काठमाण्डौंः बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा नौ सय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरुको आँखा परीक्षण गरिएको हो । कास्कीको पोखरा महानगरपालिका–१ शङ्करटोलस्थित पोखरा व्यावसायिक महिला क्लबले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको हो ।
तीमध्ये ७७ जनाको निःशुल्क शल्यक्रिया गरिएको क्लबका उपाध्यक्ष एवं निःशुल्क आँखा शिविर कार्यक्रमका संयोजक धनेश्वरी पराजुलीले जानकारी दिनुभयो । क्लबले जर्मनीका माइकल बाउरको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा तीन दिने सो शिविर सञ्चालन गरेको हो ।
ढोरपाटन नगरपालिका, लायन्स क्लब अफ ढोरपाटन, ढोरपाटन चेम्बर अफ कमर्स र बुर्तिवाङ राइजिङ युथ क्लबले समेत शिविर सञ्चालनमा सहयोग गरेको थियो । सो अवसरमा क्लबले हिमालय आँखा अस्पताल पोखरालाई करिब रु आठ लाख बराबरको आँखा जाँच्ने मेसिन सहयोग गरेको थियो ।
यसअघि पर्वतको मोदी गाउँपालिका–७ राम्जाठाँटीस्थित पशुपति मावि, वडा नं १ को सेराबेँसी, पोखरा महानगरपालिका–१५ स्थित परोपकार गुरुकुल आश्रमलगायत स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको क्लबले जनाएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया