वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

‘हामीलाई बैठकमा बोलाएको भए यो दुर्घटना हुँदैनथ्यो’ – गगन कुमार थापा (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संसद्को ठूलो दल भएर पनि प्रतिपक्षमा बस्ने स्थिति कसरी निर्माण भयो ?

निर्वाचनअघि गठबन्धन गर्न हुन्न भनेर मैले पार्टीमा औपचारिक विचार राखेको थिएँ तर अस्वीकृत भयो । निर्वाचनअघि गठबन्धनलाई चलाउने, थेग्ने संस्कृति हामीमा छैन, यसले दीर्घकालीन रूपमा पार्टीलाई ठूलो क्षति पुग्छ भन्ने मेरो तर्क थियो । कुनै पनि बेला कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आउन सक्छन् भन्ने लागेकाले आफ्नै बलमा चुनाव लड्नुपर्छ भनेको थिएँ । तर, पार्टीले गठबन्धन गर्ने निर्णय गरेपछि हामी बाँधियौं । गठबन्धन गरेरै निर्वाचनमा जाने भइसकेपछि हामीले फेरि यो गठबन्धन केका लागि भन्ने उद्देश्य प्रस्ट गरेर जाऊँ भन्यौं । गठबन्धनका बीचमा शक्ति जोडिएको सम्झौता पारदर्शी हुनुपर्छ भन्दै आयौं तर यी दुवै कुरामा चुक्यौं । दुई–तीन दिनयता मिडियाबाट हामीले जुन कुरा पढ्यौं, सुन्यौं, ती सबै अँध्यारो कोठामा भएका हुन् । पारदर्शी छलफल नभएका कारण कांग्रेस सबै कुरा गुमाउने ठाउँमा आइपुग्यो ।

पार्टीको मुख्य जिम्मेवारीमा रहेका पदाधिकारीलाई यत्रो घटनाका क्रममा दर्शकदीर्घामा राख्ने परिस्थिति किन आयो ?

संसदीय दलको नेताको निर्वाचनदेखि अहिलेसम्म गठबन्धनका दर्जनौं बैठक बसे । महामन्त्री दलको पदाधिकारी मात्रै होइन, विधानले उसको जिम्मेवारी नै स्पष्ट तोकेको छ । महामन्त्री स्वतः संसदीय दलको कार्यसमितिको पदेन सदस्य हो । दलको नेताले पार्टीमा के हुँदै छ, कता जाँदै छ भन्ने विषयमा पदाधिकारीसँग छलफल र बहस गर्नुपर्ने हो । बालुवाटारमा आइतबार बिहान निर्णायक छलफलमा बस्नुअघि सभापतिले पार्टीमा छलफल गरेर आउँछु भनेको पढेको थिएँ । उहाँले कतिखेर टेलिफोन गर्नुहोला भनेर कुरेर बसें । पोखरा जाने कार्यक्रमको समय पनि सारें तर टेलिफोन आएन । एक किसिमले अपमानितजस्तो भएर हामी (विश्वप्रकाश शर्मा) पोखरा गयौं । अहिले मेरो मनमा के लाग्छ भने, हिजो एकपटक मात्रै हामीलाई बोलाइएको थियो भने यो दुर्घटना हुँदैनथ्यो । हामीलाई राष्ट्रपति, सभामुख, मन्त्री केही बन्नु थिएन । शक्तिको अपेक्षाबाट मुक्त भएकाले आफ्नो मत र विवेकको मत राख्ने ठाउँमा हामी दुवै महामन्त्री थियौं । हामीसँग सूचना पनि थियो । पार्टी र मुलुकको हित सोचेर निर्णय लिनका लागि मत राख्ने र तत्कालको परिस्थिति विश्लेषण गर्ने क्षमता पनि थियो । तर, सभापतिले हाम्रो सामान्य आवश्यकता पनि महसुस गर्नुभएन । संसदीय दल नेताको निर्वाचनपछि सभापतिसँग एकपटक पनि संवाद भएको छैन ।

यो घटनाले कांग्रेस कार्यकर्ताको मनोविज्ञानमा कस्तो असर गरेको पाउनुहुन्छ ?

देशभरका कार्यकर्ताले ठगिएको महसुस गर्ने अवस्था भयो । निर्वाचनअघि कार्यकर्ता गठबन्धनको पक्षमा थिएनन्, हामीले नै त्यो भारी बोकाइदिएका थियौं । गठबन्धन भइसकेपछि यसले सार्थकता पाओस् भन्ने थियो तर असफल भयो । पार्टीको निर्णय प्रक्रियामा वैधानिक व्यवस्था छन् । तिनलाई बेवास्ता मात्रै होइन, सामान्य प्रचलनसमेत निर्वाह नगरीकन पार्टीको मुख्य नेतृत्व जसरी अघि बढ्यो, त्यसकै परिणामले आज यो स्थिति ल्याएको हो । यसको समीक्षा उहाँले (नेतृत्व) पनि गर्नुहोला, हामी पनि गर्छौं । आजको दिनमा समीक्षा गर्दै, सिक्दै जाने हो ।

अब पार्टीमा तपाईंहरूको भूमिका कस्तो रूपमा देख्न सकिन्छ ?

यसलाई पार्टी पुनर्गठनको ठूलो अवसरका रूपमा लिनुपर्छ । गठबन्धन गरेर मिलीजुली सरकारमा गएको भए पनि कुनै दिन हामीले यो स्थिति व्यहोर्नुपर्ने अवस्था आउँथ्यो । तीन/चार वर्ष लाग्ला तर दायाँ–बायाँ नगरी प्रतिपक्षको भूमिकामा बस्ने हो । पार्टीलाई जरैबाट सृदृढ गर्ने अभियान लिएर जाने हो । पार्टीमा दागै दाग छन् । तिनलाई शुद्दीकरण गरेर नयाँ जागरणको अभियान लिएर जाने । हाम्रो अभियानले यो पार्टीलार्ई जुरुक्क उठाउनेछ ।

यो घटना निम्त्याउनुका पछि नेतृत्वको कति दोष देख्नुहुन्छ ?

खासमा एउटा अमुक नेता शक्तिमा जाने कि नजाने भन्ने कुराले सबै गुमायौं । यस्तो निर्णय किन गर्न पुग्यौं ? कुनै एउटा बिन्दुमा सत्तामा जाने कुरा मान्न सकिन्थ्यो तर सम्पूर्ण रूपमा आफू सत्तामा जाने मात्रै कुरा किन भयो ? पार्टीको महाधिवेशन र संसदीय दल नेताको निर्वाचनमा पुलिस र मानिसहरू खटाउने गृह प्रशासन र प्रधानमन्त्री कार्यालयले बालकोटमा के हुँदैछ भन्ने खबर किन थाहा पाउन सकेन ? यो घटनाले नेतृत्व न स्मार्ट प्लेयर देखियो, न त ऊसँग सूचना रह्यो । निर्वाचनमा लोकप्रिय मत पनि ल्याउन सकेनौं । उल्टै ७/८ लाख मत गुमायौं । लोकप्रिय मत गुमाएर पनि चतुर्‍याइँपूर्ण रणनीति अपनाएर सफल हुन सकेनौं । गठबन्धनको संस्कृतिलाई सम्हाल्न नसक्नु नेतृत्वको कमजोरी हो । अर्को पक्ष माओवादीले पनि जनतासँग गरेको बाचा पालना गर्न सकेन । पाँच वर्षसम्म सँगै जाने भनेर एक–अर्कासँग मत साटासाट गर्‍यौं तर दुई नेताको शक्तिको हानथापले गठबन्धन नै अर्को बनाउने कुरा बेइमानी भयो । अब यस्तो गठबन्धन पार्टीको जीवनमा कहिल्यै आउन नदिने वातावरण हामी खडा गर्छौं । त्यस्तो प्रण गरेर हामी देशव्यापी हिँड्छौं ।

तपाईंले यस्तो कुरा गर्दा नेतृत्वको साथ पाउन सक्नुहुन्छ त ?

वैधानिक रूपमा नेतृत्वको एउटा पक्ष होला तर देशभरका कांग्रेस कार्यकर्ताको आवश्यकता र चाहनालाई नेतृत्वले रोक्न सक्दैन । ज–जसले रोक्ने प्रयास गर्छन्, तिनीहरूलाई नवजागरण अभियानको वेगले बगाउँछ ।

तत्काल तपाईंहरूको बाटो के हो त ?

तुरुन्त केन्द्रीय कार्यसमिति बैठक बोलाएर समग्र विषयको समीक्षा गर्नुपर्छ । अबको प्राथमिकता पार्टीमा थाँती रहेका केन्द्रीय विभाग, भ्रातृसंस्थाका अधिवेशनलगायत सबैखाले अव्यवस्था हटाउनेतिर हुन्छ । चुनावी गठबन्धनले महिनौं खाइसक्यो, अब यसबाट बाहिर निस्केर अघि बढ्नुपर्छ ।

नेतृत्वको असफलतालाई लिएर कतिपयले राजीनामा पनि मागिरहेका छन्, कतिपयले विशेष अधिवेशन बोलाउनुपर्छ पनि भनेका छन् । तपाईं के भन्नुहुन्छ ?

तत्काल हामीले चाहिएको नीति महाधिवेशन हो । १४ औं महाधिवेशनमा नेतृत्व छनोट मात्रै गरौं, विचार र नीतिको पक्षमा छुट्टै अधिवेशन बोलाउने भन्यौं । तर, त्यो प्राथमिकतामा परेन । अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले तिथि, मिति र स्थान तोकेर तत्काल नीति महाधिवेशन बोलाउनुपर्छ । बोलाउने हो । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया