी कार्यालय भोजपुरले निचोडमै नपुगी ‘फाइल बन्द’ गरेको छ । पाँच महिनाअघि जिल्ला प्रहरी प्रमुख भएर आएका डीएसपी नरबहादुर सलामी मगरले त घटनाबारे अनुसन्धान नै अघि बढाएका छैनन् । ‘औपचारिक रूपमा फाइल खोलेर, अनुसन्धान टिम बनाएर अनुसन्धान गरिएको छैन, व्यक्तिगत रूपमा अनुसन्धान भइरहेकै छ,’ कान्तिपुरसित उनले भने ।

डीएसपी सलामी आउनुअघि नै तत्कालीन क्षेत्रीय अनुसन्धान ब्युरोले ‘डाइटम टेस्ट’का लागि प्रमाण नष्ट भइसकेको पत्राचार गरिसकेको पत्ता लागेको छ । भोजपुर प्रहरीलाई क्षेत्रीय अनुसन्धानबाट आएको पत्रमा लेखिएको छ, ‘भिसेरा टेस्टका प्रमाण तीन महिनापश्चात् स्वत: नष्ट हुने भएकाले डाइटम टेस्ट गर्न नसकिने ।’ घटना अनुसन्धान भइरहेका बेला शव पोस्टमार्टम गरिएको अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘डाइटम टेस्ट’ गर्ने प्रविधि नहुँदा अनुसन्धान जटिल बनेको बताएको थियो ।

प्रहरीको अनुसन्धान टोलीले उक्त टेस्ट गर्न भारतमा सम्भव हुने पत्ता लगाएपछि भोजपुर प्रहरीले क्षेत्रीय अनुसन्धान ब्युरोलाई पत्र पठाएको थियो । ‘पुरानो फाइल पल्टाएर हेर्दा र यताबाट क्षेत्रीय अनुसन्धान पत्र पुग्दा ‘डाइटम टेस्ट’ गर्ने अवधि सकिइसकेको रहेछ,’ सलामीले भने, ‘भिसेरा गर्न राखिएका प्रमाण तीन महिनामै स्वत: नष्ट हुने रहेछन्, उता (क्षेत्रीय अनुसन्धान) बाट टेस्ट गर्न नसकिने जवाफ आएको छ ।’

फरेन्सिक चिकित्साशास्त्रअनुसार सबै पोखरी, तलाउ, खोलाखोल्सी, कुलो, नहरको पानीमा डाइटम नामक तत्त्व पाइन्छ । कोही अचानक डुबे नाक र मुखबाट एकैचोटि फोक्सोमा पानी पुगी रक्तसञ्चार रोकिएर मृत्यु हुन सक्छ । यस क्रममा पोखरीको पानीको डाइटम मृतकको शरीरमा पुगेको हुन्छ । मृतकको शरीरमा सोही पोखरीको पानीमा पाइने डाइटम फेला नपरे उसको हत्या गरेर फालिएको सम्भावना बलियो हुन्छ ।

घटनालगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र तत्कालीन क्षेत्रीय अनुसन्धान ब्युरो विराटनगरको सहयोगमा अनुसन्धान गरिएको थियो । घटनाबारे जिप्रका भोजपुर र क्षेत्रीय अनुसन्धान ब्युरो विराटनगरले एकसाथ महिनादिनसम्म अनुसन्धान गरेका थिए । अनुसन्धान ढिलो र शंकास्पद बन्दै गएको स्थानीयको गुनासोपछि सीआईबीले घटनास्थलमै पुगेर एक सातासम्म अनुसन्धान गरेको थियो । अनुसन्धान अधिकृत दधिराम न्यौपानेको नेतृत्वमा खटिएको सीआईबी टोलीले अनुसन्धान गरेको थियो ।

शव पोस्टमार्टम गरिएको अस्पताल बीपी प्रतिष्ठानका विशेषज्ञले जाँच्दा प्रदीपको घाँटीमा खानेकुरा र सुष्मा एवं रञ्जीवको घाँटीमा चुइगम अड्किएको फेला पारेका थिए । चिकित्सकका अनुसार बालबालिकाको शरीरमा अन्य चोटपटक, दागधब्बा र विषादी थिएन । अनुसन्धानका कागजात, पोस्टमार्टम रिपोर्ट, भिसेरा, स्थानीयको बयान र प्राविधिक विश्लेषण हेर्दा कसैले कर्तव्य गरी मारेको नदेखिएको सीआईबीले बताएको थियो ।

सीआईबीमा डीआईजी पुष्कर कार्कीदेखि नारायणसिंह खड्कासम्म नेतृत्व फेरिँदा अनुसन्धान भइरहेको बताइएको थियो । मृतक बालबालिकाको शरीरमा पाइएको र पोखरीको पानीको डाइटम तुलनापछि मात्र मृत्युको सही तथ्य फेला पार्न सकिने बताइएको थियो ।

शव फेला परेलगत्तै राष्ट्रिय मानवअधिकार आयोगले घटनाबारे चासो लिँदै क्षेत्रीय कार्यालय खोटाङले स्थलगत अनुगमन गरेको थियो । आयोगले प्रहरीसँग जानकारी मागेको थियो । तर प्रहरीले जानकारी नदिएको आयोग सदस्य मोहना अन्सारी बताउँछिन् । ‘घटनामा प्रहरीका धेरै अनुसन्धान ब्युरो संलग्न छन्, तर हामीलाई अनुसन्धान केकसो भयो, जवाफै आएन,’ उनले भनिन् ।

लामो समयसम्म घटना अनुसन्धान बाहिर नआएपछि सांसद सुदन किरातीले संसद्मा सरकारको ध्यानाकर्षण गराएका थिए ।

फितलो अनुसन्धान

घटनापछि जिल्लामा चार डीएसपी फेरिए । अनुसन्धान प्रभावित बनाएको भन्दै घटना भएका बेला कार्यरत प्रजिअ गोमादेवी चेम्जोङ र डीएसपी काजीकुमार आचार्यलाई दुई महिनाभित्रै सरुवा गरियो । त्यसपछि आएका डीएसपीले कार्यभार सम्हालेकै दिन बालबालिका हत्या प्रकरणलाई पहिलो प्राथमिकतामा राखेको बताएका थिए ।

न्याय पाउने आस मरेको छैन

प्रहरीको अनुसन्धान लम्बिँदै गए पनि पीडित परिवारले न्यायको आस मारेका छैनन् । छोराछोरी (सुष्मा र प्रदीप) गुमाएपछि चेतनाथ फुयालको परिवार दुई वर्षदेखि इटहरीको हलगडामा बस्दै आएको छ । ‘मैले कसैको अन्याय गरेको छैन, एक न एक दिन अपराधी पत्ता लाग्छ,’ उनले भने । उनका एक छोरी र पत्नी छन् । पत्नीलाई छोराछोरी गुमाएपछि मानसिक समस्या छ ।

रञ्जीवको परिवारले पनि न्यायिक निकायले चासो नदिएको गुनासो गरेको छ । ५/६ महिनायता न जिल्लाबाट सोधीखोजी छ न त गाउँपालिकाले चासो दिएको छ । यो खबर कान्तिपुरमा प्रकाशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया