मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

स्वास्थ्य बीमाले विपन्नलाई अस्पतालको पहुँचमा पु-याउँदै

स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लाको १९ हजार सात सय ८० घरपरिवार आबद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः स्वास्थ्य बीमा कार्यक्रममा नुवाकोटका करिब २० हजार घरपरिवार आबद्ध भएका छन् ।

जिल्लामा विसंं २०७७ असार २१ गतेदेखि दर्ता सुरु भएर सोही वर्षको मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लाको १९ हजार सात सय ८० घरपरिवार आबद्ध भएको स्वास्थ्य बीमा बोेर्ड शाखा कार्यालय नुवाकोटका दर्ता अधिकारी गीता शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ३१ हजार दुई सय ६६ जनाले स्वास्थ्य बीमा गरेर वार्षिक रु एक लाखसम्मको स्वास्थ्योपचार सेवाको लाभ लिइरहेका छन् ।

“गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिवृद्धि गर्न सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम नुवाकोटमा निकै प्रभावकारी भएको पाएका छौँ”, उहाँले भन्नुभयो, “आबद्ध हुनेको सङ्ख्या क्रमशः वृद्धि हँुदै गइरहेको छ भने एकपटक बीमा प्रणालीमा सूचीकृत भएकाहरूले स्वास्थ्योपचारमा पाएको छुट सुविधाले अधिकांश सेवाग्राहीले नवीकरण गरेर नियमितरूपमा सेवाको लाभ लिनतर्फ आकर्षित हुँदै आएका छन् ।”

स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा सेवालाई प्रत्येक नागरिकलाई सरल र सहज बनाउन नुवाकोटमा शाखा कार्यालय स्थापना गरेर हाल सबै वडामा दर्ता सहयोगीमार्फत घर–घरमै सेवा पु¥याएको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा गरेपछि जिल्लामा तोकिएका चारवटा स्वास्थ्य संस्था तथा ती अस्पतालको सिफारिसमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका तोकिएको अस्पतालबाट वार्षिक रु एक लाखसम्मको स्वास्थ्य सेवाको लाभ लिन पाइने व्यवस्था रहेको त्रिशूली अस्पतालका प्रमुख ९मेडिकल सुपरिटेन्डेन्ट० डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

जिल्लाका स्वास्थ्य संस्थायमा निःशुल्क उपचार सेवा पाइने हँुदा आर्थिकरूपमा विपन्न तथा गरिब परिवारका लागि बीमा कार्यक्रमले लामो समयदेखि गुणस्तरीय उपचारको अभावमा रहेका नागरिकलाई उपचारको पहुँचमा ल्याउन धेरै सहयोग मिलेको अस्पतालका प्रमुख डा पाण्डेको अनुभव छ ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि त्रिशूली अस्पतालसहित खरानीटार अस्पताल, ककनी र देउराली प्राथमिक स्वास्थ्य केन्द्र गरेर चार स्वास्थ्य संस्थामा सेवा उपलब्ध छ ।

जिल्लामा उपचार सम्भव नभए स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका देशका अधिकांश सरकारी अस्पतालमा समेत उपचार गराउन पाइने भएकाले स–सानादेखि ठूला प्रकृतिका बिरामीका लागि समेत स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको हो ।

एक वर्षका लागि रु एक लाखसम्मको उपचार सुविधा लिन स्वास्थ्य बीमा बोर्डले वडा कार्यालयसँगको समन्वयमा प्रत्येक वडामा दर्ता सहयोगीहरू बीमा गराउन परिचालन गरेकाले आबद्ध हुन सहज बनेको छ । बीमामा आबद्ध हुन पाँच जनासम्मको परिवारलाई प्रतिवर्ष रु तीन हजार पाँच सय शुल्क लाग्दछ ।

नुवाकोटमा कार्यक्रम सुरु भएको ३० महिनाको अवधिमा करिब रु २० हजार परिवार स्वास्थ्य बीमा कार्यक्रम आबद्ध हुनुलाई सफलता भए पनि अझै धेरैलाई समावेश गराउन बाँकी रहेको दर्ता अधिकारी शर्माले बताउनुभयो ।

“पाँच जनासम्मको सदस्य भएका परिवारलाई न्यूनतम शुल्क रु तीन हजार पाच सय लाग्छ भने एकै परिवारमा त्यो भन्दा बढी सङ्ख्या भएमा प्रतिव्यक्ति थप रु सात सय अतिरिक्त शुल्क लाग्दछ”, उहाँले भन्नुभयो, “ती परविारले औषधोपचारका लागि समेत रु एक लाखको दायरामा थप वृद्धि हुँदै जाने भएकाले साना–ठूला सबै परिवारका लागि लाभदायक देखिन्छ ।”

सबै नागरिकलाई स्वास्थ्योपचारको पहुँचमा ल्याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई निःशुल्क समावेश गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको हकमा आधा रकम छुटसहितको सम्पूर्ण परिवारको बीमा गर्न पाइने सुविधा उपलब्ध छ ।

“निःशुल्क कार्यक्रमअन्तर्गत जिल्लाभरको अधिंकाश ज्येष्ठ नागरिक बीमा कार्यक्रममा समावेश भइसकेका छन् भने महिला स्वास्थ्य स्वयंसेविकाका लागि सरकारले उपलब्ध गराएको छुट सुविधाले परिवारलाई समेत सूचीकृत गराउन सहज बनाएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताउनुभयो ।

उहाँको पालिकाभित्रका सबै महिला स्वास्थ्य स्वयंसेविकाको पालिकामार्फत बीमा गराउन बजेट विनियोजन गरिएको छ । -रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया