असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेसको रथ हाँक्न देउवा स्वतः असान्दर्भिक सावित भइसके- कृष्ण पहाडी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२ जनवरी २०२० का दिन भारतीय राष्ट्रवादी कांग्रेसका महासचिव डीपी त्रिपाठी अस्ताए। पछिल्लो चरणमा नेपालको लोकतान्त्रिक आन्दोलनमा सद्भाव र शुभेच्छा मात्र होइन सहयोग पनि गरेका थिए त्रिपाठीले। सानो दलका नेता भए पनि भारतका ठूला दललाई (भाजपालाई छाडेर) नेपाल सन्दर्भमा एक ठाउँमा ल्याउन जनआन्दोलनताका त्रिपाठीले भूमिका खेलेका थिए। त्रिपाठीसँग मेरो अन्तिम भेट ११ वर्षअघि भएको थियो। २०६५ सालको उत्तरार्धमा त्रिपाठी काठमाडौं आएको बेला ताहाचलस्थित एउटा पाँचतारे होटेलमा जमघट थियो। त्यसबेला प्रचण्ड नेतृत्वको सरकार अस्तित्वमा थियो। ‘यही ताल हो भने तपाईंहरूको सरकार केही महिनाभित्र ढल्छ।’ त्यो जमघटमा भेटिएका एकजना माओवादी नेतालाई मैले आफ्नो विश्लेषण सुनाएको थिएँ। सायद मेरो कुरा तिनले पत्याएनन्। नभन्दै २०६६ वैशाख लागेपछि राजनीतिक उतारचढाव तीव्र हुन थाल्यो।

माओवादीले दुईवटा नाउमा पाउ राखेको थियो। एउटा पाउ संविधानसभामा र हातमा सरकारको नेतृत्व थियो। अर्को पाउ जनवादीकरणको वकालत गरिरहेको थियो। स्वस्थ/अस्वस्थ वा ठीक/बेठीक प्रक्रिया जेसुकै भए पनि २०६६ वैशाखमा सत्ताबाट माओवादीको बहिर्गमन भयो। नेकपाभित्र अहिले साम्यवादमा जाने गरी पार्टीको विधान संशोधन गर्ने भन्ने निर्णय भनांै वा बहसले फेरि एकपटक २०६६ सालको प्रकरण स्मरण गराएको छ।

कतिपय कांग्रेसजन २०७९ सालमा हुने आम निर्वाचनको परिणाम कस्तो आउला भन्ने जिज्ञासा राख्छन्। उनीहरूलाई म प्रतिप्रश्न गर्छु कांग्रेसजन के चाहन्छन् ? र कुन मार्गबाट अघि बढ्छन् परिणाम त्यसैमा निर्भर गर्छ। तर जुन शैली अहिले कांग्रेसले अवलम्बन गरिरहेको छ त्यही निरन्तर रहने हो भने कांग्रेसका लागि शुभ समाचार छैन।

२०५१ सालको मध्यावधि निर्वाचन घोषणा भएपछि नेपालको राजनीतिक इतिहासका भीमकाय व्यक्तित्व गणेशमान सिंहले मलाई भेट्न बोलाउनुभयो। त्यसबेला उहाँ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग क्रुद्ध हुनुहुन्थ्यो र भन्नलाई कांग्रेसका ‘सर्वमान्य नेता’ भनिए पनि कांग्रेससँग दिक्क हुनुहुन्थ्यो। खुमलटारस्थित उहाँ बसेको ठाउँ पुग्नासाथ एक श्वासमा सिंहले भन्नुभयो ‘गिरिजामार्कालाई हराउन सक्रिय हुनुपर्‍यो।’ पीएल सिंह यताउता छटपट गरिरहेका थिए। गणेशमान सिंह आफ्नै सुरमा बोलिरहनुभएको थियो। २०४९ सालपछि मैले राजनीति छोडिसकेको थिएँ र मानव अधिकार अभियानमा सक्रिय भएका कारण कसैलाई हराउने वा जिताउने अभियानमा म संलग्न हुन सक्दिनथें। त्यसैले उहाँको आग्रहलाई मैले स्वीकार्न सकिनँ।

त्यसैको सेरोफेरोमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भेट्न खोजेको खबर मलाई आयो। मन्तव्य व्यक्त गर्दा र लेखमा कोइरालाको प्रखर आलोचक भएका कारण कोइराला क्याम्पले मलाई गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईबाट सञ्चालित भएको आरोप लगाउँथे। साथसाथै ममाथि सत्ताको वक्रदृष्टि पनि थियो।

स्वतन्त्रताको प्राण हरण गर्ने सरकारी नियत र लोकतन्त्रको चिर हरण गर्ने साम्यवादी बहस सत्ताले अघि सारेको बेला लोकतन्त्र र स्वतन्त्रताका लागि चट्टान जस्तो उभिएको र उभिन सक्ने कांग्रेस नेतृत्व अहिले देशले खोजेको छ। कांग्रेसभित्रको द्वन्द्व तत्काल अन्त्य गरी शीघ्र सहमतिमा पुग्न दुवै पक्षका होनहार नेताकार्यकर्ताले प्रयास गरेनन् भने आफ्नो चिहान कांग्रेसजन आफैंले खनेको ठहरिनेछ।

प्रधानमन्त्री कोइरालालाई भेट्न मलाई जाँगर चलेन तर प्रधानमन्त्री कार्यालयमा सचिवको रूपमा समेत कार्यरत मेरा बडा बा शारदाप्रसाद दाहालले एकपटक भेट्दा के भयो त भनी पुनः स्मरण गराएपछि प्रधानमन्त्री कोइरालालाई भेट्न म सिंहदरबार पुगें। ‘निर्वाचनमा पार्टी (नेपाली कांग्रेस) लाई जिताउन सक्दो सहयोग गर्नुपर्‍यो’ प्रधानमन्त्री कोइरालाले आग्रह गर्नुभयो। त्यो भेटमा तीनवटा कुरा मैले प्रधानमन्त्री कोइरालालाई प्रष्ट भनें। एक, एउटा मानव अधिकार संस्थाको नेतृत्वमा रहेका कारण म कुनै पनि पार्टीको प्रचारमा संलग्न हुन्न। दुई, नेपाली कांग्रेसका उम्मेदवारहरूको विरुद्धमा कुनै पनि हालतमा मेरो संलग्नता रहने छैन। तेस्रो, यो मध्यावधि निर्वाचनको परिणामको कुरा गर्दा नेपाली कांग्रेसले ८३ सिट नघाउने देखिँदैन। केहीबेरको सौहार्दपूर्ण कुराकानीपछि म निस्किएँ। नभन्दै त्यो निर्वाचनमा दोस्रो स्थानमा झर्दै कांग्रेस ८३ सिटमा खुम्चियो।

२०५६ सालको आम निर्वाचनको घोषणा भएपछि फेरि एकपटक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भेट्न खोजेको खबर आयो। बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा पाल टाँगिएको रहेछ जहाँ थुप्रै व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको रहेछ। पार्टीलाई (नेपाली कांग्रेस) सहयोग गर्न आग्रहसहित कोइरालाले मन्तव्य टुंग्याउँदै मतिर औंला देखाएर तपाईंसँग म फेरि भेट्छु भन्नुभयो। त्यो निर्वाचनमा निर्वाचन आयोगबाट मान्यता प्राप्त गरी शान्ति समाजका तर्फबाट सयभन्दा बढी राष्ट्रिय पर्यवेक्षक परिचालन गर्नुका साथै शान्ति समाजको निर्वाचन पर्यवेक्षण कार्यको मैले नेतृत्व गरेको थिएँ। त्यसैले कुनै पार्टीको समर्थन वा विरोध गर्ने वा पक्षविपक्षमा प्रचार गर्ने कुरै भएन त्यसमाथि पनि मैले राजनीति छाडेको सात वर्ष भइसकेको थियो। विश्लेषणका क्रममा कांग्रेसका कैयन् नेताहरूलाई मैले भनेको थिएँ-यो निर्वाचनमा कांग्रेसले सामान्य बहुमत ल्याउँछ। पर्यवेक्षणको सिलसिलामा छिन्चु, सल्लीबजार, कैनकाँडा हुँदै माओवादीको गढ छिचोलेर पैदल जाजरकोट पुगी फर्केपछि मैले प्रष्ट विचार व्यक्त गरेको थिएँ ‘यदि वार्तामार्फत माओवादीसँग सहमति जुट्न सकेन भने यो संविधान ( २०४७) अन्तर्गत संसद्को यो नै अन्तिम चुनाव ठहरिनेछ।’

२०५८ मंसिर ८ पश्चात दाङ र सोलुका सैनिक ब्यारेकमा माओवादीले भीषण आक्रमण गरेपछि मंसिर ११ गते देशमा संकटकाल लागू भयो। त्यो बेला नेपाली कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री थिए। ६ महिनासम्मका लागि लगाइएको संकटकाल जेठ दोस्रो साता सकिँदै थियो। संकटकालको समय पुनः थप गर्ने कि नगर्ने भन्ने विषयमा त्यो बेलाको प्रमुख प्रतिपक्ष एमालेले संकटकालको विपक्षमा जाने निर्णय गर्‍यो भने अन्तिम चरणमा नेपाली कांग्रेस पनि संकटकाल नबढाउने पक्षमा उभियो। यसैबीच प्रधानमन्त्री देउवाले संकटकाल थप्न संसद्मा प्रस्ताव दर्ता गराए र उक्त प्रस्तावबारे संसद्मा छलफल नै नगरी मध्यरातमा देउवाले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरे र सोहीबमोजिम २०५९ जेठ ८ गते तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा विघटन गरे।

२०५८ असोजपछि देउवाको नियतबारे शंका व्यक्त गर्दै मैले कठोर आलोचना गर्न थालेको थिएँ। यस क्रममा देउवाको काँधमा बन्दुक राखेर ज्ञानेन्द्रले पड्काउन थालेको र प्रतिनिधिसभा विघटन गर्न सक्ने आशंका मैले सार्वजनिक रूपमै व्यक्त गरेको थिएँ। कुनैबेला राजनीतिक बनवासमा पुगिसकेका देउवाले पुनरागमन गरे। २०७२ मा कांग्रेसको सभापति भए र २०७४ मा चौथो पटक प्रधानमन्त्री। २०७४ को संसदीय निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय व्यहोरिसकेका कारण अर्को निर्वाचनमा कांग्रेसको रथ हाँक्न देउवा स्वतः असान्दर्भिक सावित भइसकेका छन्।

विकसित लोकतन्त्रको अभ्यास हेर्ने हो भने २०७४ को निर्वाचनपछि नै नैतिकरूपमा देउवाले पार्टी सभापतिबाट राजीनामा दिनुपर्ने हो। तर, कांग्रेस सभापति शेरबहादुर देउवा राज्यसत्तामा वामपन्थी दलहरूको वर्चस्व भए होस् तर पार्टी सत्ता (नेपाली कांग्रेस) मा आफ्नै वर्चस्व रहनुपर्ने हठले ग्रस्त छन्। २०७९ को निर्वाचनको सम्भावित परिणामको अनुमान गर्दा फेरि म दोहोर्‍याउँछु देउवाको नेतृत्वमा कांग्रेसले चुनाव लड्नु भनेको दशकौंसम्म नेकपालाई सत्ताको चाबी बुझाउनु हो।

जसरी २०६५ सालमा सत्ताको नेतृत्व गरेर पनि माओवादी जनवादीकरणको वकालत गर्दै थियो त्यसैगरी अहिले सत्ताको नेतृत्व गरेर पनि नेकपा गन्तव्य साम्यवादको वकालत गर्दैछ। वकालत मात्र होइन आधा दर्जनभन्दा बढी स्वतन्त्रताविरोधी विधेयकहरू पारित गर्न खोजेको देख्दा साम्यवादतर्फको अभ्यास गरिरहेको आशंका जन्मिएको छ। यो सरकार स्वतन्त्रताविरोधी मार्गमा अग्रसर हुँदै गइरहेको छ। प्रतिपक्षी कांग्रेसका लागि यो भन्दा ठूलो मुद्दा अरू के हुन सक्छ ? सुशासनको कुरा गर्दा यो सरकार दर्जनौं घोटालाहरूमा संलग्न भएका प्रमाण आइरहेका छन्। प्रतिपक्ष कांग्रेसका लागि निर्वाचनमा यो भन्दा ठूलो खुराक अरू के हुन सक्छ ?

नेपाली कांग्रेसले २०७९ को निर्वाचन पनि शेरबहादुर देउवाको नेतृत्वमा लड्नु भनेको दशकौंसम्म नेकपालाई सत्ताको चाबी बुझाउनु हो

कुनै बेला मनमोहन अधिकारी नेतृत्वको सानो माक्र्सवादी पार्टी र गतिलो संगठन भएको मालेबीच एकीकरण भएर नेकपा एमाले बनेको थियो। मनमोहन अधिकारीको राजनीतिक उचाइलाई पूर्व मालेले भजायो, मालेको जुझारु संगठनको बलमा पूर्व माक्र्सवादीले नयाँ जीवन पाए। राजनीतिमा नैतिकता र नेतृत्वको वजनको ठूलो अर्थ हुन्छ। २०७९ को निर्वाचनमा कांग्रेसको नीति, नेता र कार्यकर्ताको निष्ठाको जोडदार समन्वय भयो भने मात्र धनबल, बाहुबल र जनबलमा बलियो नेकपालाई टक्कर दिन सक्ला।

नीतिको कुरा गर्दा आफ्नै नेतृत्वमा आएको ऐतिहासिक परिवर्तनविरुद्ध कांग्रेसभित्र गाइँगुइँ सुरु भएको छ। नेताको कुरा गर्दा त्याग र सदाचारका लागि योगदान गरेका भन्दा सत्ताको जोड घटाउमा पल्केका आयाराम गयारामहरू सूत्रधार बन्न खोजेको देखिन्छ। निष्ठाको कुरा गर्दा अहिलेका कैयन् कांग्रेस कार्यकर्तालाई न स्वतन्त्रता संरक्षणको चेत छ न त लोकतान्त्रिक संस्कृतिको चिन्ता। राजनीति थालेको पाँच वर्ष भएको छैन तर कुनै न कुनै निर्वाचनमा टिकट खोज्नेहरूको बाहुल्यता छ। सम्बन्धित क्षेत्रमा विज्ञता छैन तर धेरैलाई राजनीतिक पदमा नियुक्ति चाहिएको छ। विकृतिको कुरा गर्दा संसदीय निर्वाचनको कुरा छाडौं कांग्रेसको महाधिवेशन र महासमिति प्रतिनिधि चुनिन धनको खोलो बग्न थालेको छ।

यस्तो विकृतिबाट मुक्त राख्दै कांग्रेसमा प्राण फुक्न सर्वप्रथम भएमध्येका त्यागी र नैतिकवान नेतृत्व चयनका लागि कांग्रेसजनहरू अग्रसर हुनुपर्छ जसको नेतृत्वमा २०७९ सालको निर्वाचनमा कांग्रेस उम्मेदवारहरू शीर ठाडो पारेर उभिउन्। नेताहरूको कुरा गर्दा स्वभावगत कमजोरी सबैका हुन्छन् तर आज पनि कांग्रेसमा अनेकौं त्यागी, लोकतन्त्रका लागि लडेका र दुःख भोगेका नेताहरू जीवित छन्। लोकतन्त्रका खातिर १४ वर्ष कहालीलाग्दो जेल जीवन व्यतित गरेका नेता पनि छन् जुन वर्तमान पुस्ताको कल्पना भन्दा बाहिरको योगदान हुन सक्छ।

नेकपालाई चुनौती दिने हो भने झिना मसिना कुरा बिर्सिनुपर्छ, धुलोलाई हटाउनुपर्छ, भएकैलाई पालिस लगाएर टल्काउनुपर्छ। स्वतन्त्रताको प्राण हरण गर्ने सरकारी नियत र लोकतन्त्रको चिर हरण गर्ने साम्यवादी बहस सत्ताले अघि सारेको बेला लोकतन्त्र र स्वतन्त्रताका लागि चट्टान जस्तो उभिएको र उभिन सक्ने कांग्रेस नेतृत्व अहिले देशले खोजेको छ। तर कांग्रेसजन के चाहन्छन् ? एक पक्षले अर्कालाई नंग्याउन थाले भने कांग्रेस रक्षात्मक मात्र बन्ने छैन अहिलेको भन्दा पनि कम सिटमा झर्ने सम्भावना छ। तसर्थ कांग्रेसभित्रको अहिलेको द्वन्द्व तत्काल अन्त्य गरी शीघ्र सहमतिमा पुग्न देउवा र रामचन्द्र पौडेल पक्षका होनहार नेता कार्यकर्ताले प्रयास गरेनन् भने आफ्नो चिहान कांग्रेसजन आफैंले खनेको ठहरिने छ। अन्नपूर्ण पोष्ट दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया