मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

रुकुमपूर्व अस्पतालमा सुरक्षित गर्भपतन सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुकुमपूर्व अस्पतालमा स्वास्थ्य बिमा सेवासँगै सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा सुरु भएको छ । रुकुमपूर्व अस्पतालबाट तीनवटा सेवा पाउन थालेपछि यहाँका नागरिक खुशी भएका छन् ।

अस्पतालमा स्वास्थ्य बिमा सेवा, १० हप्तासम्मको सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा सुरु गरिएको छ । यी तीनवटै सेवाको मङ्गलबार आरम्भ गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओली, सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल र प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले संयुक्तरूपमा नयाँ सेवा सुरु भएको घोषणा गर्नुभयो ।

अस्पताल स्थापना भएको दुई वर्षपछि स्वास्थ्य बिमा, सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा प्रवाहले नागरिकको स्वास्थ्य उपचारमा सहज भएको र जिल्लावासी पनि उत्साहित भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । नागरिकलाई सेवाबारे बुझाउन उत्तिकै आवश्यक रहेको उहाँको भनाइ छ । “कुकुरले टोकेपछि बिरामीले निजी मेडिकल खोज्दै हिँड्ने गरेका थिए, टाढाको रुकुमपश्चिमको सल्ले अस्पतालमा पुगेर भ्याक्सिन लगाउने गरेका थिए”, उहाँले भन्नुभयो, “सुरक्षित गर्भपतन गराउन अर्को जिल्ला जाने गरेका थिए, अब त्यो समस्याको अन्त्य भयो ।”

तीनवटै सेवा सुरु भएसँगै जिल्लावासीलाई स्वास्थ्य उपचारमा राहत मिल्ने भएको छ । नयाँ सेवाप्रवाह स्वास्थ्यकर्मीले नागरिकलाई सहजरुपमा दिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओलीले आग्रह गर्नुभयो । रुकुमपूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा गणेश चौधरीले नागरिकका गुनासा अब कम हुँदै जाने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया