जेठ ५, २०८१ शनिबार May 18, 2024

निर्वाचनमा हुने विकृति अन्त्यका लागि अभियान सञ्चालन गर्न सभामुखको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसङ्गतिको अन्त्यका लागि अभियान नै सञ्चालन गर्न युवाहरुलाई आग्रह गर्नुभएको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्नुहुँदै सभामुख सापकोटाले त्यस्ता विकृति र विसङ्गतिको अन्त्य हुनेगरी अभियान सञ्चालन गर्न युवाहरुलाई अनुरोध गर्नुभएको हो ।

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘सङ्घीय नमुना युवा संसद् अभ्यास कार्यक्रम’को शुभारम्भ गर्नुहुँदै उहाँले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउने जस्ता डरलाग्दो विकृति र विसङ्गतिको अन्त्य गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो ।

सभामुख सापकोटाले युवाहरुले निर्वाचनमा हुने विकृति र विसंगतिविरुद्ध व्यापक अभियान छेड्ने हो भने धेरै पैसा खर्च नगरिकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण गराउनुभयो ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको उल्लेख गर्दै उहाँले त्यसबाट पाठ सिकेर नेपालका राजनीतिक नेतृत्वहरुले अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

सभामुख सापकोटाले निर्वाचनमा हुने विकृति र विसङ्गतिको अन्त्य गर्न सो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । शिरो ठाडो पारेर बाँच्नका लागि पनि युवाहरुले विचारद्वारा निर्देशित हुने कुरामा विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया