काठमाण्डौंः दाङको विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीका लागि कार्यक्रम सञ्चालन गरिएको छ ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा महेशकुमार खनालका अनुसार यही पुसदेखि मधुमेहका बिरामीलाई निःशुल्करूपमा रगत परीक्षण गर्नुका साथै मिर्गाैला तथा मुटुको जाँच गर्नुका साथै बोसोको समेत जाँच भइरहेको छ ।
सोमध्ये अहिलेसम्म एक सय जनाले उक्त सुविधा लिइसकेको निमित्त निर्देशक डा खनालले बताउनुभयो । त्यस्तै मधुमेह नियन्त्रणमा राख्ने जडीबुटी औषधि तथा परामर्शसमेत प्रदान गर्ने गरिएको उहाँको भनाइ छ ।
करिब तीन सय जनालाई उक्त सेवा प्रदान गर्ने लक्ष्य राखिएको डा खनालले बताउनुभयो । अस्पतालमा दैनिक बिहान ८ देखि दिउँसो १ बजेसम्म सेवा सञ्चालन हुँदै आएको उहाँको भनाइ छ ।
अस्पतालमा हाल पाइल्स, फिस्टुला, फिसर, पारालाइसिस, जोर्नी दुखेका बिरामी, ग्याष्टिक, हातखुट्टा नचल्ने, कब्जियतलगायतको उपचार भइरहेको छ । बिरामीलाई आयुर्वेद उपचार पद्धतिमा आकर्षित गराउनका लागि यसरी नै नयाँ–नयाँ कार्यक्रम ल्याइने उहाँले बताउनुभयो । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको चासोसमेत बढेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया