श्रावण १९, २०८३ मंगलबार August 4, 2026

जबसम्म हाम्रा मुद्दाहरु सम्बोधन हुँदैनन् तबसम्म कुनै विकल्पमा जाँदैनौं : रेशम चौधरी (अन्तरवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको यो पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ यस पार्टीले दुई लाख ७१ हजार छ सय ९६ मत प्राप्त गरेको छ ।

यही मङ्सिर ४ गते भएको निर्वाचनमा उनकी धर्मपत्नी एवं पार्टी अध्यक्ष रञ्जु श्रेष्ठ कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट ३० हजार चार सय चार मतसहित निर्वाचित भएकी छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पराजित गरी सदनमा प्रवेश गरेकी हुन् । कांग्रेसका चौधरीले १८ हजार ८१ मत प्राप्त गरेका थिए ।

सोही पार्टीबाट कैलाली क्षेत्र नम्बर २ मा अरुणकुमार चौधरीले २१ हजार आठ सय ७१ मत ल्याएर निर्वाचित भएका छन् । नेकपा एमालेका झपटबहादुर रावललाई पराजित गर्दै उनी सङ्घको सांसद बनेका हुन् । एमालेका रावलले १६ हजार एक सय २८ मत ल्याएका छन् ।

यस्तै क्षेत्र नम्बर ३ बाट गङ्गाराम चौधरीले नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीलाई पराजित गर्दै संसदीय यात्रा तय गरेका छन् । गङ्गारामले २३ हजार एक सय २० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कृष्णकुमार चौधरीले १७ हजार सात सय ४९ मत ल्याए ।

रेशम चौधरीका पिता लालवीर चौधरी बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट २६ हजार पाँच सय २० मतसहित स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार तीन सय ८४ मत ल्याए ।

विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरहेका उनको पार्टी निर्वाचन परिणाम आएसँगै सरकार गठनका सन्दर्भमा पुनः चर्चामा रहेको छ ।

सरकार गठनका लागि बहुमत जुटाउने कसरत भइरहेका बेला नागरिक उन्मुक्ति पार्टी कुन कित्तामा उभिन्छ भन्ने पनि जनचासोको विषय छ ।

निर्वाचन परिणामपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठनलगायत समसामयिक विषयमा राससका समाचारदाताद्वय टीकाराम सुनार र सिबी अधिकारीले गरेको कुराकानीको सारसंक्षेपः

भर्खरै आम निर्वाचन सम्पन्न भएको छ, निर्वाचनलाई कसरी लिनुभएको छ ?

– निर्वाचन जनमत परीक्षण गर्ने विधि हो । यसलाई पार्टीले स्वाभाविक रुपमा लिएको छ । यस पटकको निर्वाचनमा पुराना दलप्रतिको वितृष्णा र नयाँ दलप्रतिको आकर्षण देखियो । परिणामले जनताले परिवर्तन चाहेको देखिएको छ ।

निर्वाचनमा पहिलोपटक भाग लिएको नागरिक उन्मुक्ति पार्टीले ल्याएको मत परिणामबारे यहाँले कसरी समीक्षा गर्नुभएको छ ?

–निर्वाचनबाट हाम्रो पार्टीको विचार र मुद्दा अनुमोदन भएको छ । जनताले हाम्रा मुद्दालाई २०७४ देखि नै समर्थन गरिरहेका छन् । हामीलाई न्याय देऊ भनेर तीनपटक हाम्रो पक्षमा मतदान भइसकेको छ । जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौँ । तर राज्यले त्यसलाई सम्बोधन गरेको छैन । जहाँसम्म परिणामको कुरा छ, हामीले छोटो समयमा सङ्घ र प्रदेशमा गरी १२ सांसद पाउँदैछौ । पाँच निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार दुई सयभन्दा कम र नौ स्थानमा एक हजारभन्दा कम मतले पराजित हुनुभएको छ । स्थानीय तहमा करिब सय जना साथीहरु निर्वाचित भइसक्नुभएको छ ।

तपाइँको पार्टीलाई प्राप्त मतलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

–टीकापुर घटना राजनीतिक घटना हो । तर पनि हाम्रा साथीहरु जेलमा छन् । कैयौँले मुद्दा खेपिरहनुभएको छ । यस पटक हामीले तीन प्रकारका मतदाताबाट माया पायौँ । टीकापुर घटनाले मन दुःखेका, हाम्रो न्यायका लागि मत राख्नेहरु र नयाँ अपेक्षा राख्ने मतदाताले हामीलाई सहयोग र समर्थन गरी मतदान गर्नुभएको छ ।

अरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

–मैले पुराना दल तथा नेताबाट व्यक्त विचार हेरिरहेको र सुनिरहेको छु । उहाँहरुले हामीहरुलाई बिलाएर जान्छन्, अस्तित्व छैन, दृष्टिकोण नै नभएका भन्नेखालका लाञ्छना लगाइरहनुभएको छ । तर हामीलाई यस्तो आरोप लगाइरहँदा हाम्रो घोषणापत्र एकपटक अध्ययन गरेर मात्र बोलिदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

मधेस केन्द्रित दल र पूर्वसहकर्मीप्रतिको बुझाइ के छ ?

–उहाँहरुप्रति खास केही भन्नु छैन । मैले उहाँहरुलाई सडकमा गइदिनुस्, माइकमा मात्रै बोलेर हुँदैन भनेको थिए । तर उहाँहरुले सहानुभूति बटुल्नका लागि मात्रै बोल्नुभयो । यसमा निकै दुःख लागेको छ । त्यहाँका जनताले पनि मतमार्फत उहाँहरुप्रतिको गुनासो व्यक्त गरिसकेका छन् । अर्को चन्द्रकान्त (सिके) राउत मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो । उहाँको जनमत पार्टी मधेसमा वैकल्पिक शक्तिका रुपमा उदाएको छ । बाँकी त हेर्नु नै छ ।

निर्वाचनको अन्तिम परिणाम पनि आउने क्रममा छ, सरकार गठनका लागि छलफल पनि भइरहेको छ, यसबीचमा तपाइँसँग कसैको कुराकानी भएको छ ?

–म आठ वर्षदेखि जेलमा छु । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सधैँ सरकारमै छन् । मधेस केन्द्रित दलका नेताहरु पनि कुनै न कुनै रुपमा सरकारमै हुनुहुन्छ । उहाँहरुबाट हेर्न केही बाँकी छैन । कुराकानी भए पनि नतिजा नदेखिएसम्म अर्थ रहन्न ।

सरकार गठनमा तपाइँहरुको भूमिका के हुन्छ ?

–हामी सबैसँग सकारात्मक नै छौँ । जबसम्म हाम्रा मुद्दाहरु सम्बोधन हुँदैनन् तबसम्म कुनै विकल्पमा जाँदैनौं । कुरा प्रस्ट छ, जुन बाटोबाट मलगायत थुप्रै साथीहरु थुनियौँ, मुद्दा खेप्यौँ, त्यसबाट मुक्त गर्नुपर्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार