बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

१४ फागुनमा घोषणा गरेको स्ववियु चुनाव अनिश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १४ फागुनमा घोषणा गरेको स्ववियु चुनाव अनिश्चित भएको छ । तयारीका लागि करिब एक महिना लाग्ने र चैत पहिलो सातादेखि परीक्षाको तालिका रहेका कारण चुनाव अनिश्चित बनेको हो । विद्यार्थीको आग्रहमा फागुनभित्र स्ववियु चुनाव गर्न त्रिवि सहमत भए पनि ठूला संगठन एक नहुँदा समस्या भएको हो ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका संयोजक तथा कामु रेक्टर प्रा.डा. शिवलाल भुसालले विद्यार्थी संगठन एकमत नहुँदा समस्या भएको बताएका छन । उनले भने, ‘१४ फागुनको मिति टरिसकेको छ, उहाँहरू (विद्यार्थी संगठन) को आग्रहमा फागुन अन्तिमसम्म पनि चुनाव गर्न तयार भएका हौँ, त्यो पनि अनिश्चित हुने भयो ।’ चैत पहिलो सातादेखि त्रिविको परीक्षाको तालिका छ ।

चुनावको व्यग्र प्रतीक्षामा छौँ : ऐन महर, अध्यक्ष, अनेरास्ववियु
स्ववियु चुनाव हुनुपर्छ र हामी गराउने अभियानमा छौँ । विद्यार्थी संगठनहरू स्ववियु चुनावको व्यग्र प्रतीक्षामा छन् । १४ फागुनमा हुने घोषणा भए पनि अब सम्भव भएन । स्ववियु चुनाव ०७५ मै हुनुपर्ने थियो । त्रिविको तयारी गरे पनि सफल भएन । एक वर्ष ढिला भए पनि यो वर्ष चुनाव हुनैपर्छ । नेविसंघ स्ववियु चुनावमा लाग्ने संगठन हो । सो संगठनले भर्खरै नेतृत्व पाएको छ । नेविसंघ चुनावमा जान तयार भएकाले समय दिनुपर्‍यो भन्ने छ । केही ढिला भए पनि चुनाव हुन्छ ।

पहिले रेक्टर नियुक्त हुनुपर्छ : राजीव ढुंगाना, अध्यक्ष, नेविसंघ
हामी स्ववियु चुनावका लागि तयार छौँ । तर, त्रिविको चुनाव गर्ने नियत देखिएको छैन । केन्द्रीय निर्वाचन समितिको अध्यक्ष रेक्टर हुने व्यवस्था छ । तर, कामुले चलाएर रेक्टर ल्याउन खोज्नुभएको छैन । मूल जिम्मेवारी लिने व्यक्ति नै नियुक्त भएको छैन । पहिले रेक्टर नियुक्त हुनुपर्छ । रेक्टरले बोलाएको बैठकमा कार्यतालिका प्रस्ताव गरी निर्णयमा पुग्नुपर्छ । तर, त्रिविले गलत प्रचार गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया