भाद्र २८, २०८३ आइतबार September 13, 2026

व्रत बसेको दिन यौनसम्पर्क, कति उचित कति अनुचित ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हिन्दु परम्परा अनुसार व्रत बसेका बेला यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन भन्ने प्रश्न धेरैको मनमा उब्जिने गरेको पाइन्छ । हुन पनि विश्वमै मानिसले सबैभन्दा बढी सोच्ने विषय नै यौन हो । यसकारण व्रत बसेको समयमा वा व्रत तोडेको रात सहवास गर्न हुन्छ कि हुँदैन भन्ने जिज्ञासा उठ्नु स्वाभाविक नै हो ।

यौनका विषयमा धर्मशास्त्र, नीतिशास्त्र एकातिर छन् भने अर्को कित्तामा विज्ञान, चिकित्साशास्त्र छन् । यी दुईबीच परस्पर विरोधी विचार भएकाले कुनचाहिँलाई सही मानेर अघि बढ्ने भन्ने कुरामा सदैव अलमलको स्थिति रहिआएको पाइन्छ ।

धर्मशास्त्रको कुरा गर्ने हो भने यसले बाँदरले जस्तो जुनसुकै समयमा यौनसम्पर्क राख्न अनुमति दिँदैन । यौनमा संयमको माग गर्छ, यसलाई सदाचारसित जोडेर व्याख्या गर्छ । विवाहेतर यौनसम्बन्धलाई पाप मानेर वर्जित गर्छ । अनि उपवास वा व्रतका बेलामा त यौनसम्पर्क राख्न त के सोच्नै नहुने विषय बताउँछ । यौनमा संयमी व्यक्ति मेधाशक्तिले युक्त हुन्छ, वीर्य शक्तिको परिचायक हो, तसर्थ यसलाई जथाभावी खेर फाल्नुहुँदैन भन्छ । ब्रह्मचर्यमा बस्न आदेश गर्छ । यद्यपि सनातन धर्मका कतिपय सन्दर्भमा यौन पवित्र एवं प्रजननको आधार भएकाले शुद्ध र सात्विक अवस्थामा प्रसन्न चित्तले निश्चित उद्देश्यपूर्तिका लागि यौनसम्बन्ध राख्नुपर्ने बताइएको छ । तर तीजजस्ता व्रतका बेला यौनसम्पर्क राख्न वर्जित नै गरेको छ ।

उता विज्ञानले यौनलाई भौतिक रूपमा व्याख्या गर्छ । चिकित्साशास्त्रले यस विषयमा धर्मशास्त्रले जस्तो कडाइ गरेको छैन । यो शारीरिक अवस्थासँग सम्बद्ध जैविक प्रक्रिया भएको हुनाले शरीरले आवश्यक ठानेको जुनसुकै समयमा पनि यौनसम्पर्क गर्न सकिने बताउँछ ।

शास्त्रीय मत

शास्त्रअनुसार उपवासको अर्थ भगवानको समीपमा रहने भन्ने हो । दिनभर भगवानमा मन लागिसकेपछि सहवासको कुरा कसले पो सोच्छ र ? यस्तो आदर्श शास्त्रले कल्पेको छ ।

धर्मशास्त्र र परम्पराअनुसार हरितालिका तीजमा व्रत बसेका महिलाले पतिसँग सहवास गर्दैनन् र उनीहरू त्यस दिन पतिसँग सुत्दैनन् पनि । व्रत बसेका बेलाको मनोदशा पनि फरक हुन्छ । त्यति बेला सामान्य मानिसमा यौनसम्पर्क राख्ने कुरा मनमा खासै पलाउँदैन पनि ।

हाम्रो सामाजिक प्रचलनले पनि तीजको व्रत बसेका बेला यौनसम्बन्ध राख्नु हुँदैन भनेर नै महिलाहरू माइत जाने प्रचलन बसालेको छ । घर छाडेर माइत जानुको अर्थ यौनसम्पर्क गर्न रोक्नका लागि अपनाइएको उपाय हो । फेरि व्रतोपवास भनेकै भोक र कामवासनालाई नियन्त्रण गरेर भगवानमा भक्ति लगाउनका लागि गरिने कुरा हो, त्यसैले व्रतका समयमा यौनसम्पर्क राख्दा व्रतको फल प्राप्त हुँदैन भन्ने शास्त्रीय मान्यता छ ।

दिनभर भगवानको नाममा उपवास बसेकी महिलामाथि सहवासको कुरा सोच्न पनि नहुने कुरा शास्त्रले बताउँछ । व्रत बसेको दिन उनीहरू मानसिक रुपमा पनि तयार हुन नसक्ने र शारीरिक रूपले पनि निकै थकित हुने हुँदा सहवासका लागि बाध्य बनाउन नहुने परम्परागत मान्यता पाइन्छ । व्रत बसेकी महिला बेलुका श्रीमानसँग नसुती अलग्गै सुत्नुपर्ने शास्त्रीय मर्यादा छ । धार्मिक आस्थाले भगवानप्रति भक्तिभाव लगाइरहेका बेला कामवासना नियन्त्रण नगरी यौनक्रीडामा लिप्त हुँदा व्रतको फल नपाइने शास्त्रीय मत छ ।

विज्ञानको मत

धर्मशास्त्रले व्रत बसेका बेला यौनसम्बन्ध राख्न वर्जित गरे पनि विज्ञानले भने आफ्नो शारीरिक र मानसिक अवस्था विचार गरी मन लागेको गर्न सकिने बताउँछ । यद्यपि व्रत बसेका बेला शारीरिक र मानसिक रूपमा थकित हुने भएकाले यौनसम्पर्क राख्दा पीडादायी हुनसकने यौन विशेषज्ञहरू बताउँछन् । व्रतका कारण व्यक्तिको मनोदशा यौनका लागि तयार नहुनसक्छ । कतिपय अवस्थामा शरीर र मनबीच यौनसम्पर्क राख्ने कि नराख्ने भनेर द्वन्द्वको स्थिति सिर्जना हुनसक्छ । यस्तो अवस्थामा यौनसम्पर्क राख्दा त्यो सम्भोग नभएर मैथुन मात्र हुनसक्छ । यो कुरामा चाहिँ विचार गरेर सहज वातावरण बनाई यौनसम्बन्ध राख्दा केही फरक नपर्ने बताउँछ ।

व्रत बसेका बेला शरीरमा पानी, ग्लुकोज आदिको स्तरमा फरक पर्ने र त्यसबाट क्यालोरीको मात्रा कम हुने हुन्छ । यौनसम्पर्क राख्दा धेरै क्यालोरी खर्च हुन्छ, त्यसैले थप कमजोर हुनसक्ने भएकाले सम्बन्ध नराख्न सकिने पनि बताउँछन् विशेषज्ञहरू । यद्यपि कतिपयका मतमा एकाग्र चित्तले व्रत बस्दा शरीर फुर्तिलो र मन चङ्गा हुने भएकाले यौनेच्छा बढ्छ, केही व्यक्तिको शारीरिक संरचना नै भोकै बस्दा अझ फुर्तिलो हुने खालको हुन्छ तसर्थ सम्बन्ध राख्दा राम्रो हुन्छ भन्ने छ ।

वैज्ञानिक हिसाबले व्रतका बेला यौनसम्पर्क राख्न नहुने कुनै कारण छैन । तर, केही दिनको विश्रामपछि यौन सम्बन्ध झन् सन्तुष्टियुक्त हुने गर्छ । त्यसैले व्रत लिएका महिला–पुरुषले व्रतका समयमा मानसिक रूपमा तयार नहुने भएकाले पनि यति बेला यौनसम्पर्क नराखी केही दिन पर्खेर यौनसम्पर्क राख्नु उचित हुन्छ ।

समग्रमा भन्दा धार्मिक एवं मानसिक हिसाबले यौनसम्बन्ध राख्न तयार नहुने भएकाले व्रत बसेका बेला यौनसम्पर्क नराख्नु उचित हुन्छ । यौन सम्पर्कका बेला थोरै भए पनि शारीरिक ऊर्जा क्षय हुने भएकाले केही नखाई बस्ने तीज व्रतका बेला महिलाले कमजोरी महसुस गर्छन् ।

फेरि व्रतसँग सामाजिक सीमा, मर्यादा र नैतिक मूल्य–मान्यता गाँसिने भएकाले यो बेला यौन आनन्दभन्दा यसपछि आत्मग्लानि वा पश्चात्तापको अनुभूति हुन सक्ने भएकाले यौनसम्बन्ध नराख्नु नै राम्रो मानिन्छ । यद्यपि विज्ञानले भने धर्मशास्त्रका कुरालाई अस्वीकार गर्दछ । यौन मानव जीवनको सामान्य प्रक्रिया भएकाले महिला मानसिक तथा शारीरिक रूपले तयार भएमा यौनसम्पर्क राख्न बाधा नहुने बताउँछ । आफ्नो पार्टनरको मनोभाव बुझेर निर्धक्क यौनसम्पर्क गर्न सकिने बताउँछ । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार