काठमाण्डौंः निःसन्तान दम्पतीलाई लक्ष्य गरेर राजधानीको स्वयम्भूमा रहेको मनमोहन अस्पतालमा आइभिएफ (टेष्टट्युब बेबी) सेवा आजदेखि सुरु भएको छ ।
सो सेवाको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र डा भोला रिजालले संयुक्तरूपमा मनमोहन आइभिएफ सेवाको उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेले मनमोहन अस्पतालको सेवा अझै फराकिलो र विस्तारित भएको बताउनुभयो ।
मनमोहन शिक्षण अस्पतालले कलेजको मान्यता नपाउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले देशमा १९ जनाले निजी शिक्षण अस्पताल सञ्चालन गरिरहेको बेला दुई हजार ८०० जनाले लगानी गरेको र सहकारीको माध्यमबाट सञ्चालित मनमोहन अस्पताललाई योजनाबद्ध तरिकाले रोकिएको बताउनुभयो ।
टेष्टट्युब बेबी सेवा सुरुआत कार्यक्रममा डा भोला रिजालले नेपालमै टेष्टट्युब बेबी सेवाले नेपाली निःसन्तान दम्पतीलाई राहत हुने तथा यसले नेपाली पैसा स्वदेशमै राख्न भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा मनमोहन अस्पतालका निर्देशक डा वंशीधर मिश्रले निःसन्तान दम्पतीको पीडालाई खुसीमा बदल्न यस्तो सेवा थप गरिएको जानकारी दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया