असार ५, २०८३ शुक्रबार June 19, 2026

ओली हाम्रा माग पूरा गर्न सहमत भएपछि मात्रै हामी सरकारमा गएको हो ।- लक्ष्मणलाल कर्ण (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिनिधि सभा विघटन भएर निर्वाचन घोषणा भैसकेको अवस्थामा तपाइँहरु सरकारमा जानु भयो । सर्वाेच्च अदालतले त चुनाव घोषणा भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्न मिल्दैन भनेर मन्त्रिपरिषद् विस्तार बदर गरिदियो । तपाइँ त  कानूनविद्  पनि हुनुहुन्छ । सरकारमा जान मिल्थ्यो ?

सरकारमा जान किन मिल्दैन ? मिल्छ । हामी संविधानको धारा ७७ बमोजिम सरकारमा गएको हो । सर्वाेच्च अदालतले राजनीति गर्ने हो भने सम्पूर्ण राजनीतिक बृतलाई हेर्नु पर्छ । देश बाढी पहिरोको प्राकृतिक चपेटामा पर्ने बेलामा मन्त्रालयहरु मन्त्रीबिहीन भएका छन् । सर्वाेच्चले राजनीतिक निर्णय गर्यो । यद्यपि सर्वाेच्चको निर्णय मान्नै पर्छ ।

विगतमा तपाइँहरुले उठाउँदै आएका संविधान संशोधन,नागरिकता लगायतका मागमा प्रधानमन्त्री ओली अनुदार हुनुहुन्थ्यो । फेरि तपाइँहरु उहाँलाई नै समर्थन गरेर सरकारमा किन जानुभयो ?

तत्काल म तपाइसँग केही बोलिरहेको छु भने भोली मेरो विचार परिवर्तन पनि त हुनसक्छ नि । रत्नाकर डाँका थिए पछि बाल्मिकी ऋषि भए । हो,ओली मात्रै होइन, पूरै नेकपा एमाले हिजोको अवस्थामा अनुदार थियो ।

हामीलाई ओलीले ६ महिना अघि नै सरकारमा आउनु भनेका थिए । तर हामीले हाम्रा माग पूरा हुनुपर्ने शर्त राखेर सरकारमा गएनौ । तर पछि ओली हाम्रा माग पूरा गर्न सहमत भएपछि मात्रै हामी सरकारमा गएको हो । कतिपय हाम्रा माग पूरा पनि भैसकेका छन् । हामी देशका समस्या सबै मिलेर समाधान गर्नुपर्छ भन्ने पक्षमा छौं ।

प्रधानमन्त्री ओलीकै कारण तपाइँहरुको पार्टी जुटेको थियो । फेरि उहाँकै कारण फुट्न लाग्नु भयो । एउटै पार्टीमा एक पक्ष सरकारमा र अर्काे पक्ष विपक्षमा । यस्तो पनि हुन्छ ?

नेपालमा अहिले देखिएको राजनीति विचित्रको छ । पार्टीहरु जुट्नु असाध्यै राम्रो हो । हामीले संविधानमै लेख्यौ,जनताको प्रतिनिधिबाट राज्य संचालन हुन्छ भनेर । कुनै पनि पार्टीमा बिग्रह हुनु दुर्भाग्य हो । हामी त्यही दुर्भाग्यभित्र पर्यौ । तर मधेशका माग पूरा गराउन सरकारमा जानु गलत हो र ? विगतमा उपेन्द्रजीहरु पनि ओली सरकारमा गएकै हुन् । हामीले सरकारसँग वार्ता गर्यौ भनेर उपेन्द्रजीले हामीलाई पार्टीबाट निष्काशन गरिदिनुभयो ।

तत्कालीन नेकपामा नेता/कार्यकर्तालाई यताबाट उता हटाउने उताबाट यता हटाउने गरेजस्तै जसपामा पनि उपेन्द्रजीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जस्तै नक्कल गर्नुभयो । जसपा मिलेरै जानुपर्छ भन्ने मेरो धारणा छ ।

नागरिकता र संविधान संशोधन बाहेक तराई मधेश आन्दोलनबारे पूर्व न्यायाधीश गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक, रेशम चौधरीको रिहाइको माग पनि अघि सार्नु भएको छ । अब यी माग कसरी सम्बोधन होला ?

बार्गेनिङ गर्दा सतप्रतिशत काम हुन्छ भन्ने छैन् । प्रधानमन्त्री ओलीले हाम्रा माग संशोधन गर्ने अग्रसरता देखाइसकेका छन । मधेश–थरुहट आन्दोलमा मुद्दा लागेकाको मुद्दा फिर्ता भइसकेको अवस्थामा भने लाल आयोगको प्रतिवेदन सार्वजनिक भएन भने केही बिग्रिदैन ।

रेशम चौधरीको मुद्दामा हामी सबैलाई संविधान र कानूनले बाँधेको छ । चौधरीको मुद्दा सर्वाेच्चमा विचाराधीन छ । त्यसमा फैसला आएपछि मात्रै अरु कुरा आउँछन ।

प्रधानमन्त्री ओलीसँग तपाईहरुको गठबन्धन अब के हुन्छ ?

तपाई हामीले आज के सोचेका छौ,भोली के हुन्छ भन्ने ठेगान हुँदैन । आजको अवस्थामा ओलीले हाम्रा माग पूरा गरेको हुनाले हामीले उहाँलाई साथ सहयोग र समर्थन गरेको हो ।

१८ दिनसम्म भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बन्नु भयो । अनुभव कस्तो रह्यो ?

मैले मलाई मन्त्री बनाइदेउ भनेर कसैसँग पनि भनेको थिइन । सबैलाई मन्त्रालय बाँडेपछि स्वयं प्रधानमन्त्री ओलीले तपाइँ भूमि व्यवस्था मन्त्रालयमा जानुस,त्यहाँ कानून निर्माण लगायत सुधार गर्नु पर्ने धेरै कुराहरु बाँकी छन् भन्नुभयो । त्यसपछि म गएँ । भूमिसुधार मन्त्रालयले केही आधुनिक काम शुरु गरेको छ । त्यसलाई पूर्णता दिनु पर्ने छ । आम जनताका लागि भूमि व्यवस्था मन्त्रालयबाट हुनुपर्ने काम सहज बनाउन जग्गा रजिष्टे«शन लगायतका काममा पेपरलेस प्रविधि अपनाउने, जनताले सरकारी काममा दुख पाउनु नपर्ने जस्ता कामको शुरुवात भएको छ । नक्सा पासको काममा पनि मोबाइल एप बनाएर सहजता ल्याउने काम अघि बढेको छ ।

इच्छा शक्ति हुँदा थोरै दिनमा पनि धेरै काम गर्न सकिदो रहेछ । मैले १८ दिन मन्त्रालय सम्हाल्दा कर्मचारी लगायत सबैबाट उत्साहपूर्वक काम भयो । लोकपथबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार