काठमाडौंः विश्वकप फुटबल २०२२ अन्तर्गतको फाइनल खेल आज फ्रान्स र अर्जेन्टिनाका बीच हुँदै छ । फाइनल खेल आज राती नेपाली समय अनुसार ८ः४५ बजे कतारको लुजेल आइकोनिक रंगशालामा हुनेछ ।
फ्रान्सले मोरक्को र अर्जेन्टिनाले क्रोएसियालाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । फ्रान्स र अर्जेन्टिना दुवैले यस अघि दुई पटक विश्वकप फुटबलको उपाधि जितिसकेका छन् ।
अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ को विश्वकप जितेको थियो भने फ्रान्सले सन् १९९८ र सन् २०१८ को विश्वकप उपाधि जितेको छ ।
यसै गरी विश्वकप फुटबल अन्तर्गतको तोस्रो उपाधिका लागि हिजो भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोल अन्तरले पराजित गरेको छ । विश्वकप फुटबलको फाइनलसँगै आज साँझ विश्वकप फुटबल २०२२ को समापन समारोह हुँदैछ ।
१५ मिनेट लामो समापन समारोहले विश्वकपमा गीत,सङ्गीत र खेलले कसरी विभिन्न देश,संस्कृति र भाषा भएका मानिसलाई एकै ठाउँमा ल्याउँछ भन्ने कुरा देखाइने फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।विश्व प्रख्यात गायक र सङ्गीतकारहरूले आज हुने समापन समारोहमा प्रस्तुती दिंदैछन् ।
विश्वकपकै फाइनलको दिन आज आयोजक राष्ट्र कतारले आफ्नो राष्ट्रिय दिवश मनाउँदै छ । कतारको राष्ट्रिय दिवसमा आज त्यहाँका अमिर शेख तमिम विङ अल थानीको नेतृत्वमा विश्वकपसँगै अन्य कार्यक्रम हुनेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया