काठमाण्डौंः सर्वोच्च अदालतले अनलाइनका माध्यमबाट खरीद बिक्री तथा होम डेलिभरी सेवा नरोक्न सरकारलाई अन्तरिम आदेश दिएका छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले अत्यावश्यक सामग्रीको होम डेलिभरी गर्ने कम्पनीहरूलाई सेवा दिनबाट नरोक्न सोमबार अन्तरिम आदेश दिएको हो।
सर्वोच्चको आदेशमा भनिएको छ, “स्वास्थय सुरक्षाको सम्पूर्ण उपायहरू (जस्तै सामाजिक दूरी, मास्क, स्यानिटाइजर, डिस्इन्फेक्टन्ट र पीपीई लगायतका साधको प्रयोग) को अवलम्बन गरी अनलाइन माध्यमबाट खरीद, बिक्री तथा होम डेलिभरीको ई–कमर्सको सेवा प्रदान गर्ने कम्पनीहरूलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्नू, नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरूका नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ।”
कोभिड–१९ नियन्त्रणका लागि भन्दै सरकारले निषेधाज्ञा जारी गरेपछि होम डेलिभरी सेवामा रोक लगाएको थियो। यसकाविरुद्ध निकेत अग्रवालले सर्वोच्चमा रिट दायर गरेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा होम डेलिभरी सेवा रोक लगाउने कार्य निर्णय खारेज गर्नका लागि अन्तरिम आदेश माग गरिएको थियो। रिट निवेदकको माग अनुसार सर्वोच्चले अन्तरिम आदेश दिएको हो।


युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया