वैशाख १५, २०८१ शनिबार April 27, 2024

यो राष्ट्रप्रमुख र सरकारप्रमुखको इतिहासमै अक्षम्य बदमासी र षड्यन्त्र हो ।- चित्रबहादुर केसी (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्रीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरिसकेपछि राजनीति नै तरंगित बनिरहेको छ । यहाँको पार्टी पनि विपक्षी गठबन्धनमा नै छ । के हुँदैछ देशमा ?

नेपालमा जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले संसदीय व्यवस्था र संविधान नै च्यातचुत गरेर जनताको अधिकार हनन गरेका छन् । यिनले यही तरिकाबाट मुलुकलाई प्रतिगमनतर्फ लगेका छन् ।

संविधान सार्वजनिक दस्तावेज हो । त्यसलाई च्यातचुत पारियो । पुष ५ पछि पनि त्यो हर्कत भएकै हो । त्यसबेला विपक्षी दलहरुको भूमिका पनि निर्णायक देखिएन । अब विपक्षी दलहरु निर्णायक भूमिका निर्वाह गर्लान ?

निर्णायक भूमिका खेल्नैपर्छ । पुष ५ पछि पनि नेपाली जनता, राजनीतिक पार्टीहरु, नागरिक समाज र मिडिया क्षेत्रको व्यापक दबाबपछि सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेको थियो । अदालतले ओलीको प्रतिगमनलाई बदर गरिदियो । ओलीमा अलिकति पनि नैतिकता थियो भने त्यही दिन नै उनले राजनीनामा दिनुपर्थ्यो । अझ संसदमा जुनसुकै हतकण्ड अपनाएर संसदलाई ‘बिजनेस’ नदिने र फेरि संसद विघटन गरेर उनले षड्यन्त्र गरे । यो असाध्यै कहालीलाग्दो छ । यस्तो षड्यन्त्र अहिलेसम्म कसैले गरेको थिएन ।

यो सबै विपक्षीकै कारणले भएको हो । संसदलाई बिजनेस नदिने पनि विपक्षी, बहुमतको सरकार बनाउनुहोस् भन्दा पनि बहुमत पुर्याउन नसक्ने विपक्षी । प्रधानमन्त्रीको आरोप छ अध्यक्ष ज्यू !

त्यो झुटको खेती हो । उनले संसदमा विश्वासको मत प्राप्त गर्न किन सकेनन् ? पुनस्थापित संसदमा उपस्थित नै नहुने, संसदलाई बिजनेस नै नदिनेजस्ता उनले अनैतिक काम गरे । संसद नचल्नुको मुख्य कारण उनको पार्टीभित्रको अन्तरकलह हो । आफ्नो पार्टीमा झगडा गर्ने अनि त्यसको मार जनताले बेहोर्नुपर्ने ? यस्तो पनि हुन्छ ? मैले विश्वासको मत लिन्न मलाई सरकार चलाउन मन छैन पनि भन्ने अनि राजीनामा नदिने ? सरकार चलाउन नसकेपछि मार्गप्रशस्त गर्ने हो । यो त गलत तरिका भयो ।

यहाँले राष्ट्रपतिको यो कदमलाई कसरी हेरिरहनुभएको छ ?

राष्ट्रपतिको यो कदम अलोकतान्त्रिक, असंवैधानिक र अप्रजातान्त्रिक हो । नेपाली जनताले राजालाई फालेर विद्यादेवी भण्डारीलाई राष्ट्रप्रमुख बनाइसकेपछि यस्तो हर्कत गर्लिन भनेर सोचेका पनि थिएनन् । उनी व्यक्तिको गोटी बनेर नेपालको प्रजातन्त्र खतम पार्ने, संविधान र गणतन्त्र खतम पार्नतर्फ लागिन । उनले राष्ट्रपति पदको मर्यादामा नै आँच पुर्याइन । गरिमामय राष्ट्रपति संस्थाको बदनाम भयो । हामीले यो आशा गरेका थिएनौं ।

जनतामाथिको यो अपमान कहिलेसम्म ?

जबसम्म अर्ध उपनिवेशी हुन्छ, अर्ध सामन्ती हुन्छ । जहाँ विदेशीको इशारामा चल्ने गरिन्छ । जनता र राष्ट्रप्रति जवाफदेही हुने, आफू खरानी भएर जनताका लागि मरिमेट्ने यो संसदीय प्रणालीमा हुन्न । गणतन्त्र, संविधान ध्वस्त पार्न बाह्य शक्तिहरु लागिरहेका छन् र त्यो डिजाइनअनुसार अहिलेका सरकार प्रमुख र राष्ट्रप्रमुखहरु लागिरहेका छन् ।

यहाँले भनेअनुसार पछिल्ला कदमहरु पनि विदेशीकै इशारामा भएका हुन त ?

नेपालको शासन व्यवस्थामा २०७७ साल अघि र त्यसपछि विदेशी शक्तिहरुले नेपाललाई प्रयोगशाला बनाइरहेका छन् । यो शिलशिला निरन्तर चलिरहेको छ । यो अपराधपूर्ण गतिविधिमा संलग्न हुने तिनै जनताका प्रतिनिधिहरु हुन् । त्यो गतिविधिलाई शक्ति केन्द्रहरुले आफ्नो योजनाअनुसार चलाइरहन्छन् ।

सत्ता र शक्तिका लागि मरिहत्ते गर्ने मधेशी दलहरु अहिले सत्तामा गएनन् बरु नागरिकतासम्बन्धी अध्यादेश ल्याइदिएपछि उनीहरु ओलीतिर लागेका छन् ।

अपराधपूर्ण गतिविधिमा संलग्न नेतृत्वलाई जनताले सजाय दिन्छन् । त्यो भनेको निर्वाचन हो । निर्वाचनमा जाँदा तपाईहरुलाई केको आपत्ति भन्या ?

नेपाली जनतालाई कसले कैद बनाएको छ भन्नुहोस न रु नेपाली जनताले कति स्वतन्त्रपूर्वक फैसला गर्न सक्छन् भन्ने हामीलाई थाहा छ । अहिले नेपाली जनताले कोरोनाको राम्रो उपचार नपाएर आहाल हुनुपरेको छ । यस्तो अवस्थामा देशलाई निर्वाचनमा लाने हो रु अहिले त महामारी रोकथाम तथा नियन्त्रण आवश्यक छ । राष्ट्रघाती काम गर्नेहरुलाई नेपाली जनताले ढिलो चाँडो हिसाब किताब गर्नेछन् ।

यदि चुनाव नै गर्ने हो भने को आउँछ ? तिनै राष्ट्रघाती होइनन ? चुनावमा पैसा खर्च गर्ने ठेकेदारहरु, भूमाफियाहरुले नै हो चुनाव जित्ने । चुनावले सच्चा राष्ट्रवादीहरुलाई सधैं पराजित गर्छ । चुनाव देखाउनका लागि मात्र हो ।

तपाईको दलसहितका केही नेताहरु सर्वोच्च अदालतमा रिट दर्ताका लागि दलबलसहित जानुभयो । नेतृत्वलाई समस्या पर्दा यसरी खुल्लै हिँड्न मिल्ने तर जनतालाई गरिखान पनि नदिने ?

त्यो बाध्यता थियो । प्रतिगमनका विरुद्धमा अदालतमा जानु र जनतामाझ भोट माग्न जानुमा धेरै फरक छ । त्यो त सरकारले व्यवस्था गर्ने कुरा हो । यतिबेला खोप जनतालाई छैन । आफन्तलाई खोप लगायो जनता भेडाबाख्रा झैं मरिरहेका छन् । यसबाट जनतालाई कसरी बचाउनुपर्छ भन्ने विषयमा बालुवाटारमा बहसै हुँदैन । त्यहाँ त पार्टी र सरकारको कुरा मात्रै हुन्छ ।

यी राजनीतिक परिदृश्यले नेपाली जनताको मानसिक अवस्था गिजोलिएको छ । यो अवस्थाबाट जनतालाई मुक्ति कहिले दिनुहुन्छ ?

नेपाली जनताले आफै लडेर मुक्ति पाउने हो । राणा शासनदेखि राजातन्त्रसम्मलाई जनताले नै फालेका हुन् । अब पनि यिनलाई जनताले ठेगान लगाउने नै छन् । नेपाली जनताको शक्तिले यस्ता प्रतिगामीहरुलाई धुलो चटाउनेछ ।

यो राष्ट्रप्रमुख र सरकारप्रमुखको इतिहासमै अक्षम्य बदमासी र षड्यन्त्र हो । नेपाली जनताले यसको हिसाब किताब ढिलो चाँडो गर्छन । –जीएनएनबाट साभार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया