कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

नेपाल एयरलाइन्सले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट साप्ताहिक उडान भर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुने भएको छ। नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो।

यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी दिएको छ। इलाम नगर प्रमुख केदार थापाले आगामी माघ १ गतेबाट नै नियमित उडानका लागि पहल भइरहेको जानकारी दिए।

यसअघि पनि इलाम नगरपालिकाले पैसा तिर्ने सर्तमा विमानस्थलबाट तारा एयरले उडान भरेको थियो। सम्झौता मिति सकिएसँगै उडान बन्द भएको थियो।

यस विमानस्थलबाट प्रायः सबै उडानमा यात्रु आउने गरेका थिए। ताराले उडान बन्द गरेसँगै इलामबाट उडान भएको छैन। भरसक सस्तो मूल्यमा नै उडान गराउन पहल गरिने इलाम नगरपालिकाले जानकारी दिएको छ। यसका लागि उचित मूल्य निर्धारण गर्न नेपाल वायुसेवा निगमसमेत लाग्नेमा आफूहरु विश्वस्त रहेको नगर प्रमुख थापाको भनाइ छ।

काठमाडौंबाट करिब एक घण्टाको उडान अवधिमा इलाम उडान गर्न सकिने यसअघि नै तारा एयरले बताएको थियो। सो विमानस्थलको छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ। धावन मार्गसमेत पक्की भइसकेको छ। विमानस्थलको घेराबारा र टर्मिनल भवन निर्माणका लागि रकम विनियोजन भइसकेको जनाइएको छ।

सो विमानस्थल सञ्चालन हुनसके इलाम मात्र नभएर पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने छन्। साथै नजिक रहेको भारतका विभिन्न क्षेत्रबाट समेत काठमाडौं उडानका लागि यात्रु आउन सक्ने छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया