काठमाण्डौः घरेलु टोली दक्षिण अफ्रिकाले महिला टी-२० विश्वकपमा पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको छ।
यसअघि २००९ मा एकपटक मात्र सेमिफाइनल प्रवेश गरेको दक्षिण अफ्रिका जारी प्रतियोगितामा घरेलु दर्शक सामु नयाँ कीर्तिमान बनाउन सफल भयो। अब दक्षिण अफ्रिकाले उपाधिका लागि आइतबार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने छ।
शुक्रबार केप टाउनमा भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा उपाधि दाबेदार इंग्ल्यान्डलाई ६ रनले पराजित गर्दै अस्ट्रेलियासँगको उपाधि भेट पक्का गर्यो। यसअघि विहीबार अस्ट्रेलियाले भारतलाई ५ रनले हराउँदै विश्वकपमा सातौँ पटक फाइनलमा स्थान पक्का गरेको थियो।
टस जितेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ओपनरहरु लउरा वल्भार्ड र तजमिन बृट्सको सानदार साझेदारीमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रनको प्रतिस्पर्धात्मक स्कोर तयार गरेको थियो। यि दुई ओपनरले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरे। लउरा ५३ रनमा आउट हुँदा तजमिनले ६८ रन बनाएकी थिइन। यि दुई बाहेक मरिजनी कापले २७ रनको अविजित इनिङ खेलिन। इंग्ल्यान्डका लागि सोफिया एलेस्टोनले ३ विकेट लिएकी थिइन।
१ सय ६५ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको इंग्ल्यान्डले राम्रो सुरुवात गरेपनि पछिल्लो क्रम लगातार विकेट पतनको सिकार भएपछि निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमात्र बनाउन सक्यो। उसका लागि नाट सिभर ब्रन्टले सर्वाधिक ४० रन बनाइन। त्यस्तै ओपनर ड्यानी वाटले ३४ रन बनाउँदा सफिया डनक्लीले २८ रन बनाएकी थिइन।
थप दोहोरो स्कोरका रुपमा कप्तान हेथर नाइटले ३१ रन बनाइन। दक्षिण अफ्रिकाका लागि अयाबोङ्गा खाकाले ४ विकेट एकी थिइन। त्यस्तै शबनीम इस्मालीले ३ विकेट लिइन। इंग्ल्यान्डले २००९ मा एकपटक च्याम्पियन बनेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया