काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
शुक्रबार बिहान भएको भेटमा ओली र प्रचण्डबीच शक्ति बाँडफाँड र समसामयीक राजनीतिक विषयवस्तुका विषयमा छलफल भएको बताइएको छ ।
बिहीबार मात्रै सत्ता साझेदार सात दलको बैठक बसेर पाँच दिन भित्र सरकारको न्यूनतमा साझा कार्यक्रमको ड्राफ्ट तयार गर्ने सहमति भएको थियो । सो साझा कार्यक्रम तय गर्ने कार्यदलको संयोजकको जिम्मेवारी एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले पाएका छन् ।
त्यस्तै बिहीबार नै गठबन्धनले राजनीतिक उच्चस्तरीय राजनीतिक संयन्त्रसमेत बनाइएको छ । जसको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।
सत्ता गठबन्धनले मन्त्रिपरिषद विस्तार गर्ने र शक्ति बाँडफाँड टुग्याउन सकेको छैन । प्रधानमन्त्री माओवादीले पाएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका साथै मुख्यमन्त्रीको भागबण्डा मिलाउने विषयमा पनि छलफल गर्न ओली वालुवाटार पुगेका हुन् ।
प्रारम्भिक सहमति अनुसार राष्ट्रपति एमालेलाई, उपराष्ट्रपति माओवादी, सभामुख एमाले उपसभामुख रास्वपालाई दिइनेछ । त्यस्तै मुख्यमन्त्रीमा भने एमालेले चार प्रदेश, दुई प्रदेश माओवादी र मधेश प्रदेशमा जनमत पार्टी र जसपालाई आधा आधा कार्यकाल दिने प्रारम्भीक सहमति भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया