काठमाडौं । गायिका आस्था राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन् ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृृष्णबहादुर कटवालले धरौटीमा छाड्ने आदेश भएको बताएका छन । राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो ।
प्रकरणमाथि अनुसन्धान सकेर प्रहरीले सोमबारै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमाथि अध्ययन र विस्तृत अनुसन्धानका लागि सरकारी वकिलले ७ दिनको समय प्रशासनसँग मागेको थियो ।
तर, सोमबार प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि चार दिनको समय मात्र दिएको थियो । यद्यपि, चौतर्फी विरोध र दबाबपछि दोस्रो दिनमै अभियोग पत्र दायर गरिएको थियो ।
राउतलाई गएराति ब्लु क्रस अस्पताल, त्रिपुरेश्वर भर्ना गरिएको थियो । ‘हाइपर टेन्सन’का कारण समस्या भएको भन्दै उनलाई प्रहरीले अस्पताल लगेको थियो ।
मंगलबार बिहानै सरकारी वकिल कार्यालय हाजिर गराएपछि उनलाई प्रशासनमा लगिएको थियो ।
के भएको थियो ?
यसअघि १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो ।
सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।
राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जोही दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । प्रहरीले नियन्त्रणमा लिएपछि उनले कानूनी रुपमा जे हुन्छ, सहर्ष स्वीकार गर्न तयार रहेको प्रतिक्रिया दिएकी थिइन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया