वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

काँग्रेसको निर्मम चिरफार- किशोर नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यति बेला नेपालको राजनीतिक क्षितिजमा नकारात्मक संक्रमणको लहर चलेको छ । खास गरेर, देशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यो संक्रमणबाट सबैभन्दा बढी संक्रमित भएका छन् । आफूलाई जान्नेसुन्ने हुँ भन्ने जोकोही पनि व्यक्ति देउवाको नेतृत्वमा नेपाली कांग्रेसको कुनै भविष्य नभएको बताउँछ ।

नेपाली काँग्रेस देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दल भएकाले यो प्रतिपक्षमा बसे पनि र सत्तामा बसे पनि यसमाथि मानिसहरूको भरोसा छ । आजका मितिमा किन त्यो भरोसा टुट्दै गएको छ ? यसका केही कारण छन् । पहिलो कारण हो, कांग्रेस गतिहीन भएको छ । यसले सामान्य जनताको ‘रेस्पोन्स’ गर्न छाडेको छ ।

यस्तो किन भएको छ ? यी कारणहरूमा ध्यान नदिई कांग्रेसमा अपेक्षित सुधार आउन सक्दैन । अहिले कांग्रेसका जति पनि ‘प्रमुख’ भनिने नेता छन्, रामचन्द्र पौडेलदेखि शशांक कोइरालासम्म, शेखर कोइरालादेखि कृष्ण सिटौला र त्यसभन्दा पनि परसम्म, समाजमा कुनै पनि नेताको साख र विश्वसनीयता प्रमाणित भएको छैन । तिनीहरूका बीच कुनै गम्भीर सैद्धान्तिक विवाद छैन । तैपनि तिनीहरू निरन्तर झगडामा छन् । झगडा भागबन्डा र लेनदेनको मात्रै छ । तिनीहरूको व्यक्तित्वमा गम्भीरता छैन ।

कांग्रेस सभापति देउवाकै कुरा गरौं । कास्की–२ पोखराको उपनिर्वाचनमा आफ्ना उम्मेदवारको प्रचारका सिलसिलामा मंसिर ७ गते सभापति देउवाले प्रधानमन्त्री केपी ओलीका बारेमा जे बोले र जसरी बोले, त्यो समीचीन थिएन । सभापति देउवाले त्यस्तो भाषण नेपाल विद्यार्थी संघका नेतामार्फत दिन लगाएको भए राम्रो हुन्थ्यो । देउवाले त्यस्तै भाषण, केही संशोधनसहित, धरानको उपनिर्वाचनमा पनि दोहोर्‍याए ।

समकालीन विश्वमा चलेको महत्त्वपूर्ण घटनाको हेक्का राखेर आफूलाई त्यस अनुसार तयार पार्ने आवश्यकता उनले देखेनन् । नेपालमा अहिले लोकतन्त्रमाथि संकटको कुरा छ । संघीयता अलपत्र परेको छ । गणतन्त्रको सञ्चालन राजतन्त्रात्मक पद्धतिबाट भैरहेको छ । नेपाललाई अहिले आफ्नो ‘अस्तित्वरक्षाको सुरक्षा’ चाहिएको छ । त्यसका लागि वर्तमान सरकारले पहल गर्न सकेको छैन । यस्तो अवस्थामा सभापति देउवा हलुका टिप्पणी गर्ने र विश्वप्रकाश शर्मा त्यसको प्रतिरक्षा गर्ने !

उमेरले ७५ हुन लागेका सभापति देउवाको बसोबास कांग्रेसका अन्य नेताको तुलनामा भव्यतम होला । त्यति सही तरिकाले कांग्रेसका कुनै नेता बसेका होलान्, स्तम्भकारलाई थाहा छैन । राजनीतिक समाजमा यो सम्भ्रान्त उपस्थितिले मात्रै सभापति देउवालाई ‘महान्’ बनाउँदैन । नेपाली कांग्रेस बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता ऐतिहासिक व्यक्तित्वले हाँकेको पार्टी हो । संगठनमा जोडदार पकड भएका गिरिजाप्रसाद कोइरालालाई समेत यो पार्टी हाँक्न समस्या परेको हो ।

सुशील कोइराला गिरिजाप्रसाद कोइरालाको संगठन कब्जा गरेर सभापति भएका हुन् र त्यसैका आधारमा प्रधानमन्त्री भएका हुन् । कांग्रेस राजनीतिमा सभापति देउवाको योगदानलाई कसैले इन्कार गर्न सक्दैन । उनी जमानाका ‘फाइटर’ हुन् । बीपी, किशुनजी र गणेशमान सिंहजस्ता जीवन्त नेताहरूले हाँकेको पार्टीलाई यहाँसम्म ल्याउन गिरिजाप्रसाद कोइरालाजस्ता ‘संगठन पुरुष’ लाई समेत हम्मे परेको हो । नेतृत्व एकाएक सुशील र शेरबहादुरको कब्जामा आउँदा जनताले सन्तोष लिन सकेन । सुशील दिवंगत भैसकेÙ उनको कुरा गर्नुको औचित्य छैन । ऐतिहासिक व्यक्तित्वहरूको नेतृत्वमा चलेको कांग्रेसमा देउवाको नेतृत्वमा मूल्य पद्धति टिक्न सकेन । यो पार्टीको स्वरूप बदलियो ।

हामीकहाँ मात्रै होइन, अहिले संसारभरि नै राजनीतिक संक्रमण चलिरहेको छ । आर्थिक शक्तिका रूपमा चीनको जबर्जस्त उत्थान र उत्कर्षले अघिल्ला मान्यतालाई उधिनिरहेको छ । बेलायत, जर्मनी, फ्रान्स लगायत युरोपका देशहरू संक्रमणको मारमा छन् भने, अमेरिकाको रिपब्लिकन सत्ता उत्तिकै संक्रमणमा छ । ल्याटिन अमेरिकी देशहरू, अफ्रिका र एसिया : संसारको कुनै देश यो संक्रमणबाट मुक्त छैन । नेपालले संघीय गणतन्त्रात्मक शासनको बाटोतर्फ पाइला चालेको दस वर्षमा नयाँ संक्रमण सुरु भएको छ भने, गणतन्त्र अघिको व्यवस्थाबाट अहिलेको व्यवस्थामा संक्रमणका तुष ‘यथावत्’ छन् । भारत र चीनको बीचमा रहेको सानो मुलुक भए पनि हाम्रो महत्त्व बढेको छ । भारतलाई आफ्नो पारम्परिक बजारमाथिको पकड खुस्किएला भन्ने डर छ भने, चीन नेपाललाई आफ्नो विस्तारको सहायक शक्ति बनाउन खोज्दै छ । यस्तो अवस्थाबारे कांग्रेसका नेताहरूले आपसी विवेचना र छलफल गरेको कतै सुनिँदैन ।

पछिल्लो समयमा कांग्रेसले आफ्नो संगठनमा ‘शक्ति–उन्मुख पद्धति’ अर्थात् ‘पावर ओरिएन्टेड सिस्टम’ लाई पछ्यायो । यसबाट समग्र पार्टी प्रभावित बन्यो । कांग्रेसमा आफ्नो योग्यताको धाक जमाइसकेका पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा, गगन थापाजस्ता नेताहरू ‘लखेटिएका राणाजी’ को तहमा देखिए । उनीहरूमा देशका लागि र पार्टीका लागि केही गर्ने तमन्ना नभएको होइन । तर, उनीहरू शक्ति–उन्मुख पद्धतिबाट उम्किन सकेका छैनन् । त्यसैले उनीहरू चुपचाप बसेका देखिन्छन् । उनीहरूभित्र विद्रोहको ज्वालामुखी बल्दै छ कि निभिसक्यो ? त्यो थाहा भएको छैन । तर, परिस्थिति गम्भीर छ ।

सभापति देउवाको नाम विभिन्न थरीका काण्डसंँग जोडिन थालेको छ । हालै मात्र सामाजिक सञ्जालमा अनेक काण्डमा उनको नाम जोडिएको देखिएको छ । गएको चुनावताका आईजीपी काण्ड, प्रधानन्यायाधीश सुशीला कार्की काण्ड, हालसालै वाइडबडी जहाज घोटाला काण्डमा समेत उनको संलग्नता सुनिएको छ । कथा धारावाहिक छ । शैक्षिक क्षेत्रमा आर्थिक हस्तक्षेप पनि बूढानीलकण्ठबाटै हुने सुनिने गरेको छ । यी कथामा उनको संलग्नता नभएर उनको पारिवारिक संलग्नता मात्रै भएको हुन सक्छ । तर, मानिसले त्यसमा विश्वास गर्दैन । नैतिक रूपमा त्यो कतै टिक्दैन । केही वर्षअघिसम्म पनि राजनीतिमा ‘उठाउने’ धन्दाको अहिलेजति बिगबिगी थिएन । अहिले त यसको लहरै चलेको छ । जुन नेताले जति ‘उठाउन’ सक्यो, त्यो त्यति नै प्रभावशाली मानिन्छ ।

सामाजिक सञ्जाल र मूलधारका समाचारमा समेत जुन हिसाबले सभापति देउवाको चित्रण हुने गरेको छ, त्यो कदाचित् सभ्य नहोला । तर, जब राजनीति नै असभ्य मार्गमा प्रवेश गर्छ भने कुरा त्यहीं टुंगिन्छ । यो सही हो, देउवाले सभापति पद र सांसद पद भोटले जितेका हुन् । तर, उनमा प्रतिपक्षी नेताका हैसियतले देशका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्ने प्रामाणिक क्षमता देखिएन । यो दु:खलाग्दो कुरा हो ।

सभापति देउवामा त्यो क्षमता नदेखिएपछि दोस्रो तहका वरिष्ठ नेता रामचन्द्र पौडेलमा त्यस्तो क्षमता देखिनुपर्ने हो । तर, पौडेलमा पनि त्यो खुबी देखिएन । कांग्रेसको चौखटमा अहिले जति पनि नेता देखिएका छन्, ती कसैमा पनि सामाजिक आकर्षणको तत्त्व छैन । यस्तो लाग्छ, अहिलेका यी नेताहरू एउटा जीवन्त इतिहासको संवाहक पार्टी चलाइरहेका छैनन्, एउटा घरेलु गुठीको व्यवस्थापन गर्दै छन् ।

अहिलेको राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व छ । गएको चुनावमा नेपाल कम्युनिस्ट पार्टीले जनताको म्यान्डेट पायो । नेपाली कांग्रेस म्यान्डेटमा पराजित भयो । यो सामान्य तथ्य हो । यो तथ्यलाई कसैले इन्कार गर्न सक्दैन । चुनावमा नेकपा एमालेले आफैले ‘युद्ध अपराधी’ मानेको माओवादीसँंग हात मिलायो, कांग्रेसलाई टक्कर दिन । कांग्रेसले आफूसँंगै बसेर सरकार चलाइरहेको माओवादीलाई धकेलेर पन्छाइदियो ।

कांग्रेस नीतिको संस्थागत असफलता त्यही थियो । भन्नका लागि कांग्रेसका नेताहरू कांग्रेसका कार्यकर्ता माओवादीसँंगको गठबन्धनविरुद्ध उभिएको बताउँछन् । तर, त्यो दोष कार्यकर्ताको होइन, ती कार्यकर्तालाई सहमत गराउन नखोज्ने नेताहरूको हो । कांग्रेसमा उम्रिएका गुटहरूको दोष सभापति देउवालाई मात्रै दिन नमिल्ला । तर, गुटलाई संग्रालिनबाट रोक्न नसक्नु उनको अक्षमता हो । यसमा दुई मत नहोला ।

कांग्रेसको समस्या सभापति देउवा मात्रै होइनन्, चर्चा र चन्दा बटुल्न सक्षम छोटे नेताहरूको कांग्रेसमा बढ्दो प्रभुत्व पनि एउटा समस्या हो । पूरै पार्टी विश्वासहीनताको स्थितिमा हेलिनु अर्को समस्या हो । अहिलेकै अवस्था रहने हो भने, कांग्रेस नेताविहीन पार्टीका रूपमा रहनेछ । अहिलेका नेताहरू देउवासँंग असहमतिका बावजुद ‘कांग्रेसभित्र’ बस्न बाध्य भएका छन् । किनभने, विभाजन मूलबाटो होइन । अहिले कांग्रेसको नेतृत्व लिन्छु भन्ने व्यक्तिको समस्या भनेको लोकतन्त्रवादी जनमतको मनोबल कसरी बढाउने भन्ने हो । देश बनाउने चुनौतीको सामना गर्न सक्ने नेताको खोजीमा कांग्रेसजन लागेका छन् । तर, अन्तरिक्षमा चम्किलो र क्षमतावान् नक्षत्र देखिएको छैन । यो बिचार कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
२०८१ वैशाख १४, शुक्रबार
मटिहानी आगलागी घटना : क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन
२०८१ वैशाख १४, शुक्रबार
गुल्मीमा विद्यार्थीको आँखा परीक्षण गरिने
२०८१ वैशाख १४, शुक्रबार
कक्षा १२ को परीक्षाको सबै तयारी पूरा – एक हजार ५२६ परीक्षा केन्द्र तोकिए
२०८१ वैशाख १३, बिहिबार
टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार
२०८१ वैशाख १३, बिहिबार
पूर्वमन्त्री आलमसहित चारलाई जन्मकैद
२०८१ वैशाख १३, बिहिबार
विद्यालय समयभित्र अन्य कार्य नगर्न शिक्षकलाई महानगरको अनुरोध
२०८१ वैशाख १३, बिहिबार