बैसाख २२, २०८३ मंगलबार May 5, 2026

‘एमाले फुट्ने सम्भावना त कत्तिपनि छैन’ – युवराज ज्ञवाली (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेकपा (एमाले)को हिजोको स्थायी समिति बैठकमा केपी शर्मा ओलीको चर्को आलोचना भएको हो ?

चर्को आलोचना होइन् । हामीले विधान महाधिवेशको समिक्षा गरेका हौं । बढो प्रष्ट रुपमा त्यसका सकारात्मक पक्ष र उपलब्धिहरु साथै केही कमजोरीको बारेमा सबै साथीहरुले आ–आफ्नो ढंगले कुरा राख्नुभएको छ । त्यहाँ केपी ओलीको चर्काे आलोचना होइन्, विधान महाधिवेशनको समिक्षा भएको हो ।

तर, तपाईहरुलाई डर र भय छ, नेकपा (एमाले) भित्र असुरक्षित हुनुहुन्छ नि होइन् ?

होइन्, हामीले असुरक्षीत महसुस गरेका छैनौं । हाम्रो पार्टीभित्र हामीले आफ्ना कुराहरुलाई प्रष्ट ढंगले राखेको छौं । र, सहमतिका आधारमा विषयवस्तुहरु तय भएका छन् । निर्णयहरु भएका छन । यसोभएको कारणले भय र डर भएको भए त हामी नेकपा (एमाले) मा सामेल हुने अवस्था नै आउने थिएन नि ।

तपाईंहरुले १० बुँदे कार्यान्वयन नभए नेकपा (एमाले) लाई ठुलो क्षति हुन्छ भनेर चेतावनी दिनुभएको हो नि होइन् ?

१० बुँदेको सन्दर्भमा एजेन्डा बनेको छ । आज हामीले त्यसबारेमा छलफल गर्छौ । हिजो हामीले विधान महाधिवेशनको समिक्षामा ध्यान केन्द्रित गर्याैं । त्यसैगरी १०औं राष्ट्रिय महाधिवेशन कुन ठाउँमा गर्ने भन्ने कुरा छलफल भयो । र, चितवनमा गर्नुपर्छ भन्ने अन्तिम निश्कर्षमा पुगियो । साथै, कमरेड रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा २१ सदस्यीय मुल व्यवस्थापन समिति गठन भएको छ ।

बादलको नेतृत्वमा बनेको २१ सदस्यीय मुल व्यवस्थापन समितिमा तपाईंहरु सबैको सहमति छ त ?

हामीले छलफल गरेरै निर्णय गरेका हौं । सर्वसम्मतिमै निर्णय भएको हो । १३ जनाको निर्णय भइसकेको छ, बाँकी बिभिन्न प्रदेशहरुबाट पनि कमसेकम एक÷एक जना सामेल गर्नुपर्छ । सम्पर्क मञ्चबाट पनि एक÷एक जना राख्नुपर्छ भन्ने कुरा भएको छ । त्यसैले २१ सदस्यीय मुल व्यवस्थापन समिति सर्वसम्मतिबाट निर्णय भएको छ । जुन काम भएका छन्, ती सबै छलफल र बहसपछि सहमतिमा भएका हुन् ।

तर, केपी शर्मा ओलीले १० बुँदेको औचित्य छैन्, अब यसलाई गीत गाईरहन पर्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिनुभएको छ त ?

हैन्, यसबारेमा कमरेड केपी शर्मा ओलीकै हस्ताक्षरमा अन्तरपार्टी निर्देशन जारी भएको छ । त्यतिबेला स्थायी कमिटी र केन्द्रिय कमिटीमा ब्यापक छलफल भएर त्यो जारी भएको हो । अब उहाँले कहाँ कुन सन्दर्भमा के बोल्नुभयो भन्ने कुरा छुटै विषय हो । आज २ बजे हाम्रो स्थायी कमिटि बैठक छ । अन्तरपार्टी निर्देशन १२ को बारेमा कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा अथवा कति ठाँउमा भयो वा भएन ? के समस्या छन् आज छलफल हुन्छ । कार्यदलको पनि हिजो बैठक बसेको छ । त्यो कार्यदलले पनि आज आफ्नो निश्कर्ष सुनाउँछ । त्यसपछि हामी आज अन्तिम निश्कर्षमा पुग्छौं । धेरैजसो ठाउँमा १० बँुदे कार्यान्वयन भइसकेको छ । केही ठाउँमा समस्या रहेका छन् । त्यसलाई कसरी हल गर्ने हामीले आजको बैठकमा छलफल गर्छाैं ।

१० बुँदे कार्यान्वयन गर्नको लागि तपाईंहरुले दबाब दिइरहनुभएको छ, तर पार्टी अध्यक्षले तपाईंहरुलाई टेर्नुभएको छैन् होइन् ?

होईन, उहाँले नटेर्ने भन्ने कुरा छैन् । किनभने उहाँले नै हस्ताक्षर गरेर अन्तरपार्टी निर्देशन जारी भएको हो । त्यसमा १० बुँदे कसरी कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा प्रष्ट रुपमा उल्लेख गरिएको छ । त्यसोभएर अधिकांश ठाउँमा यो कार्यान्वयन भैसकेको छ । त्यसैले यो कार्यान्वयन हुन्छ ।

सुदुरपश्चिम, १ नम्बर र २ नम्बर प्रदेशमा पनि कार्यान्वयन भएको छैन् नि ?

केही ठाँउमा समस्या रहेका छन्, सुदुरपश्चिम र अरु केही जिल्लामा पनि समस्या रहेको छ । जनवर्गीय संगठनमा पनि केही समस्या छन् । तर, अरु सबै ठाँउमा लागु भइसकेको छ ।

केपी शर्मा ओलीले भन्नुभएको ठिक भयो होइन्, माधवकुमार नेपाल आउनुहुन्छ भनेर १० बुंदे ल्याइएको हो तर, माधवकुमार नेपालनै नरहेपछि त यसको के औचित्य रह्यो ?

होइन्, माधवकुमार नेपाल नरहेपछि पनि हामीले फेरी छलफल गरेका हौं । यसको औचित्य सकिएको छैन् । आज हाम्रो छलफल छ, यसबारे हामीले छलफल गर्दैछौं । आजको बैठकमा यो एजेन्डा छ । कार्यदलले रिपोर्ट प्रस्तुत गर्छ । समस्या के छन् त्यसबारे हामीले छलफल गर्नेछौं ।

आगामी महाधिवेशनमा केपी शर्मा ओली अध्यक्ष बन्ने निश्चित् भयो, यसबारे तपाईंहरुको धारणा के छ ?

महाधिवेशन त आउँदैछ । हामी तयारी गर्दैछौं । राष्ट्रिय महाधिवेशनको तयारी गर्दैछौं । एजेन्डा बनेको छ । कसरी र कुन मापदण्डको आधारमा गर्ने यो सबै कुरा हामीले निर्णय गर्नेछौं ।

निर्णय त गर्नुहोला तर, पार्टीमा केपी शर्मा ओलीको विपक्षमा उभिन सक्ने शक्ति तपाईंहरुसँग छ ?

होईन, पार्टीभित्र ब्यापक रूपमा छलफल भइरहेको छ । समस्या के हुन् ? के कमिकमजोरीहरु रहे ? उपलब्धी के भयो त्यो सबै कुरा बैठकमा हुन्छ ।

अहिलेको अवस्थामा नेकपा (एमाले) फुट्ने सम्भावना कति छ ?

फुट्ने सम्भावना त कत्तिपनि छैन् । फुट्ने भए जुट्ने कुरा नै हुँदैन थियो नि । यसबारेमा हामीलाई हेक्का छ कि समस्याहरु के हुनसक्छन् भन्ने कुरामा हामी प्रष्ट छौं । साथै, ती समस्यालाई हल गर्न सकिनेछ भन्ने कुरामा पनि हामी प्रष्ट छौं ।

उसोभए, केपी शर्मा ओलीलाई फेरि पनि अध्यक्षको रुपमा तपाईंहरुले स्विकार गर्ने ?

अब त्यो त के हुन्छ महाधिवेशनले निर्णय गर्छ । उहाँले म उम्मेद्धार हुन्छु पनि भन्नुभएको छैन् । अहिले को अध्यक्ष बन्ने ? को उमेद्धार बन्ने भन्ने विषयमा कुनै छलफल पनि भएको छैन् । व्यक्तिगत र संस्थागत् रुपमा पनि छलफल भएको छैन् ।

नेकपा (एमाले) सबै प्रदेशमा कमजोर भएको छ, तपाईंहरुलाई सबै ठाउँमा अफ्ठयारो भयो होइन् ?

होइन्, अफ्ठयारो त पार्टीलाईं नै छ । कोही व्यक्तिलाई अफ्ठयारो पर्ने अनि कोहीलाई नपर्ने भन्ने कुरा होइन् । सबै दलहरु मिलेर नेकपा (एमाले) लाई कमजोर पार्ने अभियान चलाएका छन् । नेकपा (एमाले) लाई कमजोर पार्नको लागि देशी/विदेशी शक्तिहरु लागिरहेका छन् । पार्टीमा यस्ता समस्याहरु छन् । यस्ता समस्याहरुलाई समाधान गर्नको लागि स्वयं पार्टी अध्यक्ष केपी शर्मा ओली नै लाग्नुभएको छ । हामी पनि लागिरहेका छौं । त्यसो भएको हुँदा जुन समस्याहरु छन् त्यसलाई हामी सबै मिलेर एकतावद्ध भएर हल गर्छाैं ।

तर, तपाईंहरु एक हुँदा ६ वटै प्रदेशमा तपाईहरुको सरकार थियो तर, अहिले त सबै प्रदेशमा सरकार गुमाउनुपर्ने अवस्था आयो ?

त्यसो त पार्टी विभाजन भएपछि धेरै समस्याहरु उत्पन्न भयो नि । सरकारहरु गए, अझै जाँदैछन् । तर, त्यो समस्यालाई पनि हल गरेरै जान सकिन्छ ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवा बाढि प्रभावित क्षेत्रमा जानुभयो, सरकारले राहतको करा पनि ल्याएको छ । सरकारको यो कदममा तपाईंहरुको के प्रतिक्रिया छ ?

अब, प्रधानमन्त्रीज्यु बिभिन्न ठाउँमा निरीक्षण गर्न जानुभएको छ । त्यो राम्रो कुरा हो । सरकारमा रहेकाहरुले यसलाई गम्भीर रुपमा लिनुपर्छ । किनकी सबै कार्यकारी अधिकार सरकारमै हुन्छ । हामी प्रतिपक्षी हौं । हामीले आवाज उठाउने हो । हामीले हिजोको बैठकबाट बाडि पीडित जनताका समस्या कसरी हल गर्ने भन्नेबारेमा प्रस्ताव पारित गरेका छौं । जुन बालीनालीको निकै ठुलो समस्या देखापरेको छ, गम्भिर समस्या देखापरेको छ, देशमा खाद्यान्नको ठुलो समस्या हुनेछ । देशमा यसबारेमा चाहीँ सरकारले ध्यान दिनपर्छ । धेरैजनाको निधन भएको छ, घाइतेहरुको उपचार र बसोबासको व्यवस्था गर्नुपर्छ । क्षतिपूर्ति सरकारले दिनपर्यो । यस विषयमा हामीले आवाज उठाइरहेका छौं । र, आगामी दिनमा पनि उठाइरहने छौं ।

बझाङ र डोटीका बाढी प्रभावित जनतालाई प्रधानमन्त्रीले भेट्न चाहानुभएन ?

त्यो त उहाँको कुरा हो । जनताका दुःख प्रत्यक्ष रुपमा देखेपछि समस्या कसरी हल गर्ने भन्ने कुरा अझ बढी थाहा हुन्छ । प्रधानमन्त्री र मन्त्रीहरुले जनताको दुःख हेरेर त्यसबारे छिट्टै आवश्यक कदम चाल्नुपर्छ । किनभने उहाँहरु सरकारको कार्यकारी जिम्मेवारी लिएर बस्नुभएको छ । हामीले सरकारले गरेका गल्तीहरु औल्याउने हो । र, सकेसम्म हामीले पनि बाडि प्रभावित क्षेत्रमा प्रतिपक्षीको हैसियतले के गर्न सक्छौं त्यो पनि हामीले गर्नुपर्छ । त्यो हाम्रो कर्तब्य पनि हो ।

प्रधानमन्त्रीले जनतालाई राहतको आश्वासन पनि दिनुभएको छ ?

दिनुभएको छ भने त्यो छिटोभन्दा छिटो कार्यान्वयन हुनपर्याे । जनतासम्म त्यो राहत पुग्नपर्याे । हाम्रो देशमा फेरी राहत घोषणा गर्ने तर कार्यान्वयन नगर्ने गम्भीर रोग छ । त्यसकारण सरकारले छिट्टै मन्त्रीपरिषद बैठक बसेर सबै समस्याहरु हल गर्नेतिर ठोस पहल गर्नुपर्छ ।

सिके राउतका कार्यकर्ताले हिजो जनकपुरमा कार्यालय प्रमुखलाई सडकमा ल्याएर नाङ्गै बनाएर घुमाए, तपाईंले थाहा पाउनुभयो ?

यो एकदम गम्भिर कुरा हो । यसरी ज्यादती कुनै पनि पार्टीले गर्नुहुँदैन् । सरकारले गरेका कमिकमजोरीको आलोचना गर्ने हो । जनतालाई जागरुक बनाउने हो । आवस्यक परे आन्दोलन गर्नुपर्छ तर, त्यस्तो काम कसैले पनि गर्नुहुँदैन् । यस्ता विषयमा सबै पक्षले संयम भएर धैर्यतापुर्वक काम गर्नुपर्छ । -रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार