असार ५, २०८३ शुक्रबार June 19, 2026

उपसभापति अथवा महामन्त्रीमा लड्छु – डा. प्रकाश शरण महत (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महाधिवेशन नजिकिएको छ, व्यस्तता कत्तिको बढेको छ ? कस्तो छ महाधिवेशनको तयारी ?

हाम्रो महाधिवेशनलाई कोभिड–१९ ले धेरै प्रभावित गर्‍यो । धेरैपटक कार्यतालिकामा संशोधन गर्नुपर्‍यो । नचाहँदा नचाहँदै यो परिस्थिति आयो । तर, नेतृत्वले सबै कठिनाइका बाबजुद अधिवेशन गर्ने निर्णय गरेको छ । यसको तयारी सबै पक्षबाट भइरहेको छ । क्रियाशील सदस्यता नामावलीको टुंगो लगाउने काम अन्तिम अवस्थामा छ । यसको टुंगो लागेपछि अधिवेशन जुनसुकै बेला गर्न सकिन्छ । मौसमजन्य चुनौती र कोभिडको संक्रमणको चुनौती अझै छ । मौसम र कोभिडले असामान्य अवस्था ल्याएन भने तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन्छ ।

नेतृत्वलाई लिएर आकांक्षीहरु धेरै छन् । पार्टीको राजनीतिमा निरन्तर नेतृत्वमा भएका व्यक्तिहरु र नयाँ आकांक्षीहरु पनि देखिएका छन्, यसलाई कसरी व्यवस्थापन गरिनुपर्छ ?

पार्टीको विधानले कोषाध्यक्षबाहेक अधिकांश पदमा निर्वाचनको व्यवस्था छ । पालिकाको वडादेखि केन्द्रसम्म निर्वाचन हुन्छ । यसले धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खोलेको छ । यसले आकांक्षी र उमेदवारलाई बढाउँछ । यसबाट पहिलो पिँढी रामचन्द्र दाइ, शेरबहादुर दाइ सँगै हामी पनि उमेदवार हुन सक्ने अवस्थामा पुगेका छौँ । यसले सबै पदहरुमा उमेदवार हुने संख्या बढ्यो । यस्तो अवस्थामा निर्वाचनले आफैँ व्यवस्थापन गर्छ । अर्को व्यवस्थापन भनेको को व्यक्ति कोसँग प्रतिस्पर्धा गर्छ, निर्वाचनमा आन्तरिक रुपमा कसलाई कहाँ मिलाउने भन्ने हुनसक्छ । तर, को निर्वाचित हुने विषय त निर्वाचनले नै व्यवस्था गर्छ । यसमा चुनौती पनि छ, अवसर पनि छ । त्यसैले सबैको व्यवस्थापन निर्वाचनले गर्छ । जहाँसम्म सभापतिको उमेदवारको कुरा हो, हामीलाई पनि लाग्छ, पार्टीमा महत्वपूर्ण जिम्मेवारी लिन तयार छौँ । यसको बाबजुद राजनीतिक नेतृत्व भन्ने विषय बोलेर मात्रै पुग्दैन । पार्टीभित्र सम्मान दिने संस्कार पनि छ, सुझबुझ, अनुभवको कुरा पनि छ । कतिपय कुरा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति पनि हेर्नुपर्छ । अहिले विशिष्ट परिस्थितिमा हामी छौँ । यसलाई बुझेर नेतृत्व दिनुपर्ने प्रमुख विषय होे । पार्टी सम्हाल्ने कुरा बाहिर देखिएजस्तो हुँदैन । यसकारणले मलाई लाग्छ, अनुभव र पछिल्लो अवस्थामा दिनुभएको परिपक्व नेतृत्व जो शेरबहादुर देउवाले दिनुभएको छ । आलोचना, टिप्पणीहरु होलान् देउवाको, तर अहिलेको अप्ठेरो अवस्थामा उहाँले दिएको नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने ठूलो संख्या छ ।

यसको अर्थ रामचन्द्र पौडेल, शेरबहादुर देउवा, शंशाक कोइराला, विमलेन्द्र निजीलाई एकै ठाउँमा लडाउने हो त ?

यस्तो छ कुरा, अहिले उपसभापति दुईजना हुनुहुन्छ । पहिला एकजना हुनुहुन्थ्यो । महामन्त्री दुईजना निर्वाचित हुन सक्नुहुन्छ । यदि, हामी सँगै काम गरौँ, फलानो पद मलाई नै चाहिन्छ नभनेर त्याग्ने हो भने ठाउँ छ । होइन, म पछि गर्र्दिनँ, अहिले नै हुनुपर्छ भन्ने कुरा आयो भने अवश्य पनि समस्या आउँछ ।

फेरि पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेल नेतृत्वमा नै दोहोरिने हो भने तपाईंहरुको राजनीतिक समय, उमेर र भविष्य पाँच वर्ष पछाडि धकेलिने छ । योबारे पनि कठोर भएर निर्णय गर्नुपर्ने बेला आएको होइन र ?

म आफूलाई पनि नेतृत्वको लागि योग्य ठान्छु । सभापति भएर पार्टीलाई हाँक्न सक्छु भन्ने लाग्छ । अगाडि शेरबहादुर देउवाको चर्चा गरेँ, रामचन्द्र दाइ पनि वरिष्ठ र बराबर अनुभव भएको नेता हुनुहुन्छ । हाम्रो अग्रज रहनुभएका दाइहरु हुँदाहुँदै अगाडि बढ्न सकिने अवस्था छैन । यसले हामीलाई नै घाटा छ भन्ने जान्दाजान्दै पार्टीको परम्परा र संरचनाले र अनुभवले दाइहरुको सान्दर्भिकता अहिले पनि छ । हो, यो हामीले बुझेका छौँ, हामी केही वर्ष पछि धकेलिनेछौँ । तर, हामी त्यो दाबी गरिरहेका छैनौँ । मेरो कुरा गर्नुहुन्छ भने म सहमहामन्त्री भइसकेँ, सबै किसिमको अनुभव छ । तर, सभापति दाबी गरिरहेको छैन । यस्तै, अरु साथीहरुले पनि माथि दाबी गरिरहनुभएको छ, जस्तै– विमलेन्द्रजी पनि हुनुहुन्छ । निर्वाचनको समय आइसकेपछि कतिपय बन्छु भनेकाहरु फेरि नबन्ने दाउमा पुग्नुहोला । कतिपय उमेदवारी नै नदिएका साथीहरु नै अगाडि सर्नुहोला । त्यसकारण अहिले नै यस्तो भइसक्यो भन्ने अवस्था आइसकेको छैन ।

पछिल्लो समय एकदमै चर्चामा रहेको प्रसंग तीनजनाको घरमा ‘लञ्च मिटिङ’ भयो, यसले नयाँ गुट जन्मायो कि भन्ने छ । पार्टीभित्र दुई समूह अहिले पनि छ । यसलाई कसरी हेर्नुभएको छ ?

उहाँहरुको भेटघाट मात्रैको कुरा त केही होइन, तर हामी नेता पुत्र नै त्यसैको हैसियतले त्यसमा नै सीमित रहेर बैठक बस्यो । यसलाई आमकार्यकर्ता पंक्तिले सहज रुपमा लिएको छैन । यो पार्टी समग्र जनताहरुको छोराछोरीहरुको पार्टी हो । उहाँका पिताजी नेताहरुले गरेको योगदान ठूलो छ । हाम्रो सम्मान पनि छ । तर, यो पार्टी त मेरो बुवा, मेरो आमा नेता थिएनन् भने पनि मेरो काम र योगदानको आधारमा हामी स्थापित हुन सक्छौँ ।

हामी पार्टी सबै वर्ग, क्षेत्र आउनुपर्छ भनिरहेका छौँ । उहाँहरुले जसको बुवाहरु नेता हुनुुहुन्थ्यो, त्यसमा मात्रै सीमित भएर पटकपटक बैठक बस्नुभयो । यसले उहाँहरुको लागि सकारात्मक सन्देश दिएको जस्तो मलाई लाग्दैन । पार्टीमा लाखौँ नेता–कार्यकर्ताहरु छन्, सबैको धेरै–थोरै योगदान छ । कतिपय अवस्थामा उहाँहरुले गरेको भन्दा बढी योगदान गरेका साथीहरु छन् । यसकारण हामी मिल्यौँ भने मात्रै नेतृत्व आउँछ भन्ने कुरा कार्यकर्ताले सहज रुपमा स्वीकार गर्दैनन् । त्यसमा नेता पुत्र पनि बुवा नेता नभए पनि पार्टीमा योगदान गरेका सबै जोडिँदा सहज हुन्छ ।

यो प्रसंगको अर्को पाटो पनि छ, अब शेरबहादुर देउवाको अर्को विकल्प खोज्नुपर्छ भन्ने मुख्य देखिन्छ, मान्नुहुन्छ ?

विकल्प खोज्दा नेता पुत्र मा नै सीमित हुनुपर्छ भन्ने छैन नि । विकल्प खोज्न पाइन्छ । पिता नेता नभएका अरु पनि योग्य पात्र छन् नि । विकल्प खोज्न सकिन्छ । ठूलो प्रतिस्पर्धा छ, तर यसमा नै सीमित हुनुपर्छ भन्ने छैन ।

लामो समय शेरबहादुर देउवालाई आड, भरोसा, विश्वास, नेतृत्व सहयोग सबै गर्नुभएका विमलेन्द्र निजी सभापतिको उमेदवार हुन्छु भनेर देउवा समूहबाट बाहिरिनुभएको छ । संस्थापन पक्षलाई यसले असर गर्छ, यसको मूल्यांकन कसरी गर्नुभएको छ ?

शेरबहादुरजीको उमेदवारी रहिरहँदा र विमलेन्द्रजीले म अलगै लड्छु भन्दा प्रभाव त पर्छ नै । प्रभाव पर्दैन भन्ने छैन । यस विषयमा धेरै साथीहरुले विमलेन्द्रजीलाई सल्लाह दिँदा अहिलेको अप्ठेरो अवस्थामा शेरबहादुरजीले एकपटक नेतृत्व गर्छु भन्नुभएको छ, समझदारी गरेर जाँदा राम्रो हुन्छ भनेर धेरैले भनेका छन् । यद्यपि, उहाँ (विमलेन्द्र निधि)ले लड्छु भन्नुभएको छ । तर, म के भन्छु भने अहिले नै अन्तिम टुंगो लागिसक्यो भन्ने निष्कर्षमा पुग्नु हुँदैन । नोमिनेसन गर्ने बेलासम्म उहाँले विचार परिवर्तन गर्न सक्नुहुन्छ । त्यसपछि एउटा आम समझदारी पनि बन्न सक्दछ भन्ने मलाई लागेको छ । तर, उहाँ आफैँ उमेदवारी दिन योग्य हुनुहुन्छ । उहाँको अधिकार पनि छ । यसलाई सम्मान गर्दै अहिले नै छिनोफानो भइसक्यो, अलगअलग बाटो लागिसक्नुभयो भन्ने मूल्यांकन अलि अपरिपक्व हुन्छ ।

सबैले आ–आफ्नो उमेदवारी दाबी गरिसकेका छन्, तर तपाईंले गर्नुभएको छैन । तपाईंको दाबी कुन पदमा हो ?

पार्टी सभापति स्वयंले पनि साथीहरुको बीचमा भने पनि औपचारिक रुपमा घोषणा गर्नुभएको छैन । त्यसकारण हामीले पनि घोषणा गर्न हतार गर्नु भएन । तथापि, म सहमहामन्त्री भइसकेको छु । पहिला नै महामन्त्रीको लागि दाबी थियो । त्यसको लागि योग्यता र पृष्ठभूमि मसँग छ । सभापति पदमा शेरबहादुर दाइ आफैँ लड्छु भनेकाले सभापति पदमा दाबी छैन । म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो । म चुनाव लड्ने हो । महामन्त्री वा उपसभापति पदमा लड्छु । नेतृत्व तहसँग पनि प्रारम्भिक कुरा भएको छ । यसको औपचारिक घोषणा समय आएपछि, समझदारी र टिम बनेपछि घोषणा गर्नु उपयुक्त भनेर अहिले नगरेको हो । मैले दाबी गरेको पदमा पुग्दा गर्ने काम र दृष्टिकोण स्पष्ट छ ।

नेतृत्वले तपाईंलाई यो पदका लागि लड्न तयार हुनुहोस् भनेर भनेको होला नि ?

यी कुराहरु भइसकेको छ । यी कुरा नभई म यसरी बोल्ने थिइनँ । त्यो राम्रो पनि हुँदैन । हामी संस्कार अगाल्छौँ । उत्ताउलो भएर राजनीति कहिले गरेनौँ । यस विषयमा छलफल भएको छ । तर, औपचारिक रुपमा घोषणा कसैको पनि नभएको अवस्थामा मैले पनि नगरेको हो । तर, म सहमहामन्त्रीभन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु । यसको औपचारिक घोषणा केही समयपछि गर्छु । बार्हखरीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार