काठमाण्डौः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ आज हुने भएको छ ।
जबराका साथै संघीय संसद् सचिवालय र संसद्का महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुन लागेको हो ।
संसद्का महासचिव गौतमले जबराको निवेदनका आधारमा तजबिजी निर्णय लिँदै महाभियोग निष्प्रभावी भएको पत्र सर्वोच्चलगायत निकायमा पठाएपछि सर्वोच्च बारका अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूसहित नौजनाले बुधबार संयुक्त रिट दर्ता गराएका थिए । क्षेत्राधिकार मिच्दै जबराको महाभियोग निष्क्रिय बनाएकाले महासचिव गौतमको पत्र कार्यान्वयन नगर्न–नगराउन भन्दै रिटमा अन्तरिम आदेश माग गरिएको छ ।
रिटमा महासचिव गौतमले ‘प्रतिनिधिसभाको क्षेत्राधिकारमा अनुचित बन्देज तथा हस्तक्षेप’ गरेकाले उक्त कार्य गैरकानुनी रहेको दाबी गरिएको छ । साथै निवेदकले प्रधानन्यायाधीशलाई सर्वोच्चमा हाजिर गर्न नदिनसमेत आदेशको माग गरेका छन् । त्यस्तै, महासचिवको कदम बदर गर्दै महाभियोग प्रस्ताव नयाँ प्रतिनिधिसभाले ग्रहण गर्नुपर्ने दाबी पनि गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया