काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसको संक्रमणको कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव र असर तथा नेपाल सरकारले गरेको प्रयास सम्बन्धमा शुक्रवार नेपालका विकास साझेदारहरुसँग छलफल गरेका छन।
नेपाल सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री डा. युवराज खतिवडा र बहुपक्षीय विकास संस्थाहरु विश्व बैंक,अन्तर्रा्ष्ट्रिय मुद्रा कोष, अन्तर्रा्ष्ट्रिय वित्त निगम, एशियाली विकास बैक, एशियाली पूर्वाधार विकास बैक लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारी बीच हालै विश्वभर फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं पार्न सक्ने प्रभाव तथा नेपालले आगामी दिनमा चाल्नुपर्ने रणनीतिक कदमहरु बारेमा भिडियो कन्फरेन्स मार्फत छलफल गरेका हुन ।
भिडियो कन्फरेन्समा अर्थमन्त्री खतिवडाले अहिलेको संकट एक्काईशौ शताब्दीको सबैभन्दा ठूलो मानवीय र आर्थिक संकट भएको बताएका छन । उनले विगतका संकट या त मानवीय थिए या आर्थिक थिए र ती अघि पछि भएर आएको भए पनि कोरोराले मानवीय र आर्थिक संकट सँगसँगै ल्याएको बताएका छन ।
विगतका भन्दा अहिलेको संकटको दायरा फराकिलो र असर पनि उच्च रहेकोले यसबाट उम्कन र विकासको पुनर्उत्थान गर्न पनि अभूतपूर्व सामाजिक र आर्थिक उपायहरु अपनाउनु आवश्यक भएकोमा अर्थमन्त्री खतिवडाले जोड दिएका छन ।
छलफलका क्रममा अर्थमन्त्री खतिवडाले नवीन सहायता नीति र कार्यक्रम तथा सहायता उपकरणबाट मात्र नेपाल जस्तो जोखिमयुक्त देशको संकटको समाधान हुन सक्ने,नियमितका अतिरिक्त थप स्रोत साधनबाट मात्र यो संकट समाधान हुन सक्ने, ऋणको लागत एवम् प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्नुपर्ने र वैदेशिक ऋणको सावाँ व्याज भुक्तानीको समय केही वर्ष पर सार्नुपर्ने, द्विपक्षीय ऋण सहायताको मोचन कार्यमा दातृ मुलुकले सदासयता देखाउनु पर्ने लगायतका विषयमा सहभागिहरुको ध्यानाकर्षण गराएका थिए ।
छलफलमा कोरोना रोकथाम उपचार र पुनर्स्थापनाका लागि बाह्य स्रोत परिचालन गर्न अर्थ सचिवको संयोजकत्वमा एक सहजीकरण समिति गठन गर्ने र सो समितिमा सरकारी क्षेत्र र निजी क्षेत्रका अतिरिक्त दातृ निकायका प्रतिनिधिहरुलाई समेत समावेश गर्ने नेपालको प्रस्ताव प्रति विकास साझेदारहरुले समर्थन गर्दै उक्त सहजीकरण समितिमा आआफ्नो तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भिडियो कन्फे्रन्समा विकास साझेदारहरुले नेपालले हालसम्म गरेका कार्यहरुको सराहना गर्दै अब गर्ने नेपालको प्रयासमा सबैको साथ र सहयोग रहने विश्वास दिलाउनु भएको अर्थ मन्त्रालयले जनाएको छ ।
भिडियो कन्फरेन्समा सहभागीहरुले कोरोना भाईरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरुको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरु र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीति बीच गर्न सकिने समन्वय र तादाम्यता तथा अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाहरुले गर्न सक्ने सहयोग बारे आआफ्नो धारणा राखेका छन ।
अर्थ मन्त्रीसँगको भिडियो कन्फरेन्स छलफलमा विश्व बैंकका भाईस प्रेसिडेन्ट हार्ट्विग सेफर,अन्तर्रा्ष्ट्रिय मुद्रा कोषका डाईरेक्टर च्याञ्योङ्ग रि, अन्तर्रा्ष्ट्रिय वित्त निगमका भाईस प्रेसिडेन्ट नेना स्टोजोभिक, एशियाली विकास बैकका भाईस प्रेसिडेन्ट सिजिन चेन, एशियाली पूर्वाधार विकास बैकका भाईस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर डि. जे. पान्डिन, नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि भेलीरी जुलिएन्ड, नेपाल स्थित विश्व बैकका कन्ट्री म्यानेजर, नेपाल स्थित एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टर प्रत्यक्ष सहभागि भएको अर्थमन्त्रालयले जनाएको छ ।
छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिव, राजस्व सचिव, अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिवको समेत उपस्थिति थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया