असोज १, २०८३ बिहिबार September 17, 2026

उपत्यकाको ‘होली वाइन’ संस्कृति र चुनाव – किशोर नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं उपत्यकामा चुनाव सकिएको छ । चुनावमा नेपाली कांग्रेसले काठमाडौंको पाँच स्थानमा कब्जा जमाएको छ । यसपटक काठमाडौं १ को निर्वाचनमा सर्वमान्य नेता गणेशमान सिंहको प्रतिष्ठा तानिएको थियो । प्रकाशमान सिंहले बडो धैर्यसाथ यो प्रतिष्ठा जोगाएका छन् । चुनावमा जितेपछि ‘मतान्तर’को चर्चा अर्थहीन हुन्छ ।

कांग्रेसका गगनको विजयमा पनि सन्देह थिएन । राजन केसीको विजय पनि सन्देहरहित नै थियो । यो लहरमा सशक्त साबित भए, प्रदीप पौडेल । उनले एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीका उत्तराधिकारीका रूपमा स्थापित हुने मौकाको खोजीमा रहेका एमालेका सातिर नेता ईश्वर पोखरेललाई खुम्च्याइदिए । यता पोखरेलको पराजय, उता कृष्णगोपाल श्रेष्ठको विजयको निरन्तरता । राजनीतिक दलका रूपमा दर्ता भए पनि समाजमा राम्ररी स्थापित नभइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोबिता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठको विजयलाई काठमाडौंले गरेको परिवर्तनको खोजी भन्ने मान्नुपर्छ ।

ललितपुरमा डा. तोसिमा कार्की त्यही परिवर्तनको खोजीको अर्को शृंखला हुन् । उनले एमालेका अमृत खड्का र माओवादी नेतृ पम्फा भुसाललाई पराजित गरेकी छिन् । तोसिमाको विजयमा जनता पक्कै खुसी होलान् । किनभने, पम्फाको राजनीति बढी प्राविधिक थियो । उनमा लोभ थिएन । तर, विकासको काम गरेर जनता रिझाउने कौशल देखिएन । मतदाताले उनको मानवीय गुण देखेनन् । पम्फाको राजनीतिक आवश्यकता सकिएको छैन । विचारले माओवादी भए पनि उनी प्रतिशोधकहरूको बीचबाट लडेर आएकी हुन् । उदयशमशेर राणाको पुनरोदय राम्रो संकेत हो । उदयमा राणाहरूमा अक्सर पाइने तुजुक छैन । उनी सरल छन् । प्रेम महर्जनको जितले ललितपुरमा एमालेको साख जोगाएको छ ।

चुनावले देश र संघीय राजधानी काठमाडौंको पूरै नक्सामा परिवर्तन ल्याइदेला भन्ने सोच्न पनि सकिँदैन र यस्तो सोच्न पनि हुँदैन ।

भक्तपुरमा प्रेम सुवालको विजय अत्यन्त स्वाभाविक थियो । नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीका प्रभावशाली नेताका रूपमा सुवालको विजय जनताको स्वाभाविक चयन हो । प्रेम सुवालको विजयको स्वागत सबैले गरेका छन् । दुर्लभ थापाको विजय र महेश बस्नेतको पराजय भक्तपुरका लागि एक सुखद सन्देश हो । बस्नेतलाई पराजित गरेर भक्तपुरका जनताले केपी ओलीका बहुमुखी प्रतिभाशाली कार्यकर्ताको वास्तविक हैसियत देखाइदिएका छन् । राजनीतिमा बढी उत्ताउलो हुँदा आइपर्ने अवस्था हो यो ।
सबैभन्दा महत्वपूर्ण कुरा, यो उपत्यका एउटै चट्टानमा अडेको भए पनि यसका चरित्र विविध छन् । तीन सहरको उल्लेख नगरी उपत्यकाको वर्णन पूरा हुँदैन । यो स्तम्भकारले सुनेको नेपालको नाम थियो तीन शहर नेपाल । रमाइलो कुरा– इतिहासको कुनै पनि कालखण्डमा उपत्यकाका तीन शहर– काठमाडौं, ललितपुर र भक्तपुरबीचको सम्बन्ध सहज रहेको छैन । उपत्यका अहिले पनि विभाजित छ । काष्ठमण्डप भत्किएपछि कान्तिपुर नामकरण भएको शहर अहिले काठमाडौंका नाममा सबैको जिब्रोमा चढेको छ ।

काठमाडौं उपत्यकाको राज्य–व्यवस्था र राजनीति लिच्छविकालदेखि नै गजमजिएको छ । लिच्छविहरूले यहाँको शासन ‘होली वाइन’को सांस्कृतिक र धार्मिक शक्तिका आधारमा चलाएका थिए । नेपालका सुप्रसिद्ध संस्कृतिविद् प्राध्यापक हितनारायण झाका अनुसार लिच्छविकालभन्दा पहिले काठमाडौंमा वैशालीहरूको शासन थियो । लिच्छविहरूको शरीरको नसानसामा आफ्ना पुर्खा वैशालीहरूको रगत दौडिरहेको थियो । वैशालीले धार्मिक सहिष्णुताको सम्मान गरेका थिए । यसको बिँडो थामेका थिए, लिच्छविकालका प्रतापी राजा मानदेवले ।

चुनाव भयो । कर्मकाण्डी हिसाबले एउटा संवैधानिक प्रक्रिया पूरा भयो । कसले जित्यो वा जित्दै छ र कसले हा¥यो वा हार्दै छ ? सामान्य नेपाली जनताका लागि यो गौण विषय हो ।

उनी आफैँ विष्णु भगवान्का अनुयायी थिए भने उनका रानीहरू भगवान् महादेवका भक्त थिए । लिच्छविहरू सूर्य, शक्ति र ‘हेतु–कारण’को पूजा अर्चना गर्थे । तान्त्रिक साहित्यमा हेतु र कारणको अर्थ रक्सी हो । सन्दर्भमा, नेपालमा केपी ओलीलगायत बहुचर्चित नेताहरूले केही समयअघि सोल्टी होटलमा पिएको कोरियाली क्रिस्चियनहरूको ‘होली वाइन’को सम्झना गरे पुग्छ । त्यसवेला केपी ओलीले पाएको कुन्नि कति करोड रुपैयाँको नगद पुरस्कारको पनि सम्झना राखे पुग्छ । आज पनि काठमाडौं उपत्यकाका तीनवटै शहरमा लगभग तीन हजार वर्षपहिलेदेखि चल्दै आएको हेतु–कारणको पूजा हुन्छ । तीनै शहरका गृहिणीहरू दिनहुँ दैलोमा सूर्य र दैलोसँग जोडिएको खोपामा भीमसेन अर्थात् शक्तिको पूजा गर्छन् ।

नेपालमा २००७ सालमा कांग्रेसको नेतृत्वमा भएको राणाशासनविरोधी क्रान्तिपछिको लामो समय ठूलो उथलपुथलको समय हो । २०१७ सालमा राजा महेन्द्रले प्रत्यक्ष शासन चलाउने आफ्नो महत्वाकांक्षा पूरा गर्न राणाशासनको विकल्पमा स्थापित संवैधानिक राजतन्त्रअन्तर्गतको संसदीय प्रजातन्त्रको अन्त्य गरेर बिपी कोइराला र उहाँका हजारौँ सहयात्रीको दमन सुरु गरे । त्यसविरुद्ध कांग्रेसका कार्यवाहक सभापति सुवर्णशमशेर राणाको नेतृत्वमा भारतको कलकत्ताबाट सशस्त्र क्रान्तिको बिगुल फुकियो ।

नेपालको राजनीतिमा बढ्दो अन्तर्राष्ट्रिय चासो र दबाबपछि लामो समय कारागारमा बिताउनुभएका बिपी कोइराला आफ्ना सहयोगी गणेशमान सिंहसहित राजा महेन्द्रसँग मेलमिलापको सर्तमा रिहा हुनुभयो । तर, राजासँग मेलमिलापका लागि समय र परिस्थिति अनुकूल नदेखेपछि जेलबाट रिहा भएको केही समयपछि उहाँ स्व–निर्वासनमा भारत जानुभयो । उहाँको नेतृत्वमा नेपालको निरंकुश राजतन्त्रविरुद्ध भारतबाटै फेरि एकपटक सशस्त्र आन्दोलन सुरु भयो । बिपी आफैँले राजाको निरंकुश शासनविरुद्ध सशस्त्र आन्दोलनको निर्णय लिनुभएको थियो कि यस्तो निर्णय गर्न कार्यकर्ताको पंक्तिबाट दबाब थियो ? यो अध्ययनको विषय हो । यसबाट कांग्रेसले ठूलो क्षति व्यहोर्नुपर्‍यो । बिपीले सशस्त्र आन्दोलन फिर्ता लिनुभयो ।

सत्र साल पुस एक गतेको घटनापछि काठमाडौं शहरमा विद्रोह र आन्दोलनको क्रम थामिएन । राजधानी शहर काठमाडौंकेन्द्रित ठूला–साना आन्दोलन निरन्तर भई नै रहे । पाकिस्तानका लोकप्रिय नेता प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई पाकिस्तानी सेनाको सरकारले फाँसी दिएर हत्या गरेपछि ०३५ को फागुन महिनादेखि काठमाडौंमा विद्यार्थी आन्दोलन सुरु भयो । नेपाल विद्यार्थी संघका अध्यक्ष बलबहादुर केसी, विद्यार्थी फेडरेसनका अध्यक्ष कैलाश कार्की र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष शरणविक्रम मल्लले यो आन्दोलनको नेतृत्व गरेका थिए । आन्दोलनमा विद्यार्थी सहभागिताको क्रम बढ्दै थियो । राजनीतिक पारो तात्दै थियो । शहरमा तोडफोड सुरु भयो । गोरखापत्र संस्थानमा आगो लाग्यो ।

वातावरण सम्हालिनसक्नु भएपछि ०३६ साल जेठ १० गते राजा वीरेन्द्रले आफ्ना पिताको प्रत्यक्ष शासनको आकांक्षालाई जनमत–संग्रहको परीक्षणमा पठाए । शीतयुद्धको त्यो समयमा जनमत संग्रहको चलन बाक्लै थियो । एसिया र अफ्रिकाका तानाशाह जनमत संग्रहको प्रायोजन गरेर आफ्नो शासनलाई वैध साबित गर्थे । राजा वीरेन्द्रले त्यसो गरेनन् । उनले आफ्ना पिताका विवादास्पद भए पनि प्रमुख भारदार रहेका सूर्यबहादुर थापालाई प्रधानमन्त्री पदमा नियुक्त गरेर पञ्चायत व्यवस्थालाई जिताउने जिम्मेवारी दिए । सूर्यबहादुर थापाले त्यो जिम्मेवारी पूरा पनि गरे ।

०३७ देखि ०४७ सालसम्म दश वर्षको संक्रमणकालीन समयमा जनताले प्रजातन्त्रप्रति निकै ठूलो मोह देखाए । प्राचीन देश नेपालको शासनको नाभीका रूपमा रहेको काठमाडौंले दूरदराज र काँठ–कछाडका जनताले प्रक्षेपण गरेको परिवर्तनको सन्देशलाई राम्ररी बुझ्यो । लगभग तीन हजार वर्षदेखि सभ्यता, संस्कृति र सत्ताको केन्द्रका रूपमा रहेको नेपालको अन्तरंग राजधानी काठमाडौं उपत्यकालाई जुन वर्गले आफ्नो कब्जामा राखेको छ, त्यो वर्ग नेपाललाई अग्रगमनको बाटामा हिँड्न दिन चाहँदैन । त्यस वर्गलाई नेपालको आकार ब्रह्मपुत्र नदीदेखि सतलज नदीसम्म फैलिएको गौरव छैन, मेचीदेखि महाकालीसम्म खुम्चिँदा पनि पश्चात्ताप छैन । कुनै पनि शहरको चरित्र बुझ्न यहाँका शासकहरूको चरित्र बुझ्नुपर्छ । यहाँका शासकहरू भनेका राजा–महाराजा होइनन् । यहाँका शासक ती हुन्, जो चुच्चे नक्सा देखे पनि रमाउँछन् । नक्साबाट चुच्चो हटाए पनि रमाउँछन् । उनीहरूको खुसी सपाट हुन्छ । त्यसमा उतार–चढाव देखिँदैन ।

यो चुनावले देश र संघीय राजधानी काठमाडौंको पूरै नक्सामा परिवर्तन ल्याइदेला, त्यो सोच्न सकिँदैन र यस्तो सोच्न पनि हुँदैन । निर्वाचन आयोगको प्रक्षेपणअनुसार, यसपालिको चुनावमा ६३ प्रतिशत मतदाताले मतदान गरेका छन् । यो अंकमा तलमाथि पक्कै होला । सरकारी निकायको विश्वसनीयता घट्ने क्रममा जो छ । निर्वाचन आयोग र यसको वर्तमान नेतृत्व पक्कै पनि यसको अपवाद होइन । चुनाव भयो । कर्मकाण्डी हिसाबले एउटा संवैधानिक प्रक्रिया पूरा भयो । कसले जित्यो वा जित्दै छ र कसले हार्‍यो वा हार्दै छ ? सामान्य नेपाली जनताका लागि यो गौण विषय हो । अहिलेसम्म रित्तो कसौंडीको मुख ढाकेर भोट माग्ने नेताहरूले विचार गर्नुपर्ने सबभन्दा महत्वपूर्ण पक्ष यही हो । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
२०८३ असोज १, बिहिबार
आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
२०८३ असोज १, बिहिबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ असोज १, बिहिबार
बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
२०८३ असोज १, बिहिबार
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौं : मुख्यमन्त्री शाही
२०८३ असोज १, बिहिबार
आज बिहिबार कस्तो रहला तपाँईको दैनिकी ? हेर्नुहोस् राशिफल
२०८३ असोज १, बिहिबार
महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेशमा निषेध गर्ने मुगु कांग्रेसको निर्णय
२०८३ असोज १, बिहिबार