काठमाडौंः ललितपुरको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचाररत रहेकै अवस्थामा विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको निधन भएको भनेर समाचार प्रकाशित गर्ने विभिन्न १० अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ ।
थापाको २०७८ जेठ १८ गते मंगलबार अपराह्न ४ः२५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । तर उनको निधनपूर्व २०७८ जेठ १८ गते दिउँसो १ः३० बजे नै विना आधार अनलाइनहरूले समाचार प्रकाशित गरेका थिए । लगत्तै काउन्सिलले तथ्यहीन समाचार छाप्ने अनलाइनविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो ।
आथिकारिक संस्था वा व्यक्तिहरूबाट पुष्टिबेगर पत्रकार तथा सञ्चारमाध्यमले जिम्मेवारीबोधको समेत ख्याल नगरी मानिसकाे जीवन र स्वास्थ्यजस्तो संवेदनशील विषयमा तथ्यहीन समाचार लेख्ने १० अनलाइनविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन पत्र काटेको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
‘आधिकारिक संस्था वा व्यक्तिहरूबाट समेत पुष्टि नभएको अवस्थामा पत्रकार तथा सञ्चारमाध्यमले जिम्मेवारीबोधको समेत ख्याल नगरी स्वास्थ्यजस्तो विषयमा हल्ला अनुमानको भरमा तथ्यहीन, पुष्टि नभएका सामग्री सम्प्रेषण भई पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन भएको छ,’ काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विगतमा पनि व्यक्तिहरूकाे मृत्युकाे बारेमा पटक पटक नेपाली पत्रकार र सञ्चारमाध्यमले यस्तै गलत समाचार लेख्ने र सामाजिक सञ्जालमा पाेष्ट गर्ने गरेका थिए । काउन्सिलले फास्टभन्दा फ्याक्टमा ध्यान दिन सम्पूर्ण सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया