असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाल सुपर लिगको ‘प्ले अफ’ मा ललितपुर र बुटवल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल  तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुरका लागि कप्तान अञ्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गरे । दुवै टोलीले खेलको आरम्भदेखि नै निकै आक्रामक खेल प्रदर्शन गरेका थिए ।

खेलको छैटाँैं मिनेटमा विराटनगरका लागि विदेशी एडिलाजा सोमिडेले गोलको प्रयास गरे पनि असफल भए । खेलको १४ औंँ मिनेटमा विराटनगरका एडिलाजाले नै गोलको अवसर गुमाए ।

ललितपुरका गोलकिपर अर्पण कार्कीले उनलाई विफल पारे । कार्कीले नै विराटनगरका सन्तोष तामाङको प्रहार सहजै रोके । खेलको ३६ औंँ मिनेटमा ललितपुरका कप्तान विष्टले पहिलो गोल गरे। उनको प्रहार विराटनगरका गोलकिपर किशोर गिरीले रोक्न सकेनन् । खेलको ६३ औंँ मिनेटमा ललितपुरका रानाले आफ्नो टोलीका लागि दोस्रो गोल गरे ।

खेलको ८१ औंँ मिनेटमा कप्तान विष्टले नै  दोस्रो गोल गर्दै ललितपुरलाई ३–० गोलको अग्रता दिलाए । खेलको ८५ आँैं मिनेटमा विराटनगरका रञ्जित धिमाल रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

खेलको इञ्जुरी समयमा विदेशी खेलाडी नुर्लान जाहिदले गोल गर्दै ललितपुरलाई ४–० ले खेल जिताए । आजका खेलमा ललितपुरका कप्तान विष्ट प्लेयर अफ दी म्याच घोषित भए । उनले रु २५ हजार पुरस्कार प्राप्त गरे । उदीयमान खेलाडी ललितपुरकै डोना थापा चुनिए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे । जीतसँगै ललितपुर ६ खेलमा ९ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । विराटनगर ६ खेलमा ७ अंक जोडेर पाँचाँैं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

यसैगरी अर्को खेलमा बुटवल नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै बुटवल प्ले अफमा प्रवेश गरेको हो ।

बुटवलका लागि निर्णायक गोल सुमन लामाले खेलको ८० औँ मिनेटमा गरेका हुन्। बुटवल लिग चरणको ६ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा कायम रहन सफल भयो ।

आइतबार लिग चरणको अन्तिम खेलमा चितवन र काठमाडौंँ भिड्ने छन् । धनगढी र काठमाडौंँबीच पहिलो क्वालिफायर तथा ललितपुर र बुटवलबीच दोस्रो क्वालिफयर खेल हुनेछ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया