भाद्र १, २०८३ सोमबार August 17, 2026

जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति

२७९ केन्द्रीय समितिमा १ उपाध्यक्ष र २ सचिवसहित सप्तरीका ३१ जना चुनिए, मूल्याङ्कनमा विभेद भयो भन्दै असन्तुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज । तत्कालीन जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिकता समाजवादी पार्टी (लोसपा) नेपाल बीच भएको एकिकरण पछि पार्टीको नयाँ तथा एकीकृत साङ्गठनिक संरचनाको घोषित २ सय ७९ सदस्य कार्य समितिमा सप्तरीबाट ३१ जना परेका छन् ।

केन्द्रीय समितिमा पर्नेहरूमा पूर्व मन्त्री र वर्तमान प्रदेश सांसद देखी पालिका अध्यक्ष सम्म छन् । पार्टीद्वारा सार्वजनिक सूची अनुसार केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा सङ्घीय सरकारका पुर्वमन्त्री रेणुकुमारी यादव सचिवमा सङ्घीय सरकारका पूर्व मन्त्री उमेश यादव र मधेस प्रदेशका पूर्व मन्त्री शैलेन्द्र प्रसाद साह चयन भएका छन् ।

कार्यकारिणी समिति सदस्यमा मधेस प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सांसद मनिष कुमार सुमन, अनिरुद्ध प्रसाद सिंह यादव, प्राध्यापक अमरकान्त झा तथा पुष्पा ठाकुर गरी ४ जना सप्तरीबाट परेका छन् ।

केन्द्रीय सदस्यमा प्रदेश सांसद किरण कुमारी साह, मधेस प्रदेशका पूर्व उपसभामुख उपमा कुमारी देव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, रुपनी गाउँपालिकाका उपाध्यक्ष पुष्पा लौगी, पूर्व प्रदेश सांसद विश्वेश्वर प्रसाद यादव विकी, छानिएका छन् ।

यस्तै अरविन्द दास, अमरनाथ मण्डल, शम्भु झा, साधना झा, शैलेन्द्र मोहन झा, श्याम सरदार, विनोद कुमार सिंह, भीमराज यादव, विजय राय, भरत प्रसाद मेहता, रमेश कुमार यादव, मनिष यादव, मान्ती सदा, भुवनेश्वर चौधरी, कुमर नाथ मिश्र, निर्मल कुमारी मण्डल, गीता देवी यादव, पुनम कुमारी यादव र डा.बवि सिंह यादव पनि केन्द्रीय सदस्यमा चुनिएकी छिन ।

एकीकृत पार्टीको नयाँ संरचनामा अध्यक्ष उपेन्द्र यादव तथा संरक्षकमा महन्त ठाकुरलाई राखिएको छ ।

नयाँ साङ्गठनिक संरचनामा सप्तरीका केही पुराना पदाधिकारीले भने स्थान पाउन सकेका छैनन् । जसपा नेपालका प्रभावशाली नेता, पूर्व मन्त्री एवं पूर्व राष्ट्रिय सभा सदस्य तथा उपाध्यक्ष पदको जिम्मेवारी समेत सम्हाली सकेका मृगेन्द्र कुमार सिंह यस पल्ट नयाँ कार्य समितिमा अटाएका छैनन् ।

यस्तै महिला नेतृ एव जसपा नेपालका केन्द्रीय सदस्य रमिला साह, पूर्व प्रदेश सांसद एवं जसपा नेपालका केन्द्रीय सदस्य नेत्र विक्रम साह लगायत एक दर्जन बढी नेता पनि यस पल्टको एकीकृत नयाँ केन्द्रीय समितिमा अटाउन सकेका छैनन् ।

महिला नेतृ साहले कार्यकर्ताको उचित मुल्याँकन हुनु पर्नेमा जोड दिइन । उनले समायोजन हुनु राम्रो कुरा भए पनि कार्यकर्ताको उचित मूल्याङ्कन हुनु त्यति कै जरुरी रहेको बताइन ।

यस्तै लोसपा नेपालका केन्द्रीय समितिमा रहेका पुराना नेता एवं जिल्ला अध्यक्ष सुनिल झा पनि नयाँ कार्य समितिबाट बाहिरिएका छन् । जस कारण दुवै पार्टीका केही नेता÷कार्यकर्ता असन्तुष्ट देखिएका छन् । नयाँ केन्द्रीय समितिमा जिल्लाबाट मुस्लिम समुदायका एक जना पनि न परेपछि उनीहरू पनि असन्तुष्ट भएका छन् ।

मुस्लिम अगुवा मो. नौसादले भने–“३१ जनाको चयन हुँदा पनि मुस्लिम समुदायबाट एक जना पनि न पर्नू विभेद र उपेक्षाको नमुना हो ।”

उनले मुस्लिम समुदाय सँग मत लिने तर अवसर दिने वेला यसरी नै विभेद गरिरहने हो भने आगामी निर्वाचनमा सो पार्टीको अवस्था दयनीय हुने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया