जेठ ६, २०८१ आइतबार May 19, 2024

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: ३५६ विद्यालय सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि वैतडीबाट ३५६ विद्यालय सिफारिस भएका छन् ।

यहाँका १० वटै स्थानीय तहबाट आवेदन परेका ३५६ विद्यालय सबैलाई सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिनुभयो ।

पाटन नगरपालिकाका ५५, सिगास गाउँपालिकाका ५२, पुर्चौंडी नगरपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४०, सुर्नया गाउँपालिकाका ३८, दशरथचन्द नगरपालिकाका ३२, मेलौली नगरपालिकाका २४, पञ्चेश्वर गाउँपालिकाका २४, शिवनाथ गाउँपालिकाका २१ र डिलाशैनी गाउँपालिकाका २० विद्यालय सिफारिस गरिएका हुन् ।

आवेदन पेस गरिएका सबै विद्यालय छनोटका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र पठाइएको प्रमुख अवस्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षा तथा मानव स्रोत विकास केन्द्र छनोट गरी शिक्षा मन्त्रालयले अन्तिम निर्णय गर्छ ।” आगामी फागुन पहिलो हप्तासम्म विद्यालय छनोट भइसक्ने जनाइएको छ ।

उक्त कार्यक्रममा सफल विद्यालयमा दुई कोठे/चार कोठे भवन निर्माण र कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब  स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत गत वर्ष यहाँका २०८ विद्यालय सिफारिस भएकामा १३० विद्यालय छनोटमा परेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया