वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

राजनीतिक वर्ग र पुनरुत्पादनको चक्र – झलक सुवेदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मंसिर ४ का लागि तय भएको निर्वाचनसँगै नेपालमा राजनीतिक दल, त्यसको नेतृत्व, नेतृत्वले खेलेको भूमिका र बनाएका नीतिहरूबारे बहस आरम्भ भएको छ । कोकोमध्ये कसलाई छान्ने भन्ने अवसर सामुन्ने आएपछि समाजमा को ठीक र को बेठीक भन्ने बहस हुने नै भयो । यस्तो बहस आग्रह र पूर्वाग्रहसहितको हुन्छ ।

मार्क्सेलीहरू राजनीति स्वभावैले वर्गसापेक्ष हुन्छ भन्छन् । कुनै न कुनै दल या दलभित्रका स्वार्थ समूह या स्वतन्त्र उम्मेदवारका नाममा हुने समूहगत भावनाको प्रतिनिधित्वका माध्यमबाट यस्ता वर्गस्वार्थहरूको प्रतिनिधित्व गरिन्छ । वर्गस्वार्थले मात्र सामाजिक समूहहरूका विविध स्वार्थको प्रतिनिधित्व गर्न नसक्ने भन्दै नवमार्क्सेलीहरूले जेन्डर, वातावरण, जलवायु परिवर्तन, पहिचानजस्ता विषयहरू र सबाल्टर्नहरूको प्रतिनिधित्वको पनि वकालत गर्छन् । त्यसको अभिव्यक्ति पनि अन्ततः राजनीतिक वर्गका माध्यमले नै हुन्छ । आज दबाब समूह जस्तो, अल्पकालीन आन्दोलन र अभियान जस्तो देखिने या समूह या त्यसमार्फत पहिचान बनाएका व्यक्ति पनि अन्ततः राजनीतिक शक्तिमै बदलिन्छन् । नेपालमा यता केही स्वतन्त्र व्यक्तिहरू या तिनका समूहहरू नयाँ हकवाला बनेर सामाजिक स्वार्थ समूहको प्रतिनिधित्व गर्न आइरहेका छन् । गएको स्थानीय तह निर्वाचनबाट देखिएको लौरो समूह यस्तैमा पर्छ । तर मूलतः हाम्रो निर्वाचनले विद्यमान राजनीतिक दल या तिनका गठबन्धनहरूबीच छनोट गर्नुपर्नेछ । यस सन्दर्भमा नेपालको आउने निर्वाचनपछि पनि संसद्मा निर्णायक हैसियतमा पुग्ने, देशका नीति बनाउने, स्रोतहरूको व्यवस्थापन गर्ने, कानुन बनाउने राजनीतिक वर्ग (पोलिटिकल क्लास) का विषयमा बहस हुनु सान्दर्भिक नै हुनेछ ।

राजनीतिक वर्ग सम्बन्धी अवधारणा समाजको शक्ति सम्बन्धको विश्लेषणमा प्रयोग हुँदै आएको छ । ठ्याक्कै सय वर्षपहिले जर्मन समाजशास्त्री म्याक्स वेबरले तीन थरी वर्गको सिद्धान्त प्रतिपादन गर्दै सामाजिक हैसियत, आर्थिक हैसियत र राजनीतिक शक्ति-वर्ग (आर्थिक), तहगत हैसियत (सामाजिक) र पार्टी (राजनीतिक)-का रूपमा सामाजिक वर्गको विश्लेषण गरेका रहेछन् । उनले समाजमा कसको सम्मानको तह कुन हुन्छ भन्ने कुराले निर्धारण गर्ने शक्ति, को कति आर्थिक रूपले सम्पन्न छ भन्ने आधारमा निर्धारण हुने शक्ति र कुनै राजनीतिक समूहमा आबद्ध भएकाले राज्यको नीति र कानुन बनाउन सक्ने हैसियतका आधारमा निर्धारण हुने शक्तिका रूपमा तीन वर्गको व्याख्या गरेका थिए । यी तीनवटै वर्ग अन्तरघुलन भएर राजनीतिक वर्ग बन्छ र त्यसले आफ्नो पुनरुत्पादन पनि गर्दै जान्छ । नेपालको इतिहासमा पाटनका छ प्रधानहरूको समूह राजनीतिक वर्गका रूपमा चिन्न सजिलो हुने समूह–विम्ब हो ।

पृथ्वीनारायण शाहका समयमा गोर्खाबाट राज्य विस्तारसँगै आएका दरबारिया भारदार, सैन्य अधिकारी तथा काजीहरू र गुरु–पुरोहितहरू मिलेर बनेको समूह त्यस्तो अर्को समूह हो । राणाहरूको परिवार र त्यसको आसेपासे भएर स्रोत र शक्ति आर्जन गर्नेले अहिले पनि सम्भ्रान्त वर्गका रूपमा आफ्नो हैसियत प्रयोग गरिरहेको छ (गोर्खाली शासक र त्यसपछिका यस्ता राजनीतिक वर्गका बारेमा महेशचन्द्र रेग्मी र लुडविग स्टिलरहरूको अध्ययनलाई आधिकारिक मान्ने गरिन्छ) । २००७ सालपछिको शाह परिवार (राजा वीरेन्द्रको वंशनाशपछि उनका नाममा देखिएको सम्पत्तिको विवरण) र विभिन्न नाममा मधेशमा जमिन पाउनेले अर्को वर्ग निर्माण गरेका थिए । २०४७ सालपछि नेपाली कांग्रेस र नेकपा एमालेका नेता–कार्यकर्ता, २०६३ सालपछि त्यसमा थपिएका माओवादी र पहिचानवादी दलका नेता–कार्यकर्ताको वर्गलाई राजनीतिक वर्गका रूपमा चिन्न सकिन्छ जसले वेबरले भनेका तीनवटै वर्गको सोलोडोलो प्रतिनिधित्व गर्छन् । र त्यसको निरन्तर पुनरुत्पादन पनि गरिरहेका छन् ।

नेपालमा राजनीति गर्नेहरूको वर्ग सम्बन्धी विभिन्न अध्ययन भएका छन् । २०५० सालपछि प्रकाशित प्राध्यापक लोकराज बराल र कृष्ण हाछेथुको अनुसन्धनात्मक कृति ‘पोलिटिकल पार्टिज इन नेपाल’ त्यसको एउटा उदाहरण हो । शास्त्रीय व्याख्यामा नअल्झी वर्तमान नेपालको राजनीतिमा राजनीतिक वर्गहरूको चरित्र कस्तो छ भन्नेबारे अनुभवजन्य विश्लेषण गर्ने प्रयास मात्र यो आलेखमा गरिनेछ ।

दलहरूलाई थप गतिशील बनाइरहन एवं सीमित व्यक्ति र समूहका वरपर राजनीतिक सत्ताकेन्द्रित रहने अवस्था तोड्न हरेक दलभित्र थप लोकतान्त्रिक अभ्यास, थप खुला बहस र मूल्यांकन पद्धति अपनाउनु आवश्यक छ ।

हाम्रा राजनीतिक दलहरूका नेता–कार्यकर्ताको भर्तीस्रोत मुख्यतया मध्यम किसान र साना व्यवसाय गर्ने परिवारका सदस्यहरू हुन् । पछिल्लो समय यसमा मध्यम या ठूलो स्तरका उद्योग–व्यवसायीहरू पनि सामेल भइरहेका छन् । शिक्षक, पत्रकार, वकिल, प्राध्यापक, कलाकारहरूबाट पनि राजनीतिमा कार्यकर्ताहरूको आपूर्ति भइरहेको हुन्छ । मध्यम तथा धनी किसान परिवारका सन्तानहरू कलेज पढ्ने क्रममा किशोरावस्था कट्दा–नकट्दै राजनीतिक संगठनमा आबद्ध भएर राजनीतिमा संलग्न हुने र पछि नेतृत्वमा पुग्ने गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीजस्ता निम्नमध्यम या गरिब किसान परिवारबाट शीर्ष नेतृत्वमा पुग्नेको संख्या नगण्य नै छ । आजको पार्टी राजनीतिको उपल्लो सोपानमा हुनेहरूमध्ये ९० प्रतिशतभन्दा बढीजसो पञ्चायतकालमै संगठनमा हिँडेर निरन्तर राजनीति गरेपछि यो तहमा पुगेका हुन् । त्यस अर्थमा अहिलेका नेतृत्वहरूमा सीमित संख्यामा मात्रै उच्च वर्गस्रोत भएकाहरू छन् । यहाँ भने जिल्लास्तरको राजनीतिक वर्गको विषयमा चर्चा गरिनेछ ।

पञ्चायतकालमा राजनीति गरेर दुःख गरेकाहरूमध्ये खुला राजनीतिमा आएर सत्तासञ्चालक हुन थालेपछि केही राजनीतिलाई निरन्तरता दिन नसकेर पछि हटे पनि धेरैले एक पटक सत्ता या शक्तिमा पुगेपछि निरन्तर पार्टी सत्ताको उपभोग गरिरहेका छन् । यसको एउटा चक्र र अन्तरसम्बन्ध हुन्छ । सरकारी सुविधा पाउने गरी निर्वाचन जितेपछि या त्यस्तै सुविधा आउने राजनीतिक नियुक्ति पाएपछि त्यसका वरपर स्वतः सामाजिक हैसियत थपक्क आएर बस्छ । मानिसहरूले नमस्कार गर्न थाल्छन् । बाटामा भेट हुँदा केही खुवाएर पठाउन या घरमा स्वागत गर्न पाउँदा खुसी हुन्छन् । यो शक्ति–सामीप्यका माध्यमबाट छिमेक, बिरादरी या आफ्नै दलका अरू कार्यकर्तालाई प्रभावित गर्ने तरिका पनि हो र राजनीतिक वर्गमा उक्लने माध्यम पनि । राजनीतिक शक्ति पाएसँगै उनीहरूको सामाजिक हैसियत ह्वात्तै बढ्छ । प्रहरी या प्रशासनका मानिसहरूले, व्यापारी र उद्योगीहरूले यिनका कुरा सुन्छन् । प्रशासनका मानिस, व्यापारी या प्रहरी र राजनीतिक व्यक्तित्वबीच सहयोग आदानप्रदानको अघोषित साँठगाँठ हुन्छ । कसैलाई जागिर लगाइदिन्छन् । कसैलाई चन्दा दिन्छन् । सरुवा–बढुवा र नियुक्तिमा राजनीतिक वर्गको दबाबले काम गर्ने हुँदा तिनका वरपर समर्थक र भनेको मान्नेहरूको भीड पनि जम्मा हुँदै जान्छ ।

सरकारी सुविधा जोगाउन सक्यो भने सहरमा नभएको घडेरी र घर जोडिन सक्छ । केही वर्षमा आफ्नो निजी सवारीसाधन बन्छ । (सम्भवतः सुदूरपश्चिम र कर्णालीबाट या दुर्गमबाट राजनीतिमा आउनेमध्ये पहिले नै उच्च वर्गस्रोत भएकाबाहेक अरू लामो समय टिक्न सकेका छैनन्, त्यसको पनि भौगोलिक र सामाजिक कारण छ ।) सरकार या संसद्बाट बनाइने नीति र ऐनले आर्थिक अवसरहरू खुल्छन् । यस्तो अवसरबाट सीमित व्यक्तिले फाइदा लिन्छन् र तरक्की गर्छन् । यसको पुरस्कारस्वरूप आर्थिक उन्नति गर्ने वर्गले राजनीतिक वर्गलाई आर्थिक भरथेग गर्छ । सांसद छ भने सांसद विकास कोषका रूपमा आफूले भनेको ठाउँमा बजेट हालेर या केही योजना निर्वाचन क्षेत्रमा लगेर तलका कार्यकर्ता र मतदातालाई प्रभावित गर्न सक्छ र आफ्नो

निर्वाचन क्षेत्र स्थायी बनाउन सक्छ । कतिसम्म भने, जति माथि चढ्यो त्यति आफ्नो निर्वाचन क्षेत्रमा जान–आउन सहज हुन्छ । अब व्यापारीले, ठेकेदारले या कुनै संघसंस्थाले आउने–जाने हवाई भाडा र खाने–बस्ने व्यवस्था गरेर निम्तो गर्न सक्छ । निर्वाचन क्षेत्रमा जाँदा लाग्ने उसको खर्च जोगिन्छ । यसरी उसलाई राजनीतिक शक्ति, सामाजिक हैसियत र आर्थिक वर्गका रूपमा पहिलेको भन्दा माथिल्लो अझ माथिल्लो तहमा जाने ढोका खुल्छ । त्यसबाट प्राप्त हैसियतको प्रयोगबाट छोराछोरीलाई स्कलरसिप मिलाउन, उच्च शिक्षा दिन र तिनलाई गतिलो आयस्ता हुने काममा व्यवस्थापन गर्न सम्भव हुन्छ । नेपालको अहिलेको राजनीतिक वर्गको जिल्लादेखि केन्द्र तहसम्म यसरी फाइदामा पुगेको तप्का पनि छ ।

सन् १९९० पछिको आर्थिक सुधार र उदारीकरण तथा यसबीच पूर्वाधारका क्षेत्रमा राज्यबाट भएको लगानीबाट समाजका दुइटा तप्कालाई निकै फाइदा भएको छ । एउटा निजी उद्यम या व्यवसाय गर्ने जोखिम मोलेको समूहको हिस्सा छ । निजी विद्यालय या कलेज चलाउने, बैंक चलाउने, निर्माण व्यवसाय गर्ने, कमिसन एजेन्टको काम गर्ने, ठूलो स्केलको फर्म चलाउनेहरूको समूह पनि यसैमा पर्छ । रियलस्टेटहरू, म्यान पावर कम्पनी, मेडिकल कलेज, तालिम केन्द्रहरू, नर्सिङ होम या कलेज सञ्चालकहरूको एउटा हिस्सा पनि यस्तो कमाउनेमा पर्छ । अर्को फाइदामा गएको वर्ग भनेको सहर बजार र यातायात पुगेका ठाउँवरपर पुर्ख्यौली जमिन भएको वर्ग हो । यसलाई कुनै खास मिहिनेत नगरी, परिश्रम र उद्यम नगरी या जोखिम नउठाईकनै पनि रातारात धन हात लागेको छ । पहिले जमिन धेरै भएर पनि निर्वाह गर्न नसकेको परिवार एकै पटक केही जमिन बेचेर ठूलो घर बनाउने, निजी सवारी खरिद गर्ने, सन्तानलाई राम्रो शिक्षा दिने हैसियतमा गएको छ । उदारीकरणकै समयदेखि बढेको यो जग्गाको कारोबारले अर्को एउटा तप्काले पनि फाइदा लिएको छ, अत्यन्त अल्प समयमा गरिएको खेलोफड्कोबाट ।

यो तप्काले पनि राजनीतिक र सामाजिक हैसियतमा दाबी गर्न थालेको छ । नेताहरूलाई चन्दा दिने, तल कार्यकर्ताहरूलाई भरथेग गर्ने, सामाजिक काममा लगानी गरेर त्यसमार्फत हैसियत बनाउने र त्यसको प्रयोग राजनीतिक पदप्राप्तिका लागि गर्ने पनि राजनीतिक हैसियत पाउन नै हो । यो नवधनाढ्य समूह राजनीतिमा अहिले या प्रत्यक्ष रूपमा संलग्न छ या त प्रभाव पारिरहेको छ ।

धनलाई राजनीतिक शक्तिप्राप्तिको माध्यम बनाउनेमा परिश्रम गरेर, जोखिम मोलेर उद्योग तथा व्यवसाय सञ्चालन गर्दैै धन आर्जन गरेकाहरूको समूह पनि संलग्न छ । प्रशासन र सरकारी गैरसरकारी सेवामा लामो समय काम गरेर मान आर्जन गरेको समूह पनि यसमा लालायित छ । यी सबै मिलेरै नेपालको राजनीतिक वर्गको निर्माण भएको छ जसको ‘कमान्ड एन्ड कन्ट्रोल’ भने पेसेवर राजनीतिक कार्यकर्ता र नेताहरूकै हातमा छ ।

हालै पोखराका केही राजनीतिक कार्यक्रममा सामेल हुने अवसर मिलेको थियो । त्यस क्रममा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका नेता–कार्यकर्ताहरूसँग संवाद पनि भएको थियो । उद्योग, व्यापार, व्यवसाय, उपभोक्ता समिति, विद्यालय सहयोग समिति, खानेपानी व्यवस्थापन, टोल सुधारजस्ता काम गर्ने यिनै हुन् । राज्य चलाइरहेका या चलाउने ठाउँमा पुग्न प्रयास गरिरहेका छन् । यिनमा तीन थरी नेता–कार्यकर्ता देखिँदा रहेछन् । निजी गाडी हुनेहरू, मोटरसाइकल चढ्नेहरू र तिनीहरूसँग लिफ्ट लिने या सार्वजनिक सवारी प्रयोग गर्नेहरू । मलाई कस्तो लाग्यो भने, पार्टीहरूको कमान्ड निजी गाडी हुनेहरूले गरिरहेका छन्, मुख्य खट्नेचाहिँ मोटरसाइकल–स्कुटर हुनेहरू छन्, भुइँ तहको पार्टी धान्नेहरूमध्ये धेरै सार्वजनिक सवारी चढ्नेहरू छन् । यो घाँटी रेट्ने प्रतिस्पर्धामा निजी सवारीका रूपमा गाडी चढ्नेलाई सार्वजनिक सवारी चढ्नेले कहिले भेट्टाउला भन्ने जिज्ञासाको उत्तर भने मसँग पनि छैन । यसै गरी समाजको इन्द्रेनीस्वरूप मेटिएको छ । लेखक, कलाकार, शिक्षक चिकित्सक, आदि सबै यो या त्यो पार्टीमा विभाजित छन् । जब चुनाव आउँछ अनि स्वतन्त्र र आलोचनात्मक चेतनाको अस्तित्व बचाइरहन नसकिने गरी समाज ध्रुवीकृत हुन्छ । पार्टीको सोपान निर्माणको वर्तमान प्रणालीले उस्तै चरित्र भएका नेता–कार्यकर्ताको पुनरुत्पादन गर्ने र जीवन्त प्रतिस्पर्धालाई निषेध गर्ने सम्भावना पनि छ । पार्टीहरूको नोकरशाहीकरणले यस्तो प्रक्रियालाई थप बल पुग्छ ।

निर्णायक तहमा महिला सहभागिता प्रभावकारी भइसकेको छैन । कतिपय निर्णय पुरुषहरू चिया पिउँदै या कतै खानपिन गर्दै बसेर गर्छन् र बैठकहरूमा अनुमोदन गराउँछन् । महिलाहरूलाई उनीहरू नै इन्चार्ज या प्रमुख भएका कमिटीमा बाहेक अन्यत्र निर्णय प्रक्रियामा आरम्भदेखि सामेल गराउन आवश्यक ठानिन्न ।

राजनीतिक वर्गको पुनरुत्पादन अहिलेजस्तो प्रक्रियाबाट भइरहेको छ, त्यसले वर्गसत्ता, समाजको सत्ता र राजनीतिक सत्ता सीमित व्यक्तिका हातमा केन्द्रित गर्ने राजनीतिक प्रणाली विकास गर्छ । यस्तो शक्ति केन्द्रीकरणले अल्पतन्त्रको निर्माण गर्छ, दस–बीस वर्षपछि यी दलहरूलाई समयको माग अनुसार परिवर्तन हुन, विद्यमान अन्तरविरोधहरूको प्रगतिशील समाधान खोज्न र समाजलाई निरन्तर गतिशील बनाउन बाधा पुर्‍याउँछ । यसो भयो भने राजनीतिक नेतृत्व क्रमशः यथास्थितिवादमा फस्ने र समाजको आर्थिक–सामाजिक रूपान्तरणलाई अवरुद्ध पार्ने जोखिम बढ्न जान्छ ।

जुन दलमा हेर्दा पनि उस्तै वर्गस्वार्थ र उस्तै अनुहारको उत्पादन–पुनरुत्पादन भइरहन्छ । पहिलेजस्तो नेपाली कांग्रेस, एमाले र माओवादीहरूको वर्गस्रोत र मतदाताको आधार फरक रहन छाडेको छ । अर्थात्, प्रकारान्तरले एउटै वर्गस्वार्थका भिन्न समूहहरू यी दलमा बाँडिएर सत्ता उपभोग गरिरहेको जस्तो देखिन्छ । वैचारिक–सैद्धान्तिक भिन्नता दस्तावेजहरूमा छ, कतिपय नीतिहरूमा र दैनिक राजनीतिका व्याख्या र बुझाइमा नभएको होइन, तर कुनै संस्था सञ्चालन या राज्यको स्रोतको वितरण र प्रयोगको तहमा पुग्दा त्यस्तो भिन्नता केलाउन मुस्किल हुन्छ । अँ, यिनीहरूको वैचारिकी निर्माणको ऐतिहासिक प्रक्रिया र हुर्काइको विद्यालय फरक भएकाले त्यसको छाप भने अवश्य भेटिन्छ । यो त्यही पक्ष हो जसले यी दलहरूबीच बहस, छलफल, विरोध, आलोचना र एकले अर्कोलाई पटक्कै नरुचाउने मनोविज्ञान बनेको हुन्छ । यिनलाई अलग राख्ने र एकबाट अर्कोमा जान नदिने तत्त्व पनि यहीँ निहित छ ।

दलहरूलाई थप गतिशील बनाइरहन एवं सीमित व्यक्ति र समूहका वरपर राजनीतिक सत्ताकेन्द्रित रहने अवस्था तोड्न हरेक दलभित्र थप लोकतान्त्रिक अभ्यास, थप खुला बहस र मूल्यांकन पद्धति अपनाउनु आवश्यक छ । चिनियाँ कम्युनिस्टहरूका कतिपय कार्यशैलीमा अनावश्यक सामन्ती ढस्सा देखिन्छ । त्यसलाई छाड्ने हो भने चिनियाँ कम्युनिस्ट पार्टीले कार्यकर्ता उत्पादन र पुनरुत्पादनको जुन शैली अपनाएको छ, त्यसबाट सिक्दा नेपालका राजनीतिक दलहरूलाई आम जनताका प्रतिनिधि बन्न सहयोग हुन्थ्यो र समाजको विविधता वास्तविक रूपमा पार्टी चरित्रमा मुखरित हुन्थ्यो । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया