बैसाख २२, २०८३ मंगलबार May 5, 2026

पुनसंरचना गर्ने हो भने न्यायपालिकाको मात्रै होइन, धेरैको गर्नुपर्ने हुन सक्छ । : राधेश्याम अधिकारी (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्यायालयको पछिल्लो संकटमा राजनीतिक नेतृत्व मूकदर्शक छ, यस्तो किन भएको होला ?

राजनीतिक नेतृत्व भनेर सत्तापक्षलाई भन्न खोज्नुभएको होला । उसले बोलिसकेपछि त्यो निर्णायक हुन जान्छ । प्रधानमन्त्रीको कुरा भन्नुस् न, उहाँले बोलिसकेपछि ‘फाइनल’ भइहाल्यो नि ! बोल्दाखेरि त्यसको परिणाम आउने गरी बोल्नुपर्छ । सम्भवतः त्यसकारण उहाँहरू संयम हुनुभएको छ । अदालतको मामलामा हामीले किन हस्तक्षेप गर्ने भन्ने दृष्टिकोण बनाएको हुन सक्छन् ।

झन्डै तीन सातादेखि न्यायालय ठप्प छ, यस्तो अवस्थामा राजनीतिक दलहरूले अग्रसरता लिएर विवाद निरुपण गर्दा के हुन्थ्यो ?

अदालतको मामलामा राजनीतिक क्षेत्र जति पनि जेलिइरहेको छ त्यो नै बढी भयो भन्ने हाम्रो ठम्याइ हो । राजनीतिक दलहरूलाई आमन्त्रण नै गरेर त्यहाँभित्र ल्याउनु झनै उपयुक्त होइन जस्तो लाग्छ । तर, राज्यको तीन अंगमध्ये एक अंग प्यारालाइसिस हुन थाल्यो, त्यो स्थितिले राष्ट्रिय–अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि धेरै बिग्रिन्छ । त्यसकारण अबचाहिँ राजनीतिक दलले होइन, राज्यको तर्फबाट सरकारले पहलकदमी लिनुपर्छ ।

सत्तागठबन्धन नबोल्ने, विपक्षीले संवैधानिक इजलासका पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्ने माग राखेको छ, दुवै पक्षका भूमिका जिम्मेवार देखिन्छन् ?

सत्तापक्षले बोलिसकेपछि त्यसको असर देखिनुपर्छ । त्यसको पनि प्रभावकारिता देखिन छाड्यो भने कसलाई गुहार्ने ? सत्तापक्षले जिम्मेवार तवरले बोल्नुपर्ने भएकाले उनीहरू संयम भएका हुन् । संयमलाई वर्तमान प्रधानन्यायाधीशज्यूले कमजोरी ठान्नुभयो भने त्यो भुल हुन्छ । प्रतिपक्षको मामलामा, उसले उठाएको कुरा नाजायज छ । किनभने, न्यायसम्पादन गर्दा गरेका कुरालाई लिएर प्रश्न उठाइरहेको छ । उसले राजनीतिक दृष्टिकोण लिएको छ । त्यस्तो दृष्टिकोणले हामीलाई कहीँ पनि पुर्‍याउँदैन । र, हाम्रो संविधान, न्याय सम्पादन, शक्ति पृथकीकरण, शक्ति सन्तुलनको सिद्धान्त, सबैलाई एक झट्कामै असर पार्छ । त्यसकारण प्रतिपक्ष दलको यो कुरा ठीक छैन ।

कैयौँ राजनीतिक मुद्दा न्यायालयमा विचाराधीन छन्, दलहरूले त्यसमा चासो राखेका हुन् कि ?

कुनै पनि मुद्दाहरू छन् भने त्यसका असरहरू हुन सक्दैनन् भन्न सक्दिनँ । तपाईंले भनेको कुरा ठीकै छ । जो–जोसँग सम्बन्धित छ त्यो–त्यो मान्छेको चाहना होला । तर, यही किसिमको विवाद निरुपण गर्दाखेरि सधैँभरि न्यायालय तानिने हो भने दलहरूले विवाद निरुपणको राजनीतिक समाधान दिन सक्ने अर्काे विकल्प सोच्नुपर्ला । अदालतलाई यसरी मुछ्न उचित हुँदैन ।

न्यायालयको यो संकटका लागि प्रमुख जिम्मेवार को हो जस्तो लाग्छ ?

आज पनि प्रधानन्यायाधीशले इजलास तोक्नुभयो, तर न्यायाधीशहरूले काम गर्नुभएन । यसरी हेर्दा उहाँ सर्वाेच्च अदालतको नेतृत्व गर्न असफल भइसक्नुभयो । उहाँले आत्मपरीक्षण गर्नुपर्‍यो नि ! एउटा असफल नेतृत्वले गर्नुपर्ने पहिलो काम हो यो । आत्मपरीक्षण गरेर अहिले किन यस्तो भयो भन्ने कुरामा जानुभएको भए सम्भवतः उहाँ आजसम्म त्यो पदमा बसिरहनुहुने थिएन ।

न्यायाधीश विभाजित छन्, प्रधानन्यायाधीश आफैँ सक्रिय छन्, उनीहरूको भूमिकालाई कसरी हेर्नुभएको छ ?

न्यायाधीश विभाजित छैनन् । उनीहरू सबै एकै ठाउँमा छन् । प्रधानन्यायाधीशसँग को छ र ? उहाँ एक्लै हुनुहुन्छ । सर्वाेच्च अदालतमा सबै न्यायाधीश एक ठाउँमा छन्, प्रधानन्यायाधीश मात्रै अलग हुनुहुन्छ । त्यसकारण उहाँको नेतृत्व पूर्णतः असफल र असक्षम भएको प्रमाणित भएको देख्छु ।

महाभियोगको पनि विकल्प छ, यसमा जान सकिन्छ कि विवादको निकास के हुन सक्छ ?

महाभियोग अन्तिम विकल्प हो । त्यो ब्रह्मास्त्र हो । त्यसमा राजनीतिक समझदारीको पनि आवश्यकता पर्छ । त्यो विकल्पमा पनि पुग्न सक्लान् । तर, मुलुक, प्रधानन्यायाधीश, सम्पूर्ण न्यायपालिका र संविधानको रक्षाका निम्ति पनि त्यहाँसम्म नजानु नै वेश हुन्छ ।

न्यायालयमा अहिले जे देखिएको छ, यसले समग्र न्यायप्रणालीमा पुनर्संरचनाको माग गरेको छ कि ?

पुनर्संरचनाको कुरा गर्दा हामीले ०७७ देखिकै हेर्नुपर्छ । पटक–पटक पुनर्संरचनाको कोसिस नभएका होइनन् । तर, हामीले स्थिरता दिन सकिरहेका छैनौँ । मुलुक र जनताका लागि यो दुर्भाग्य हो । हामीले यही संविधानअनुसार अगाडि बढ्नुपर्छ । संविधानलाई चलायमान बनाउन सक्नुपर्छ । पुनर्संरचना गर्ने हो भने न्यायपालिकाको मात्रै होइन, धेरैको गर्नुपर्ने हुन सक्छ । जसले हाम्रो संविधान र व्यवस्थालाई पनि सिध्याउन सक्छ । त्यसकारण त्यसरी नसोचौँ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार