काठमाण्डौंः नेकपा माओवादी केन्द्रले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा सञ्चालित विभिन्न योजनाको पारदर्शीतामाथि प्रश्न उठाएको छ । नेकपा माओवादी केन्द्र बाहुनीडाँडा वडा कमिटीले २०७४ सालको स्थानीय तहको निर्वाचनपछि कार्यान्वयनमा आएको वडा कार्यालयले सञ्चालन गरेको अधिकांश विकास निर्माणको पारदर्शीतामाथि प्रश्न उठाएको हो ।
बिहीबार प्रेस विज्ञाप्ती जारी गर्दै माओवादी केन्द्रको वडा कमिटीले हालसम्म वडामा विकासका योजना/आयोजना सञ्चालन गर्दा जनतालाई थाहा नदिई सूचनासमेत गोप्य राख्ने गरिएको, टोल समितिबाट सिफारिस भएका योजनाहरू कार्यान्वयन नभएको दाबी गरेको छ ।
माओवादी केन्द्र वडा कमिटीका अध्यक्ष लालबहादुर राईले जारी गरेको विज्ञाप्तीमा जनताले पाउनु पर्ने सूचनाको हक र अधिकारलाई बेवास्ता गरिएको, योजना तथा आयोजनाका लागि आएको बजेट गुपचुप राखेर उपभोक्ता समिति गठन गर्दै कागजी प्रक्रियामा मात्र योजना सञ्चालन गरिएको देखिएको आरोप लगाइएको छ ।
‘हरेक विकासका बारेमा सूचना पाउनु जनताको नैसर्गिक अधिकार हो । यत्तिको समयसम्म वडा कार्यालयको सार्वजनिक सुनुवाइ नहुनु, उपभोक्ता समिति गठन हुँदा समुदायलाई थाहा नहुनु, कति बजेट कहाँबाट आएको, कसरी खर्च भए ? भन्ने जानकारी नपाउनु दुःखद हो,’ विज्ञाप्तीमा भनिएको छ । हालसम्म विकासे योजना सञ्चालन गर्दा जनतालाई नै थाहा नदिई सूचना गोप्य रूपमा राख्ने प्रयास हुनु, टोल समितिबाट सिफारिस भएका योजनाहरू कार्यान्वयन नहुनुले पारदर्शीतामाथि प्रश्न उठेको माओवादीको आरोप छ ।
साविकको बाहुनीडाँडा–९ कुन्तीखोला खानेपानी आयोजना, साविकको बाहुनीडाँडा–४, ५ र ६ स्थित सिसिङरा–बेता–साउने–निङलाम बाटो मर्मत, केन्द्रीय विद्युत् प्रशारणलाइनमा भएको लापरबाही र ढिलाइले वडामा भ्रष्टाचार मौलाएको देखाएको माओवादी केन्द्रको दाबी छ ।
‘जनताको लागि आएको विकास र योजनाहरू पारदर्शी रूपमा देखाएर अगाडि बढ्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं,’ विज्ञाप्तीमा भनिएको छ, ‘हरेक विकासका कार्यक्रमहरू पारदर्शिता हुन आवश्यक छ । जनताले सूचना पाउने अधिकार कायम गरौं ।’ -न्यूज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया