मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

सबै नागरिकलाई पुग्ने खोपको व्यवस्थाः स्वास्थ्य मन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड नियन्त्रणका लागि सरकारले अहिले देशका सबै नागरिकलाई पुग्ने खोपको जोहो गरिसकेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुनापति गाउँपालिकाले शुक्रबार साँझ रामेछापमा आयोजना गरेको पार्टीको प्रथम अधिवेशनमा मन्त्री खतिवडाले सबै नागरिकलाई पूर्ण खोप लगाएर कोरोनाबाट सुरक्षित हुन आग्रह गर्नुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभाव व्यवस्थापनका लागि अर्को व्यवस्था नहुँदासम्म सरकारको छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीलाई करारमा नियुक्ति गरी कार्य क्षेत्रमा खटाइने प्रष्ट पार्नुभयो । उहाँले स्थानीय तहका कुनै वडामा कुनै प्रकारका स्वास्थ्य संस्था नभएकाले स्वास्थ्य संस्था स्थापना गर्न पहल भइरहेको बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट दोस्रो पटक भएको संसद् विघटनले राजनीतिक समस्या आएपछि संसद्का बहुमत सदस्यसहितको हस्ताक्षरबाट वर्तमान सरकार गठन भएको जानकारी गराउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) सुनपाति गाउँपालिकाका अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका रामेछाप जिल्ला इञ्चार्ज देवशङ्कर पौडेल, सहइञ्चार्ज होम बुढाथोकी, केन्द्रीय सदस्य शान्ता पौडेल, मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत, जिल्ला सचिव लालसिंह घिसिङ, काठमाडौं–रामेछाप सम्पर्क मञ्चका अध्यक्ष सुवास खत्रीलगायतले स्थानीय तहमा राजनीतिक सङ्गठन विस्तारका लागि सुझाव दिनुभएको थियो ।

सुनापति गाउँपालिकामा दुर्गा घिमिरेको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी गठन भएको छ भने वडा नं ३ हिलेदेवी, वडा नं ४ बेथान र वडा नंं ५ खनियाँपानीको वडा कमिटी पनि गठन भएको सो पार्टीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया