वैशाख १२, २०८१ बुधबार April 24, 2024

‘राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीका ३ वटा मुद्दामा हामी अरू पार्टीभन्दा फरक छौं।’ – उद्धव थापा (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशको सत्ता समीकरणमा राप्रपा निर्णायक शक्तिको रूपमा देखिएको छ। प्रदेशमा सरकार गठनका लागि आफू निर्णायक बनेपछि प्रदेश संरचना खारेजीको माग गर्दै आएको राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेको छ।

प्रदेश संरचना खारेजीको विषयलाई चुनावी मुद्दा समेत बनाएको राप्रपाले बागमती प्रदेशको सत्ताको चावी आफ्नो पोल्टामा आएसँगै मुख्यमन्त्रीमा दाबी गरेको हो। केन्द्रमा एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा सत्ताको चावी राप्रपाको पोल्टामा पुगेको छ।

प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक भएकाले पनि सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक रहेको राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापा बताउँछन्। १३ जना प्रदेशसभा सदस्य रहेको राप्रपाको हैसियत देखाउनका लागि सरकारको नेतृत्व गर्न आवश्यक रहेको थापाको भनाइ छ।

उनले प्रदेश सरकारको नेतृत्व गर्दै यसबाट जनतालाई सुशासन दिने र पाँच वर्षमा संघीयता खारेज गर्ने दावी गरे। प्रस्तुत छ, यसै सेरोफेरोमा केन्द्रित रहेर राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापासँग गरेको कुराकानी :

बागमती प्रदेश सरकारको नेतृत्वमा तपाईंहरूले दाबी गर्नुभएको हो ?

परिस्थितिजन्य कुरालाई कसैले रोक्न सक्दो रहेनछ। अहिले केन्द्रदेखि प्रदेशसम्म हेर्दा त्यसै खालको परिस्थिति सिर्जना भएको छ। राप्रपा पनि सक्षम छ, यसले देश र जनताको पक्षमा काम गर्न सक्छ। राप्रपाले पनि अलग पहिचान सहित जनताको सरोकारसँग सम्बन्ध राख्दै जनताको मर्म बुझ्न सक्छ र सेवा दिन सक्छ भन्ने उदाहरण दिन बागमती प्रदेश सरकारको नेतृत्वमा हाम्रो दावी रहेको हो।

हिजोको दिनमा त्यही संसद्‌मा प्रदेश संरचना खारेजीको माग गर्नुभयो। त्यही नाराले चुनाव जित्नुभयो। अहिले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्न सुहाउँछ ?

राप्रपाको अलग दृष्टिकोणबारे अब नेपाली जनतालाई बुझाइराख्न आवश्यक भए जस्तो लाग्दैन। राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीका ३ वटा मुद्दामा हामी अरू पार्टीभन्दा फरक छौँ। तैपनि यिनीहरूले यो कुरा उठाएको मात्रै हो। यिनीहरू यहाँ आउनै सक्दैनन्, राप्रपाको हैसियतै छैन‚ त्यसैले विरोध मात्रै गरेको हो भन्ने खालका कुराको जवाफ दिन हामीले प्रदेश सरकारमा दाबी गरेका हौँ। हामी यस्तो गर्न सक्छौँ भनेर आफ्नो हैसियत देखाउन प्रदेश सरकारमा जान चाहन्छौँ।

​हामी सुशासन भनेको के हो ? भ्रष्टाचारमुक्त बनेर सत्ता सञ्चालन कसरी गर्ने भनेर देखाउने र त्यहीँभित्रै बसेर संघीयता खारेज गर्ने काम गर्छौं। यही कुरा उठाउँदै हामी संसद्सम्म आइपुगेका छौँ, अब सरकारसम्म पुग्छौँ। प्रदेश सरकारमा रहेर हामी पाँच वर्षभित्र प्रदेश संरचना खारेज गरेर देखाउँछौँ। अहिले आमनागरिकले प्रदेश संरचना काम छैन भन्ने अवस्था राप्रपाले नै सिर्जना गरेको हो।

प्रदेशले पहिलो कार्यकालमा राम्रो काम गर्न नसकेको भएर यसको औचित्यमाथि प्रश्न उठेको हो। तपाईंहरू प्रदेश सरकारमा गएरै पाँच वर्षमै संरचना नै खारेज गर्छु भन्नुहुन्छ। भनेपछि प्रदेशमा गएर अझ नराम्रो काम गर्छौं, प्रदेशलाई अझ कमजोर पार्छौं भन्न खोज्नु भएको हो ?

त्यस्तो होइन। हामी जतिन्जेल काम गर्छौं, राम्रो गर्छौं। प्रदेश सरकारबाट हामी राप्रपाको उपस्थितिलाई राम्रो देखाउँछौँ। हामीले सञ्चालन गरेको सरकार कस्तो हुन्छ भनेर देखाउँछौँ। भ्रष्टाचारीलाई कारबाही गर्ने काम पनि हामी गर्छौं। नीति नियमअनुसार काम गर्दै प्रदेश आवश्यक छैन भनेर खारेजीको मार्गमा पनि जान्छौँ। त्यसैले प्रदेश सरकारबाट राप्रपा कस्तो हो भनेर देखाउँदै यसलाई खारेज गर्छौं।

प्रदेशमा सुशासन कायम गर्छौं, राम्रो काम गर्छौं भन्नुहुन्छ। प्रदेशले राम्रो काम गर्न सक्ने भए खारेज चाहिँ किन?

प्रदेशबाट हामीले हाम्रो काम गर्ने तरिका देखाउने चाहिँ हो तर प्रदेशलाई खारेज गर्ने नै हो। प्रदेश संरचना यही पाँच वर्षभित्रै खारेज हुन्छ। राप्रपाले मुलुकमा संघीयता खारेज गरेरै छोड्छ।

यो त रूखको टुप्पोमा बसेर हामी फेद काट्छौँ भन्या जस्तो भएन ?

राजनीति र यो रूखको टुप्पोको कुरा मिल्दैन। सरल अंकगणितमा २ र २ जोड्दा ४ हुन्छ तर राजनीतिमा कहिलेकाहीँ २ र २ जोड्दा ५ पनि हुन्छ कहिलेकाहीँ २ र २ जोड्दा ३ पनि हुन्छ। त्यसैले यो राजनीतिक कुरा हो। त्यही अनुसार बुझेर हामीले प्रदेश खारेजीको कुरा गरेको हो।

प्रदेश सरकारमा दाबी गर्ने नै हो भने कि प्रदेश संरचना स्विकार्नुस् कि सत्ताको लोभ नगर्नुस्, हुँदैन?

यो विषयमा हामी पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसँग छलफलमा छौँ। हामी पार्टीको निर्देशन मान्छौँ। अहिले तपाईंहरू त्यहाँ जाने कुरा छैन, अहिले सरकार बनाउन नसके नसकोस् तपाईंहरू बाहिरै बस्नुस् भन्ने आदेश आयो भने हामी सत्ता बाहिर बस्छौँ। होइन त्यहाँको स्रोत र साधन चाहिँ अर्कोले चलाउने, त्यसको शक्तिको प्रयोग चाहिँ अर्कोले गर्ने हामी चाहिँ खाली मुकदर्शक बन्ने मात्रै नगरौँ।

संसद्‌मा आफ्नै राम्रो उपस्थिति हुँदा अगाडि बढेर जनतालाई राप्रपाले के गर्न सक्छ भनेर देखाउने अवसरलाई उपयोग गर्दै प्रदेशलाई खारेज गर्नेतर्फ जानु भन्ने खालको कुरा पार्टीमा बनेको छ। अब अरू पार्टीको साथीहरूले हामीलाई त्यही खालको महसुस गर्छन् भने हामी उहाँहरूसँग वार्तामा बस्छौँ। उहाँहरूले हाम्रो उपस्थितिलाई महसुस गर्नुहुँदैन भने हामी सरकारमा जाँदैनौँ।

मुख्यमन्त्री नपाए प्रदेशमा सरकार गठन गर्न समर्थन गर्दैनौँ भन्न खोज्नु भएको हो ?

हामी सत्तामा नजान पनि सक्छौँ। त्यो कारण मात्रै होइन अरू कारणले पनि हामी सत्तामा नजान पनि सक्छौँ। हाम्रो उपस्थिति दलहरूले महसुस गरे भने हाम्रो समर्थन रहन्छ नत्र हामी बाहिरै बस्छौँ।

प्रदेश संरचना खारेजीको माग गर्ने तपाईंहरूले प्रदेश सरकारमा गएर कुशल काम गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने ?

यो कुरा हामीले चुनाव जाँदाखेरी भनेका थियौँ। भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह हो। अहिले यो मुलुकको सबैभन्दा ठूलो समस्या भनेकै भ्रष्टाचार हो। यसलाई नियन्त्रण गर्नु नै सबैभन्दा ठूलो उपलब्धि हो। हामी बेइमानी गर्दैनौँ। सबभन्दा ठूलो कुरा भनेकै हामी भ्रष्टाचार गर्दैनौँ। हामी बेथिति र अनियमिततालाई खोतलेर राम्रोसँग काम गर्छौं। थाहाखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया