जेठ ४, २०८१ शुक्रबार May 17, 2024

एउटा संस्थाको प्रमुखलाई जुन तरिकाको व्यबहार गरियो त्यो गलत थियो । – मुख्यमन्त्री लालबाबु राउत (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईंले बेटीको नाममा समेत भ्रष्टाचार गर्नुभयो, है ?

हा..हा..हा, तपाईंले यो मुलुकमा राम्रो काम गर्नेलाई पनि यसरी बद्नाम गर्ने प्रयास गर्नुहुन्छ । त्यो कार्यालयले खरिद गर्ने नियम-प्रक्रिया सबै फलो गरेर गरेको प्रदेशकै गौरवको योजना हो । यो एउटा गौरवको योजना भएर अघि बढेको कार्य केही व्यक्तिहरुलाई जसलाई पचिरहेको छैन् । उनीहरु यसमा खेल्न खोजिरहेका छन् । त्यो मैले बुझेको छु ।

अख्तियारले लालबाबु राउत भनेको भ्रष्टाचारी हो भनेको छ, अब तपाईं के गर्नुहुन्छ ?

फेरी यस्ता नचाहिने कुरा चाँही नगर्नु, त्यो लालबाबुले होईन कार्यालयले पूरा विधी र प्रक्रिया पुरा गरेर गरेको खरिद हो । जतिमा खरिद गरिएको छ, त्यतिमा बजारबाट तपाईंले ल्याउन सक्नुहुन्छ ? मेरो च्यालेन्ज छ । त्यति सस्तोमा खरिद गरेको पहिलोपटक खरिद गर्दा खरिद रेट भन्दा साँढे ३ करोड रुपैयाँ पछि बच्न गयो । भनेपछि त्यो के रहेछ भने विधि, प्रक्रिया र खरिद ऐनलाई टेकेर गरेको हो । तर, ठीक छ, त्यो के भएको हो कार्यालयले खरिद गरेको त्यहाँ एउटा निकाय छ । त्यो निकायबाट प्रक्रिया सुरु भएछ मैले त्यसमा भन्नु केही छैन् । मेरो आपत्ति भनेको के थियो भने–मुख्यमन्त्रीको कार्यालय भनेको प्रदेश सरकारको एउटा प्रमुख कार्यकारीको कार्यालय हो । त्यहाँ तपाईं छानबिन गर्नुहोस, चेकजाँच गर्नुहोस म अख्तियारको कामलाई सहयोग गर्ने मान्छे हो । म आँफै सुशासन कायम गर्नको लागि लागेको मान्छे हो ।

सुशासन गर्नुभयो की कुशासन गर्नुभयो ? तर तपाईंमाथि त भ्रष्टाचार गरेको गम्भिर आरोप छ ?

तपाईं त्यसरी कुरा गर्नुहुन्छ ? तपाईं डाँका हुनुहुन्छ भनेर कसैले भन्दैमा डाँका हुने हो र ? त्यो त भन्न मिल्दैन नि ।

त्यसोभए, मन्त्रिपरिषद् कार्यालयमा अख्तियारले किन छापा मार्यो त ?

अख्तियार भनेको आकाशबाट आएका हुन् ? तेस्रो संसारबाट आएका हुन् ? इन्द्रलोक की चन्द्रलोकबाट आएका हुन् ? कार्यालयका मान्छेहरुलाई मैले धेरै कुरा बोलेको पनि छैन् । मात्र उहाँहरुलाई म यत्ति भन्ने गर्छु, तपाईंहरु जुनसुकै काम गर्दा विधि र पद्धती पालना गरेर गर्नुहोस । ऐन, कानुनलाई फलो नगरेपछि तपाईं आफै जिम्मेवार हुनुपर्छ । मुख्यमन्त्रीको कार्यालयमा भएपछि मुख्यमन्त्रीको पनि संलग्नता छ भन्ने हुन्छ ? म यो कुरा भन्छु कि अख्तियारलाई म सहयोग गर्ने मान्छे हो ।

तर, तपाईंले सहयोग गर्नुभएन, आक्रोशित भएर हिजो अख्तियार प्रमुखलाई फोन गर्नुभयो भन्ने कुरा बाहिर आएको छ ?

जुन तरिकाले उहाँहरु आउनुभयो, आउनुभन्दा अगाडि सबै मिडियालाई जानकारी गराएर मानौं कि ठुलै केही भएको छ । त्यहाँ बस्ने प्रमुख सचिव छन्, सचिवसरहका व्यक्ति छन् । उहाँहरुसँग फाइल मगाएर हेर्न सक्नुहुन्थ्यो । सम्बन्धित मान्छेलाई बोलाएर छानबिन गर्दा हुन्थ्यो । प्रक्रिया मिलेको छ अथवा छैन भनेर हेर्दा हुन्छ । मलाई त्यसमा कुनै आपत्ति छैन् । म सहयोगी मान्छे तर, मेरो असहमति के कुरामा हो भने जुनसुकै काम गर्दा पनि यो संस्थालाई डिफेन्ड गर्ने, बदनाम गर्ने यो प्रदेश सरकारको संघीयता र सुशासनको लागि आफू दह«ोसँग बसिरहेको व्यक्ति र संस्थामाथि जुन किसिमको षड्यन्त्र गरिएको छ । त्यसप्रति मेरो आपत्ति छ ।

तपाईं अख्तियारले छापा मार्न पाउने अधिकारको बर्खिलापमा किन जानुभयो ?

होईन, होईन । त्यसमा कोही दोषी छन् भने मेरो कुनै आपत्ति नै छैन् । विधि र प्रक्रिया मिलेको छैन् भने त्यसमा मेरो सहयोग रहन्छ । मैले हिजोमात्र अख्तियारका प्रमुखज्यूलाई फोन गरेर यस किसिमको जुन तरिका अपनाईयो त्यो गलत छ । तपाईंले मुख्यमन्त्री कार्यालयमा रहेका सम्बन्धित व्यक्तिहरुसँग कागजहरु मगाएर हेर्न सक्नुहुन्छ । तर, यो तरिका गलत भयो भनेको छु ।

साईकलको मूल्य त फरक छ नि होइन् ? अनि भ्रष्टाचार भएको छैन् भनेर कसरी भन्ने ?

मुल्य त अब कसैले १० रुपैयाँ लिन्छ, कसैले १२ रुपैयाँ लिन्छ नि ! मुल्य कसरी फरक भयो प्रक्रिया मिलेको छ अथवा छैन् ? त्यो त तपाईंले खोज्न सक्नुहुन्छ । मैले त्यही भनेको खरिद प्रक्रियामा जो संलग्न छ त्यसमाथि छानविन गर्नुपर्यो । मलाई त्यसमा आपत्ति छैन् ।

दुई लटमा तपाईंले एउटैखालको साइकल खरिद गर्नुभएको छ, पहिलो पटक ६ हजार ४ सय ३२ रुपैयाँ परेको थियो तर दोस्रोपटक ८ हजार ४ सय ४६ रुपैयाँ बनाउनुभयो । प्रति साइकल २ हजार १४ रुपैयाँ बढाएर कमिसन खानुभयो ?

यो भनेको फटाई कुरा हो । मैले त्यही भनेको जुनबेला प्रतिष्पर्धा गरेर कसले ल्यायो त्यसको छानबिन गर्नुहोस । कसरी फरक परेको छ, पत्ता लगाउनुहोस । तपाईंलाई म भन्छु–दोस्रोपटक छोरी शिक्षा बिमा किन पछि पर्यो भन्दा पहिलोपटक हामी ३७ हजारमा ३ लाखको बिमा गरिरहेका थियौं । तर पछिल्लो चरणमा ६५ हजार पुगेको छ । तीन/चार पटक गरेर क्यान्सिल गरिएको छ । यसरी फरक भएपछि मैले छोडें ।

प्रदेश नम्बर २ मा तपाईं मुख्यमन्त्री भएपछि धेरै भ्रष्टाचार भएको छ, हिजो प्रभु साहले तपाईंमाथि आरोप लगाउनुभएको छ नि, यस विषयमा तपाईं के भन्नुहुन्छ ?

प्रभु साहले के भन्नुभयो, त्यसप्रति मेरो कुनै टिप्पणी छैन् । म के भन्छु भने मुख्यमन्त्री कार्यालय र मुख्यमन्त्री अनियमिता र ढिलासुस्तीहरुको बारेमा छानबिन गर्नको लागि सहयोग गर्न तयार छ । मैले पहिले नै खरिद गर्दा किन यति धेरै फरक भयो भनेर सोधेको थिएँ, टेन्डर भएरपनि किन यस्तो भयो ? म आफैंले यसमा छानबिन समिति गठन गरेर अगाडि बढेको हुँ ।

तपाईं मुख्यमन्त्री भएको ४ वर्ष पुग्न लाग्यो, आजसम्म त्यहाँ धेरै भ्रष्टचार भयो तर तपाईं कारबाही गर्नसक्ने अवस्थामा हुनुहुन्न नि होइन् ?

तपाईंहरु जस्ता सुरुदेखि नै प्रदेश २ को विरुद्धमा लागेका मिडिया, संघियताविरोधी, कुशासनका पक्षधरहरु यसमा विरोध गरिरहेका छन् । म आजपनि तपाईंलाई विश्वास दिलाउँछु कि मुख्यमन्त्री कार्यालयलगायत अन्य कुनैपनि कार्यालयमा छानबिन गर्नुहोस त्यसमा मेरो कुनै आपत्ति छैन् । आपत्ति कहाँ हो भने जुन किसिमले प्रस्तुत गरियो त्यसप्रति हो ।

मुख्यमन्त्री कार्यालयले बढि खर्च गरेको अख्तियारले प्रमाणित गरिसकेको छ नि त ?

तपाईं अहिलेपनि जो खरिद गर्ने व्यक्ति छन्, उनीहरुलाई सोध्नुहोस । पहिलो पटकमा मैले टाइट गरेर साँढे ३ करोड बचेको हो । दोस्रो पटकमा कसरी फरक भयो भनेर मैले पनि सोधेको हो ।

त्यसोभए तपाईंले अख्तियारलाई छानविन गर्नुहोस, मैले गल्ति गरेको भए राजीनामा दिन्छु भन्न सक्नुहुन्छ ?

त्यो त मैले भनिरहेको छु ।

तपाईंले फोन गरेर अख्तियार प्रमुखलाई किन धम्की दिनुभयो त ?

होईन, मैले फोन गरेको हो । तर, मैले भनेको कुरामा उहाँले पनि स्विकार गर्नुभएको हो । एउटा संस्थाको प्रमुखलाई जुन तरिकाको व्यबहार गरियो त्यो गलत थियो ।

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारिसकेपछि तपाईं मुख्यमन्त्री पदमा बस्न मिल्छ ?

तपाईंलाई चोर भनेपछि तपाईं मिडिया छोडेर जान सक्नुहुन्छ ?

तर, अख्तियारले तपाईंमाथि प्रश्न खडा गरिसकेको छ नि त ?

ममाथि होइन, अख्तियारले त मुख्यमन्त्री कार्यालयमाथि प्रश्न उठाएको हो । दोषीमाथि छानबिन गर्नुपर्छ भनेर मैलेपनि भनिरहेको छु । -रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया