वैशाख ८, २०८१ शनिबार April 20, 2024

चुनावी प्रतिस्पर्धा हुने अवस्था नै देखिएको छैन । – श्यामकुमार घिमिरे (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चुनावी अभियान कस्तो चलिरहेको छ ?

मतदातालाई भेटघाटका लागि घरदैलो गरिरहेका छौं । भित्री सहर बाहिरका बस्तीहरूमा आलोपालो कार्यक्रम भइरहेको छ । स्थानीयबासीलाई आफ्नो एजेन्डा राख्ने र उहाँहरूको पनि कुरा सुन्ने गरेका छौं ।

तपाईंहरूका मत माग्ने एजेन्डा चाहिँ के–के हुन् ?

राष्ट्रिय एजेन्डा र पार्टीको घोषणापत्र सार्वजनिक भइसकेको छ । निर्वाचन क्षेत्रस्तरीय पनि मेरा प्रतिबद्धताहरू छन् । विविध संग्रहालय बनाउने मेरो पहिलो एजेन्डा हो । जस्तै: टुसा (निगालो बाँसको तामा) खाइन्छ । तर त्यो टुसा कहिलेबाट खान थालियो ? किन खाइन्छ ? त्यसको फाइदा के छ ? मान्छेलाई थाहा छैन । फलैंचा, बाजागाजा, गुठीका विभिन्न समूहरू छन् । यी कुरा काठमाडौं क्षेत्र नम्बर ७ भित्र पर्छन् तर अहिलेसम्म निर्वाचित भएर गएका साथीहरूले यी कुरा उठाउनु भएन । उहाँहरू त्यही समुदायमा बस्ने भए पनि यी कुराहरू ओझेलमा पर्दै गएको छ । जनतालाई दुःख बढ्दै गएको छ । यी सबै कुरा संग्राहलय बनाएर संरक्षण गर्न म सहयोग गर्नेछु । संग्रहालय बनाउन सक्यो भने पर्यटक समेत आकर्षित गर्न सकिन्छ । पर्यटकहरू कम्तीमा ६/७ दिन बस्न सक्ने गरी पर्यटन पूर्वाधार विकास गर्ने मेरो योजना छ । अर्को कुरा भनेको यो क्षेत्रका जिज्ञासु तथा ती विषयमा विद्यावारिधि गर्ने विद्यार्थीका लागि पनि उपयोगी हुनेछ । अनुसन्धानकर्ताहरूले अध्ययन अनुसन्धान गरेर हाम्रा परम्परा, संस्कार, संस्कृति बुझ्न, पढ्न र थप जानकारी पाउन सक्छन् ।

दोस्रो एजेन्डा चाहिँ विकास निर्माण नै हो । यसलाई म पनि प्राथमिकता दिन्छु । संघ, प्रदेश र स्थानीय तहमा समन्वय गरेर तत्काल अपुरा कामहरूलाई पूरा गर्न ध्यान दिन्छौं । त्यसपछि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउँछौं । कुन ठाउँमा के गर्नुपर्छ के आवश्यक छ निर्क्यौल गरेर योजना बन्छ । त्यसपछि तीनवटै सरकार समन्वय गरेर मात्र अघि बढ्छौं ।

काठमाडौं–७ एमालेको विरासत रहेको निर्वाचन क्षेत्र पनि हो । यसपटक चाहिँ गठबन्धनसँगको प्रतिस्पर्धालाई कसरी लिनु भएको छ ?

यो क्षेत्रमा २०४७ सालदेखि एकछत्र एमाले विजयी हुँदै आएको छ । त्यसकारण चुनावी प्रतिस्पर्धा हुने अवस्था नै देखिएको छैन । त्यो नदेखिनुको पनि कारण छ । पार्टी स्थापनाकालदेखि जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद कार्यक्रम ल्याउनुभयो । त्यो कार्यक्रमको आधारमा देशभर विकास निर्माणका योजना अघि बढे । चाहे त्यो मदन भण्डारी राजमार्ग, चाहे पुष्पलाल राजमार्ग, फास्ट ट्रयाक होस् एमालेको विचार, नीति, धारणा र कार्यक्रमको आधारमा मात्र आएको हो । अहिले जो–जो प्रतिस्पर्धी भनेर आउनु भएको छ उहाँहरूसँग कुनै एजेन्डा नै छैन । राजेन्द्र श्रेष्ठ (जसपा उमेदवार) हिजो एमालेमा नै हुनुहुन्थ्यो । तर पार्टी छोडेर कुन–कुन पार्टीमा लाग्नुभयो र अहिले यहाँ उम्मेदवार हुनुहुन्छ । त्यो कुरा मतदाताले बुझेका छन् । अर्को यमी (मानुषी भट्टराई) को कुरा गर्नुहुन्छ भने उहाँहरू चुनावपिच्छे पार्टी परिवर्तन गर्दै हिँड्ने मान्छे हुनुहुन्छ । त्यसैले उहाँहरूसँग कुनै एजेन्डा छैन । हाम्रो कसैसँग प्रतिस्पर्धा हुँदैन । यो मेरो कुरा होइन । यहाँका जनसमुदायहरूले नै यही कुरा भनिरहनु भएको छ ।

पूर्वसांसद रामवीर मानन्धरले नै बागी उम्मेदवारी दिनुभएको छ नि ?

उहाँ स्वतन्त्र उम्मेदवार हो । कुनै बागी उम्मेदवार नै होइन । उहाँ कुन ढंगले अहिले उम्मेदवार बन्नुभयो थाहा भएन । पहिले हामीलाई सम्झाउनुहुन्थ्यो । सहयोग गर्नु हुन्थ्यो । तर विगतको स्थानीय तह निर्वाचनदेखि एमालेलाई क्लिनस्वीप भनेर लाग्नु भएको हो । एमाले उम्मेदवारलाई हराउन लाग्नुभयो । वडा सदस्य, वडा अध्यक्षदेखि नगर प्रमुख, उपप्रमुखलाई हराउनु भयो । त्यो बेला हारेका र जितेका साथीहरू निर्वाचन क्षेत्र नम्बर ७ को एमाले निर्वाचन परिचालन कमिटीको प्रमुख ठाउँहरूमा बस्नु भएको छ । त्यसैले उहाँको उम्मेदवारीले कुनै फरक गर्दैन ।

एमाले फुटेको बेला पनि छ नि ?

त्यसको पनि कुनै असर छैन । स्थानीय तहको निर्वाचनमा पनि त्यो कुरा देखिइसक्यो । घरदैलोमा जाँदा जनताले त्यही कुरा भनि रहुन भएको छ । मैलेभन्दा पनि जनताले यही कुरा भनिराखेका छन् । जनताको कुरा मैले भनेको हुँ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया