बैसाख २२, २०८३ मंगलबार May 5, 2026

उपेन्द्र यादवले कुनै सल्लाह नै नगरीकन आफ्नो एकल अधिकारबाट जथाभावी निर्णय गरेर पठाउनुभयो । – मोहमद इस्तियाक राइ (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

के जसपा साँच्चै विभाजन हुन लागेको हो ?

यो मिडियामा आएको कुरा मात्र हो । तपाईं ढुक्क हुनुहोस्, जसपा विभाजन हुँदैन । पार्टीमा एकल अधिकारको गलत प्रयोग भइरहेको छ, त्यसको मात्र विरोध भइरहेको हो । लोकतान्त्रिक पद्धतिबाट चल्ने पार्टीमा यो भइरहने कुरा हो । पार्टीभित्रको यो आन्तरिक संघर्ष हो ।

जसपा नेपाललाई देशको वैकल्पिक शक्ति बनाउने कुरा थियो । त्यही अनुसार पार्टी अगाडि बढिरहेको थियो । तर पार्टीलाई अहिले एकल र असमावेशी तरिकाले अगाडि बढाइरहिएको छ, त्यो आपत्तिजनक कुरा हो । पार्टी अध्यक्ष उपेन्द्र यादवजी आफ्नो फेसबुकबाट पार्टीमा तीन कलस्टर होइन, अरू पनि कलस्टर छन् भन्नुभएको छ । यदि त्यस्तो हो भने ती सबै कलस्टरलाई किन पार्टीमा समावेश गरिएको छैन त ? सबै कलस्टरलाई समावेश गरी जसपालाई समावेशी पार्टी बनाउनु पर्‍यो  । यो त यादवको वा मधेस प्रदेशको मात्र पार्टी त होइन ।

खास जसपामा विवाद कुन कुन विषयमा छन् ?

–जसपा नेपालमा हरेक क्षेत्रका, हरेक समुदायका, हरेक जातिका मान्छे छन् । तर त्यसलाई पार्टीमा समावेश गरिएको छैन । पार्टी अध्यक्ष उपेन्द्र यादवले जसपालाई आफ्नो निजी कम्पनी जसरी चलाइरहनु भएको छ । राष्ट्रिय सभाको चुनावमा उम्मेदवारबारे निर्णय गर्दा उहाँले कसैसँग कुनै सल्लाह गर्नुभएन । एकल अधिकार प्रयोग गरेर जथाभाबी निर्णय गर्नुभयो । मन्त्रिपरिषद्मा नाम पठाउनका लागि उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र अशोक राई तीन राखेर एउटा कार्यदल बनेको थियो । तर अध्यक्ष उपेन्द्र यादवले अरूसँग कुनै सल्लाह नै नगरीकन आफ्नो एकल अधिकारबाट जथाभावी निर्णय गरेर पठाउनुभयो । मन्त्रिपरिषद्मा जसपाबाट नामा जाँदा मधेस प्रदेशबाट मात्र तीन जनाको नाम गएको छ । त्यसमा पनि तीनै जना यादव हुनुहुन्छ । के अरू प्रदेशमा जसपा छैन ? यादवबाहेक अरू जातिका नेता जसपा छैनन् ? पार्टीमा भएका कतिपय यस्ता निर्णयहरू भएका छन्, जसलाई उपेन्द्र यादवले लुकाएर राख्नु भएको छ । उपेन्द्र यादवको एकल नेतृत्वमा अब जसपा चल्दैन । तीन अध्यक्ष प्रणालीमा जसपालाई अगाडि बढाउनु आवश्यक भइसकेको छ । जसपा सामूहिक नेतृत्वमा चल्नुपर्छ भन्ने पार्टीका आमा नेता तथा कार्यकर्ताको माग हो ।

तपाईंले सुरुमै भन्नुभयो, यो आन्तरिक संघर्ष हो तर विगतको घटनाहरू हेर्दा आन्तरिक संघर्षकै कारण धेरै पार्टीहरू विभाजन भएका छन् । जसपा विभाजन हुँदैन भने के ग्यारेन्टी छ ?

–कुनै पनि लोकतान्त्रिक पार्टीमा आन्तरिक संघर्ष आवश्यक हुन्छ । त्यसले विभाजन होइन, पार्टीलाई झन् बलियो बनाउँछ । यसअघि हामीले पार्टीमा आन्तरिक संघर्ष गर्दा समाजवादी पार्टी विभाजन हुँदैछ भनेर लेखियो । तर भएन नि । अहिले पनि त्यही अवस्था छ । पार्टी विभाजन हुँदैन । तर भएका कमीकमजोरीहरूलाई सुधार गर्नुपर्छ । पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्नु आवश्यक छ ।

पार्टीमा डा.बाबुराम भट्टराई अध्यक्ष बन्न खोज्नु भएको हो त ?

–यहाँ बाबुराम वा अशोक राईको मात्र कुरा होइन । यहाँ समावेशी र सामूहिक नेतृत्वको कुरा हो। नेतृत्वमा जानका लागि थुप्रै नेताहरू हुनुहुन्छ यस पार्टीमा । प्रकाश अधिकारी, नवराज सुवेदी, परशुराम खापुङ, रकम चेमजोङ्ग, गोविन्द चौधरीलगायत थुप्रै नेताहरू छन् जसलाई नेतृत्व दिन सकिन्छ । समस्या बाबुराम भट्टराईमा होइन, समस्या उपेन्द्र यादवमा छ । अब उपेन्द्र यादव एकल अध्यक्ष रहनु हुँदैन ।  सामूहिक नेतृत्वमा जसपा जानै पर्छ ।

विगतमा दुईजना अध्यक्ष राखेर विभिन्न दलले अभ्यास गरिसकेका छन् । तर सफल भएन । तपाईँले फेरि दुईजना अध्यक्षको कुरा उठाउनुभएको छ, के यो सम्भव छ त ?

–उपेन्द्र यादव एकल अध्यक्ष रहेको पार्टी नौ पटक फुटेको छ, त्यो कसरी भयो ? दुईजना अध्यक्ष भएको पार्टी त एकपटक मात्र विभाजन भएको छ । उपेन्द्र यादव एकल अध्यक्ष भएर पार्टी निरंकुश शैलीमा चलाउनु हुन्छ र त त्यो विभाजन हुन्छ । सामूहिक नेतृत्वको पार्टी भयो भने ब्यालेन्स हुन्छ र त्यो पार्टी विभाजन हुँदैन । त्यही भएर जसपालाई बहुअध्यक्ष प्रणालीमा लैजानुपर्छ भन्ने आवाज उठेको हो । निरंकुश पञ्चायत र बहुदल व्यवस्थामा के फरक छ ? पञ्चायतमा कुनै एउटा राजा महाराजाले शासन गर्थे, एकल अधिकार प्रयोग गर्थे । त्यसको विरुद्धमा आन्दोलन भयो,  देशमा बहुदल आयो । बहुदल आएपछि सबै दलले अधिकार पाए । त्यस्तै, हाम्रो पार्टीमा पनि एकल अध्यक्ष प्रणाली निरंकुश भयो, अब त्यसलाई बहुअध्यक्ष प्रणालीमा लैजानुपर्छ ।

तपाईंले उपेन्द्र यादवको साथमा रहेर लामो समय काम गर्नुभयो । त्यतिबेला एकल अध्यक्षको कहिले विरोध गर्नुभएन । अहिले आएर नै किन विरोध गर्नुभयो त ?

–उपेन्द्र यादवको साथमा भएर कहिले काम गरेको छैन । मधेसको मुद्दा र अधिकारको साथमा काम गरेको छु । मधेसको अधिकार र पहिचानका लागि मैले काम गरेको हुँ । समानुपातिक र समावेशी लोकतन्त्रका लागि काम गरेको हुँ । कसैको दया मायामा रहेर काम गरेको होइन, जनताका लागि जनताको साथमा रहेर काम गरेको हुँ । हामी सँग रहेर काम गरेका छौँ, तर तपाईँले भनेको जस्तो म उहाँको साथमा रहेर काम गरेको छैन । तपाईँहरूलाई याद नै होला म विगतदेखि उपेन्द्र यादवको कार्यशैलीलाई विरोध गर्दै आएको व्यक्ति हुँ । पार्टीको बैठकमा उपेन्द्र यादवको कार्यशैलीको विरोध गर्ने व्यक्तिमा म पर्छु । उहाँले विगतमा पनि पार्टीभित्र एकल अधिकार प्रयोग गर्दा नौ पटक विभाजन भएको छ । यो कुरा सबैलाई जानकारी भएकै कुरा हो । त्यसैले चाँडोभन्दा चाँडो सामूहिक नेतृत्वमा पार्टी लैजानुपर्छ । अरू विकल्प छैन ।

अहिले त तपाईँलाई बाबुराम पक्षधर नेता मानिन्छ नि ?

–म कसैको पक्षधर होइन । न म बाबुराम पक्षधर हुँ, न उपेन्द्र यादव पक्षधर हुँ ।  म जसपाको समावेशी समानुपातिक लोकतन्त्रको पक्षधर हुँ । जसको बारेमा म पार्टीमा पटक पटक कुरा उठाएको हुँ ।

पार्टीको बैठकका लागि लिखित रूपमै माग गर्नुभएको कुरा बाहिर आएको छ । के त्यो सही हो ?

–अहिले लिखित रूपमा माग गरिएको छैन । मौखिक रूपमा पार्टीको बैठक बसाउनका लागि आग्रह गरिएको हो । नेताहरूले अध्यक्ष उपेन्द्र यादवलाई पटक पटक भेटेर बैठकका लागि आग्रह गरिएको छ । तर उहाँ बैठक बसाइ रहनु भएको छैन । प्रत्येक एकाएक महिनामा कार्यकारिणी समितिको बैठक बस्नुपर्ने हो तर पाँच छ महिना भइसक्यो बैठक बसेको छैन । केन्द्रीय समितिको बैठक पनि बसाउने बेला भइसकेको छ, त्यो पनि बसेको छैन । विधान अनुसार पार्टी चल्नुपर्नेमा अध्यक्षज्यूले त्यसलाई पनि लत्याएर हिडि रहनु भएको छ ।

केही पहिले तपाईंसँग यसै विषयमा कुरा गर्दा तपाईँले भन्नुभएको थियो कि उपेन्द्र यादवले बैठक बसाउनु भएन भने हामी बहुमत सदस्यले बैठक बसाएर अगाडि बढ्छौँ । त्यो कहिले गर्नुहुन्छ ?

–हामीले अहिले मौखिक रूपमै बैठकको लागि माग गरिरहेका छौँ । हेरौँ के गर्नुहुन्छ । चुनावको मिति घोषणा भइसकेको छ । अब त बैठक बस्नुपर्ने हुन्छ । यदि उहाँले बैठक बसाउनु भएन भने पार्टीको विधानअनुसार हामी अगाडि बढ्छौँ । रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार