काठमाण्डौं: गण्डकी प्रदेशकी प्रमुख सीताकुमारी पौडेलले संविधानको १६८ (५) अनुसार बहुमतको सरकार गठनका लागि भोली शनिबार दिउँसो ३ बजेसम्म आउन दलहरुलाई आह्वान गरेकी छन् ।
प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिको प्रयोजनका लागि शनिबार अपराह्न ३ बजेसम्म प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभाका सदस्यलाई दावी गर्न आह्वान गरेकी हुन् ।
प्रदेश प्रमुखद्धारा शुक्रबार जारी विज्ञप्तिमा अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य गर्ने गरी संविधानको धारा १६९ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखले तोकेको जनाइएको छ ।
बिहीवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएपछि प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेकी हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका छन् ।
अविश्वासमा ३० र तटस्थमा १ मत खसेको छ । १ सांसद अनुपस्थित रहे । जनमोर्चाका कृष्ण थापाले तटस्थमा मत हालेका हुन् । कांग्रेस नेतृत्वको गठबन्धनमा ४ दल गुरुङ सरकार ढाल्न लागेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया