बैसाख २२, २०८३ मंगलबार May 5, 2026

शेरबहादुर देउवाको दोस्रो कार्यकाल स्वर्णिम कार्यकाल हुन्छ । – महालक्ष्मी उपाध्याय ‘डिना’ (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ । आगामी कार्ययोजना के छन्, कसरी अगाडि बढ्दै हुनुहुन्छ ?

समावेशी समानुपातिकरुपमा पार्टीलाई लैजान हामीले विधान परिमार्जन गर्यौं । त्यतिबेला पार्टीको निर्णायक तह (पदाधिकारी) पनि समावेशी हुनुपर्छ भन्ने आवाज थियो । पार्टीको निर्णायक तह समावेशी बनाउन संविधानले व्यवस्था गरेको ८ वटा क्लस्टर अनुसार सहमहामन्त्रीको व्यवस्था गर्यौं ।

त्यतिबेला हामीले पदाधिकारीमा एक तिहाइ महिलाको सुनिश्चता गर्यौं भन्ने माग थियो । क्लस्टरअनुसार सहमहामन्त्री दिने कुरा सर्वसम्मत भयो । तर, पदाधिकारीमा एक तिहाई महिला दिने भन्ने कुरा पास हुन सकेन । त्यसमा हामीले असहमति पनि दर्ज गरेका थियौं ।

पुरानो विधानमा ५ पदाधिकारीमा कोषाध्यक्षमा महिला निर्वाचित भएर आएको अवस्था थियो । तर अहिले आज १३ जना पदाधिकारी हुँदा पनि एकजना मात्र महिला पदाधिकारी भएको अवस्था छ । सभापति ज्यूले भोलि कोषाध्यक्षमा महिलालाई नै मनोनित गर्नु हुन्छ होला ।

त्यसो हुँदा दुई जना हुन्छौं । तर त्यो १५ प्रतिशत मात्र हुनु जान्छ । त्यस कारण निर्णायक तहमा महिलाको सहभागिता एक तिहाइ बनाउने मेरो एजेण्डा हो । यो एजेण्डा अगाडि लैजान्छु । पहिला–पहिला  पार्टीमा एक तिहाइ महिलाको उस्थिति चाहन्छ भन्दा कहाँबाट ल्याउने भन्ने थियो । तर आज पार्टीमा सक्रिय महिला प्रशस्त रहेछन् भनेर १४ औं महाधिवेशनमा देखियो ।

अहिले देशरभरीबाट आएका महिला हेर्दा सबै केन्द्रीय सदस्य हुन लायक आउनुभयो । प्रत्येक जिल्लामा सशक्त महिला हुनुहुन्छ । निर्णायक तहमा उनीहरुको पनि भूमिका रहोस् चाहना हो । हामीले पदाधिकारीमा आरक्षण हुनुपर्छ भनेका छौं । तर भोलि पदाधिकारीमा आरक्षण नभएपछि लड्ने सक्ने क्षमता र अवस्था सिर्जना गर्ने मैले योजना बनाएको छु ।

सहमहामन्त्रीको काम र अधिकार विधानमै प्रस्ट छैन । ८ जना सहमहामन्त्री अधिकारविहीन हुनुहुन्छ । अरुको अधिकारका लागि लड्छु भन्दै गर्दा तपाईंको आफ्नै अधिकारको के हो भन्ने अन्योल छ नि ?

पार्टीमा धेरै काम छन् । म अहिले महिला सहमहामन्त्री बन्दै गर्दा देशभरि महिलाको समग्र परिस्थितिबारे काम गर्न सकिन्छ । महिलालाई पार्टीको मूलधारमा कसरी स्थापित गर्न सकिन्छ, वडादेखि केन्द्रसम्म महिलालाई कसरी समावेश गर्ने भन्ने कुरामा पनि काम गर्न सकिन्छ । त्यो पनि काम हो नि त  । त्यो पनि मेरो जिम्मेवारी हो । सबै वर्ग र क्षेत्रबाट आएका सहमहामन्त्रीका लागि धैरै काम छ ।

तपाईले भनेजस्तो पार्टी विधानले सहमहामन्त्रीको यो काम भनेर तोकेको छैन । तर, पदाधिकारी स्वतः संसदीय बोर्ड र कार्यसम्पादन समितिमा रहने व्यवस्था छ । पार्टीको आधिकारिक निर्णय अब त्यहाँबाट हुन्छ । किनभने केन्द्रीय समिति पनि ठूलो भइसकेको छ । साथै अबको समहमहामन्त्रीको अधिकार पनि तोक्ने कुरामा पार्टी पदाधिकारी तहमा छलफल भइरहेको छ ।

तपाई पदाधिकारीमा लड्ने क्षमता र अवस्था सिजर्ना गर्छु भन्नुहुन्छ । यो महाधिवेशनमा एकजना पनि महिला खुला केन्द्रीय सदस्य निर्वाचित हुन सक्नुभएन । ९९ जनामा एकजना महिलाले मात्र उम्मेदवार दिनुभयो । तपाईले भनेका तलबाट आएका सक्षम महिला खुला प्रतिस्पर्धामा किन डराइराख्नुभएको छ ?

डराएको होइन । केन्द्रीय समितिमा एक तिहाइ महिला भइसक्यो भनेर खुलामा प्रतिस्पर्धा नगर्नुभएको होला । अब १५ औं महाधिवेशनमा सिन फरक हुने छ । १४ औं महाधिवेशनमा धेरै साथीहरुले पार्टीमा रुपान्तरण र पुस्तान्तरणको कुरा गर्नुभयो । हिजो लामो समय पार्टीलाई जीवनतता दिँदै आउनुभएको, पार्टी सांगठिक स्वरुपलाई बचाउँदै लगेको नेतृत्वलाई सम्मान गर्नुपर्छ भन्ने थियो ।

अब नयाँ आउने पुस्तालाई पनि पार्टीमा स्थान दिँदै जानुपर्छ भन्ने मेरो अवधारण थियो । यो दुईवटैको समायोजनबाट पार्टी बन्छ भन्ने मेरो सिद्धान्त हो । अहिले पुस्तान्तरण र  रुपान्तरण पनि भएको छ ।

योसँग सँगै १५ औं महाधिवेशनमा आरक्षण कोटामा न महिला रहन्छन्, न दलित रहन्छन् न अरु क्लस्टर रहन्छन् । हामी सबैले अन्य तहमा जान सक्ने दक्षता विकास भइरहेको छ । भोलि सबै प्रतिस्पर्धा हुने आरक्षण नचाहेन अवस्था पनि आउँछ । हामीले त्यो बाटो तय गर्ने हो भन्ने मलाई लाग्छ ।

७६ वर्षको मान्छेलाई सभापतिमा दोहोर्याएर पार्टीमा कसरी रुपान्तरण र पुस्तान्तरण भयो भन्नुहुन्छ ?

१४ औं महाधिवेशनमा रुपान्तरण र युवा पुस्ताको समायोजन भएको छ । लामो समयदेखि पार्टीलाई सम्हाल्दै आउनु भएका नेताबाट हामीले संरक्षण पनि पाएका छौं । पुराना नेताहरु पनि आउनुभएको छ । कोही सदस्य भएर बस्नुभएको छ । कोही सभापति हुनुभएको छ । कोही उपसभापति हुनुभएको छ ।  आजसम्म पार्टीलाई बचाउनुभएका नेताहरु पनि हुनुहुन्छ र युवा साथीहरु पनि नेतृत्वमा आइराख्नुभएको छ ।

१४ औं महाधिवेशनले के सन्देश दिएको जस्तो लाग्छ ?

१४ औं महाधिवेशनले सबैको सहभागिता र समावेशितालाई स्वीकारेको छ । काँग्रेसमा मात्र सबैको हक स्थापित हुँदोरहेछ भन्ने कुरालाई आम नेपाली जनताले बुझ्नुभएको छ । यो सन्देशले भोलिको आम निर्वाचनलाई फरक पार्न सक्छ । यसले नेपाली काँग्रेसप्रतिको आकर्षण बढाउँछ र आम निर्वाचनामा हामीलाई राम्रो हुन्छ भन्ने मेरो बुझाइ छ ।

तर, शेरबहादुर देउवाको अनुहार देखाएर काँग्रेस चुनावमा जाँदा घाटा हुन्छ भन्ने निष्कर्षमा काँग्रेसकै नेताहरु पुगेको अवस्था छ । पार्टी समावेशी हुँदैमा भोट आउला र ?

कसरी घाटा हुन्छ ? बरु फाइदा हुन्छ । पार्टी सभापति शेरबहादुर देउवा समावेशी सिन्द्धान्त पक्षपाती नेता हो । उहाँ पार्टी नेतृत्वमा हुँदा होस् वा सरकारमा हुँदा उहाँले समावेशी राजनीतिलाई अगाडि बढाउनुभएको छ । समावेशी राजनीतिका सवालमा हामी बीपीलाई सम्झन्छौं । उहाँले लिखित विधान नहुँदा पनि पार्टीमा दलित, महिला, मुस्लिम लगायतलाई समावेश गरेर लानुभयो । राष्ट्रको सबै अंगमा त्यो पचिानलाई स्वीकार गर्नुभयो । त्यसैलाई आधार मानेर पार्टी सभापति शेरबहादुर देउवाले हरेक तहमा सबैलाई समावेश गर्न वातावरण सिर्जना गर्नुभएको छ । त्यो ‘फेस’ सबैका लागि राम्रो होला नि । सबैका लागि फाइदाजनक होला नि । अब उहाँ ‘आउट गोइङ’ हो । अब उहाँ पार्टीको विधानका कारण सभापति बन्न आउनुहुन्न । त्यस कारण उहाँ जत्तिको सिनियर नेतृत्वलाई अगाडि सारेर निर्वाचनमा जाँदा हाम्रा लागि अत्यन्तै फाइदाजन हुन्छ ।

महामन्त्रीमा जुझारु युवा आउनुभएको छ । कार्यसमितिमा अनुभवी र उर्जावान नेताहरु आउनु भएको छ । वर्तमान कार्यसमिति ऐतिहासिक छ । वर्तमान नेतृत्व नै मुलुकको वर्तमान आवश्यता हो । त्यो कुरा पार्टीमा महाधिवेशन प्रतिनिधिले ठानेर नै शेरबहादुर देउवालाई पुनः सभापति बनाउनुभएको हो ।

शेरबहादुर देउवालाई ०७४ को आम चुनावमा देखेकै हो । ०७२ सालमा सभापति भएपछि उहाँले चलाएको पार्टी पनि नदेखेको होइन । त्योभन्दा फरक के हुन्छ ? केही युवा पदाधिकारीमा आउँदैमा के कायापलट होला र ?

हामीले पार्टीमा युवा पुग्नुपर्छ, महिला पुग्नुपर्छ भन्दै गर्दा एउटा परिपक्व नेतृत्व आएको छ । उहाँमा कुनै उर्जाको पनि कमी छैन । मतदानमा राति म उहाँभन्दा २ घण्टा अगाडि घर आएकी थिएँ । बिरामी भएर सुतेँ । उहाँ दुई घण्टापछिसम्म त्यो चिसोमा बस्नुभयो । उहाँ जस्ताको त्यस्तै हुनुहुन्छ । त्यसकारण उमेरले मात्र काम गर्दैन । उहाँमा जुन दक्षता छ, त्यसले पार्टीलाई अगाडि बढाउँछ । हामी निराश हुनुपर्ने ठाउँ छैन ।

१४ औं महाधिवेशनको प्रतिस्पर्धाबाट वडादेखि केन्द्रसम्म पार्टीमा उत्पन्न अन्तरविरोधलाई कसरी मिलाएर जाने सोचमा हुनुहुन्छ ?

सभापति शेरबहादुर देउवाले आफ्नो टीममा राख्नुभएका ८० प्रतिशत मान्छे जितेर आउनुभएको छ । त्यसमा सधैं उहाँकै साथमा रहेका माान्छे मात्र छैनन् । हिजो अर्को टिममा काम गर्नुभएका साथीहरु समावेश गरेर टीम बनाउनुभएको थियो । पार्टीमा धेरैलाई समेट्ने वातावरण बनेको छ ।

पार्टी सभापतिले आफ्ना प्रत्यासीलाई भेटिसक्नुभएको छ । काँग्रेस केन्द्रीय समितिमा रहेका नेताहरुलाई पनि समेटेर जाने कुरामा पार्टी सभापति उदार हुनुहुन्छ । उहाँलाई पार्टीमा अप्ठ्यारो हुन्छ जस्तो लाग्दैन । सबैले आ–आफ्नो स्थानमा बसेर पार्टी निर्माणमा लाग्नु हुन्छ । ०७९ को आम निर्वाचमा सबै एक भएर लाग्नुहुन्छ । पार्टी सभापतिका उम्मेदवार भएका नेताहरुबाट पनि यो कुरा आइसकेको छ । सबै सँगै मिलेर जाने वातावरण तय हुन्छ ।

१३ औं महाधिवेशनपछि साढे पाँच वर्ष देउवाको नेतृत्वमा काँग्रेस अस्तव्यस्त अवस्थामा चल्यो । फेरि देउवा नै आउनुभएको छ  । पदाधिकारी तहबाट लथालिङ्ग अवस्थामा रहेका पार्टीका निकाय र भ्रात संस्थामा केही सुधार हुन्छ ?

साढे पाँच वर्षको त्यो दौडानमा आपसी अन्तरद्वन्द्व धेरै भए । निर्णय गर्न सभापतिलाई केही असहज भयो । एकपक्षीय ढंगले अगाडि जान सभापतिज्यू चाहनुभएन । सबैलाई मिलाएरै जान्छु भन्दा यस्तो अवस्था भएको हो । अहिले पदाधिकारीमा युवा आउनुभएको छ । पार्टीलाई चुस्त दुरुस्त बनाउन हामी सबै लाग्छौं । अब पार्टीका विभाग, मनोनित र भ्रातृ संस्थालाई चलायमान बनाउँछौं । विभाग बनाउने र मनोनित गर्ने कुरा यथाशीघ्र हुन्छ ।

 १३ औं महाधिवेशनपछि सहमतिका नाममा समयमा निर्णय गर्न सक्नुभएन । अहिले पनि सहमतिका नाममा त्यो अवस्था दोहोरिन सक्छ । रामचन्द्र पौडेल जस्तै अब शेखर कोइरालासँग भागबण्डा मिलाउन गर्नुपर्ला । समयमै काम हुन्छ भनेर कसरी विश्वास गर्नु ?

आदरणीय शेखर कोइरालाज्यूले कुनै भागबण्डाको राजनीति गर्दिनँ भन्नुभएको छ । उहाँले म मिलेरै जान्छु भन्नुभएको छ । भोलिका दिनमा सहज हुन्छ भन्ने मलाई लागेको छ । म फेरि पनि भन्छु– शेरबहादुर देउवा ‘आउट गोइङ’ पार्टी सभापति हो । उहाँसँग झगडा गरेर जानु कसैका लागि फाइदा हुँदैन । हिजो आजका लागि ब्रेक गर्नु थियो र त्यहाँ अन्तरकलह बढ्यो ।  अब उहाँलाई ब्रेक गर्नुपर्छ भन्ने छैन । पार्टीमा सभापतिलाई असहयोग कसैले गर्छ जस्तो मलाई लाग्दैन । १५ औं महाधिवेशनमा उहाँलाई पार्टी विधानले नै सभापति हुन दिँदैन ।

 विधान संशोधन गरेर फेरि सभापति बन्न सक्नुहुन्छ होला नि ?

त्यो हुँदै हुँदैन । त्यो कल्पनाभन्दा बाहिरको कुरा हो ।

 काँग्रेसमा वर्तमान विधानले सभापतिलाई पंगु बनाउँछ, पदाधिकारी निर्वाचित हुने व्यवस्था हटाउन विधान संशोधन गर्नुपर्छ भन्ने आवाज पनि उठिरहेको छ नि ?

तपाईंले भनेको सही हो । हिजोका दिनमा पार्टी सभापति पक्षीय मान्छे थोरै आए भने पंगु हुन्छ भन्ने थियो । तर, अहिले ८० प्रतिशत सभापति पक्षका मान्छेले जितेका छन् । अब सभापति कसरी पंगु हुनुहुन्छ ? हुँदै हुँदैन नि । सभापतिले मनोनित गर्नु होला । चुनाव जितेर आएको हुनाले सहयोग हुन्छ । आउट गोइङ सभापतिसँग कसैले असहमति राख्नुहुँदैन । बरु आफ्नो संगठन बनाउनतिर लाग्नुहुन्छ । यो कार्यकाल हिजोको भन्दा धेरै बेटर हुन्छ ।

यहाँले लामो समयदेखि शेरबहादुर देउवासँग नजिक भएर काम गरिराख्नुभएको छ । उहाँको यो कार्यकालमा के के उपलब्धी हासिल गर्नुहुन्छ जस्तो लाग्छ ?

शेरबहादुर देउवाको अन्तिम कार्यकाल स्वर्णिम हुन्छ ।

यसका आधार के के हुन् ?

एउटा, रुपान्तरण भएको छ । दोस्रो, पुस्तान्तरण पनि भएको छ । पार्टीको हरेक तहमा सोचेको जस्तो युवा पंक्ति आएको छ । त्यसमा पार्टीको पुरानो पुस्ता पनि समावेश छ । यो समायोजनले पार्टीलाई सशक्त रुपमा नयाँ ढंगले अगाडि लैजान्छ । शेरबहादुर देउवाको दोस्रो कार्यकाल स्वर्णिम कार्यकाल हुन्छ ।

देउवाको यो कार्यकालमा हुन्छ चाँहि के के ? काँग्रेसमा बदलाव के हुन्छ ?

के हुने भन्ने कुरा सभापतिज्यूले भनिसक्नुभएको छ । उहाँले पार्टीलाई बहुमत दिलाउँछु भन्नुभएको छ । उहाँ त्यो बाटोमा लाग्नुहुन्छ । त्यसमा सबैले साथ दिन्छु भन्नुभएको छ । हाम्रा युवा नेताले पनि त्यही भन्नुभएको छ । हामी पनि त्यसैमा लाग्ने हो । उहाँको यो कार्यकाल सुखद र उत्साहजनक हुन्छ ।-रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार