वैशाख २५, २०८१ मंगलबार May 7, 2024

टिप्परमा ढाला थपेर ‘ओभरलोड’

नियन्त्रणमा लिइएका अधिकांश टिप्परको कागजपत्र नभएपछि बाटोमै रोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ढाला थपेर माटो तथा निर्माण सामग्री बोकेका टिप्परलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । केही समयअघि प्रहरीले कारबाही गर्न थालेपछि टिप्परले अधिक भार (लोभरलोड) बोक्न छाडेका थिए तर अहिले पुनः टिप्परले ढाला थपेर क्षमताभन्दा बढी सामग्री बोक्न थालेका छन् ।

तीनै तहको निर्वाचनको बेला प्रहरी प्रशासन निर्वाचनमा व्यस्त भएका बेला ओभरलोड गरी टिप्पर सञ्चालन गरिएका थिए । त्यसरी सञ्चालनमा आएका टिप्परमाथि प्रहरीले सक्रियता बढाएर निगरानी गर्न थालेको छ । ठूला आयोजनाका नाममा सङ्गठित रूपमै ढाला थपेर माटो बोक्न थालिएपछि त्यस्ता सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।

केही समयदेखि नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ हुँदै यस्ता ओभरलोडका टिप्परले माटो बोक्न थालेको गुनासो आएसँगै ट्राफिक प्रहरीले त्यस्ता सवारीमाथि निगरानी राखेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका ग्रामीण भेगबाट समेत ढाला थपिएका टिप्परले निर्माण सामग्री बोक्न थालेको गुनासो आएको थियो ।

एक सातामै सातदोबाटो, जगाते, कोटेश्वर, साँखु क्षेत्रमा ढाला थपिएका टिप्परलाई निर्माण सामग्रीसहित नियन्त्रणमा लिएर कारबाही थालेको जनाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाका विभिन्न स्थानमा ओभरलोडसँगै ढाला थपेर आएका टिप्परलाई नियन्त्रणमा लिएको बताए । नियन्त्रणमा लिइएका अधिकांश टिप्परको कागजपत्र नभएपछि बाटोमै रोकिएको उनले बताए ।

“एकातिर ढाला थपिएको छ, अर्कोतर्फ अधिकांश टिप्परको कागजपत्र नै छैनन् । कागजपत्र लिएर आउनेलाई ढाला कटाउन लगाएर छाडे पनि कागजात पूरा नभएका धेरै टिप्पर भने नियन्त्रणमै छन्,” भट्टले भने । यातायात व्यवस्था विभागले ढाला थप्ने अनुमति दिएका टिप्परबाहेक अरूलाई यातायात व्यवस्था ऐनअनुसार कारबाही गरिने उनको भनाई छ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया